परम्परागत ज्ञान र सीप माथि धावा - Sainokhabar

परम्परागत ज्ञान र सीप माथि धावा

मालिना सुव्वा
(पाँचथर)

आदिवासी जनजातिहरु स्वभावैले परम्परागत ज्ञान र सीप भएका समूदाय हुन् । उनीहरुको जीवन, जीवन बाच्ने पद्धति परम्परागत संस्कार तथा संस्कृतिबाट निर्देशित र संचालित हुने गर्दछन् । तर पछिल्लो समयमा राज्य प्रणालीको असहिष्णु व्यबहार, कानुनी मान्यताका कारण ती परम्पराहरु खतराको सूचिमा परेका छन् ।

आदिवासी जनजातिको परम्परागत ज्ञान र सिपको मूख्य संरक्षक र पालनाकर्ता तथा पुस्ता हस्तान्तरणकाबाहक महिलाहरु हुन् । तर पछिल्लो समयमा हिन्दू पितृसत्तासंगको हिमचिम र प्रभावका कारण यस्ता परम्पराहरु मासिँदै गएका छन् । यसका बावजुत पनि केही आदिवासी जनजाति समूदायमा प्रथाजनित कानुन र परम्पराहरु जिवित रहेको अनुसन्धानहरुले पुष्टि गरेको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महसंघको अनुसन्धान प्रतिबेदन अनुसार राउटे, थारू, थकाली, मार्फाली थकाली, नेवार, गुरुङ, तामाङ र झाँगडजस्ता केही आदिवासी जनजातिमा परम्परागत संस्थाहरु अझै पनि सशक्त रहेका छन् । तर सोही प्रतिबेदनमा मगर, राई र लिम्बूजस्ता केही आदिवासी जनजातिमा यस्तो परम्परा लोपोन्मूख अवस्थामा पुगेको बताइएको छ भने भुजेललगायतका केही आदिवासी जनजातिमा यस्तो परम्परा लोप नै भई सकेको उल्लेख छ ।

नेपाली महिला आन्दोलनमा पितृसत्ता बिरुद्धको आवाज निकै शसक्त सुन्ने गरिन्छ । तर आदिवासी जनजाति महिलाको समाज पितृसत्ताबाट मुक्त समाज हो । तथापि लामो समय देखि हिन्दु पितृसत्ताको सरसंगतका कारण पितृसत्ताको छायाँ देखिएको आन्दोलनकर्मीहरुको भनाई छ । आदिवासी महिलालाई हिन्दूकरण बनाउन राज्यका नीति, काननुहरुले पनि प्रेरित गर्दछ । राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले वि.सं. १९१० (सन् १८५४) मा जारी भएको पहिलो लिखित कानुनी संहिताबाट सुरु भएको हिन्दूकृत कानुनी परम्परा नेपालको संविधान २०७२ सम्म कायम रहेको छ । यी कानुनहरु मूलतः हिन्दु विधिशास्त्र र केही मात्रामा बेलायती बिधिशास्त्रमा आधारित छ । दुवै प्रणालीमा आदिवासी जनजाति समुदायका प्रथाजनित कानुनले कुनै स्थान पाउँदैनन् । नेपालका नीति, योजना र कार्यक्रमहरू पूर्ण रूपमा हिन्दु धर्म, परम्परा , संस्कृति, मान्यता र मूल्यबाट निर्देशित छन् ।

आदिवासी जनजाति समुदाय र आदिवासी जनजाति महिलाको परम्परागत, ज्ञान र सीप उनीहरूको भूमि, भूभाग र स्रोतहरूमाथि पूर्णतः निर्भर हुने प्रकृतिका हुन्छन् । तर, आदिवासी जनजातिहरूले आफ्नो भूमि, भूभाग र स्रोतहरूमाथि स्वामित्व र नियन्त्रण गुमाउँदै गएका कारण यस्तो परम्परा मासिँदै गएको छ । विगतमा राई, लिम्बू, तामाङ, माझी, याक्खा र थकालीहरूको भूमि, भूभाग र स्रोतहरुलाई किपट भन्ने गरिन्थ्यो, जसलाई राज्यले कानुनी मान्यता प्रदान गरेको थियो । तर ती सबै स्रोतहरु राज्यले नै लिएको छ । धेरै आदिवासी अगुवाहरुको भनाईमा आदिमकालदेखि उनीहरू आफ्नो भूमि र भूभागमा आफ्ना स्रोतहरूसाथ बसोबास गरि रहेको र खोरिया फँडानीको कृषि प्रणाली प्रयोग गरि रहेको, तर अहिले त्यसलाई सरकारले गैह्रकानुनी बनाइदिएको छ । उदाहरणका लागि आदिवासी थारुहरुलाई लिन सकिन्छ । परम्परा देखि उपयोग गरिरहेको स्रोतमाथि राज्य नियन्त्रण भए पछि पुख्र्यौली परम्परागत सीप पनि लोप भएको भनाई छ । बर्दिया बाँसगढीकी रामकला थारु भन्नु हुन्छ –‘स्थानीय बनमा परम्पराबाट नै दाउरा, जडीबुटी, सागसब्जी, फलफूल, माछालगायतमा निर्भर थियौ । तर हिजो आज बनमा ती पैदावर संकलन गरेमा सरकारले अपराधी बनाइदिन्छ । जंगलमा घाँस दाउरा गरेमा सुरक्षा फौजले पक्राउ गर्छ ।’
यी प्रतिबन्धका बावजुद पनि थारूहरूले सरकारले अनुमति दिएको सीमित समयमा सीमित स्रोतहरूको प्रयोगलाई निरन्तरता दिएका छन् । अन्य स्रोतहरूको उपयोग गर्दा भने उनीहरू अनावश्यक दुःखकष्ट र सजायको निरन्तर जोखिमको सामना गर्छन् । यस्तै जोखिमका कारण आदिवासी जनजाति महिलाको बीउवीजन सुरक्षित राख्ने, आदिवासी परिकार पकाउने, घरेलु रक्सी पार्ने र माछा मार्ने जस्ता प्रथाजनित सिप र कार्य लोप हुन लागेको छ ।
माझी महिलामा घरेलु रक्सी र मर्चा बनाउने उनीहरुको परम्परागत सिप हो । काठको उत्पादन, बीउ वीजन संरक्षण, माछा मार्ने कृषि र पशुपालनसम्बन्धी सिप पनि अहिले लोप हुन लागेको छ । काठमाडौ उपत्यका वरीपरि बस्ने तामाङ महिलाको जानकारीमा रहेको परम्परागत सिप घरेलु रक्सी उत्पादन गर्ने हो । तर जंगलमा प्रबेश नपाए पछि दाउराको अभाव र रक्सीका लागि आवश्यक पर्ने कच्चापदार्थ बनजन्य कन्दमूलको अभाव अनि सरकारले यी रक्सी माथि प्रतिबन्ध लगाएका कारण लुकी लुकी यो सिपको प्रयोग गर्नू परेको छ ।

मद्यपान निषेधित) क्षेत्रको आन्दोलन अर्को स्थानीय सिप बिरोधी अभियान हो । यस्ता अभियानले जाँड र रक्सी दुवैको उत्पादन, विक्री वितरण र सेवनलाई प्रतिबन्धित गर्दछ, र प्रहरीले प्रायः छापा मारेर जाँड र रक्सी कब्जा गरी नष्ट गर्नेगर्छ तर डिस्टिलरीले उत्पादन गरेका र विदेशबाट आयातित महँगा मदिराको विक्री वितरण र सेवनलाई भने खुला स्वीकृति प्रदान गर्छ । आदिवासी जीवनको संस्कार, धार्मिक र आध्यात्मिक समारोहमा जाँड र रक्सीको प्रयोग अनिवार्य मानिन्छ । तर, यस प्रकारको प्रतिबन्धले आदिवासी महिलाको स्वरोजगार तथा धार्मिंक आस्था माथि सिधा धावा बोलिरहेको कुरा भने कमैले हेक्का राखेका होलान ।

साभारः इन्डिजिनियस फिचर सेवा

सम्बन्धित खवर

%d bloggers like this: