संघसंस्थासंग दर्शनसम्बन्धी अन्तरक्रिया - Sainokhabar
  • बुधबार, कार्तिक १२, २०७७

संघसंस्थासंग दर्शनसम्बन्धी अन्तरक्रिया

साइनो समाचारदाता

धरान । युमा साम्यो महासभा नेपालको आयोजनामा युमा साम्यो पुनरुत्थान अभियानकर्ताहरु र याक्थुङ थरगत संघसंस्थाहरुका प्रतिनिधिहरु बीच एक अन्तरक्रिया सम्पन्न भयो ।

अन्तरक्रियामा मुन्धुम अनुसन्धाता एवं लालीगुराँस नगरपालिकाका प्रमुख अर्जुनबाबु माबुहाङले साम्यो नै किन ? हामी किरात किन होइनौं ? र मुन्धुमी महत्वका थातथलोहरुको संरक्षण कसरी र किन गर्ने भन्ने विषयमा धारणा राखेका थिए । प्रश्नकर्ताहरूका जवाफहरू दिनका लागि युमा साम्यो महासभाका तर्फबाट महासचिव डा.रमेश इजमको संयोजकत्वमा हर्क सुब्बा इजम, चित्र फागो वनेम, आइत खजुम, देब इजम, बिरान इजम, नेत्र साउदेन र येबा कान्छा धनराज थलङ सदस्य रहेको सहजकर्ताहरुको एक टोली खडा गरिएको थियो ।
विभिन्न जिल्लाहरूबाट समेत उपस्थित ५८ वटा थरगत संघसंस्थाहरुका प्रतिनिधिहरू सहभागी रहेको सो अन्तरक्रियामा मुन्धुम एवं संस्कार–संस्कृति लगायत विविध विषयमा जिज्ञासाहरु राखिएको र आयोजकका तर्फबाट जवाफहरु दिइएको थियो ।
केन्द्रीय अध्यक्ष देबेन्द्र कुमार वनेमको सभापतित्व रहेको अन्तरक्रियामा सहभागीहरुलाई युमा धर्म बारे जानकारी पाउन सकिने तथा आगामी राष्ट्रिय जनगणना २०७८ मा युमा धर्म लेखौँ र लेख्न लगाऔँ भन्ने आव्हान समेत गरिएको एक पुस्तक वितरण गरिएको थियो ।

सम्बन्धित खवर