प्रदेश नम्बर १ को हिउँदे अधिबेशन सुरु - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

प्रदेश नम्बर १ को हिउँदे अधिबेशन सुरु

साइनो समाचारदाता

विराटनगर । प्रदेश नम्बर १ को प्रदेश सभाको पाँचौ हिउँदे अधिवेशन विहीबारदेखि सुरू भएको छ । अधिबेशनमा मुख्यमन्त्री शेरधन राईले प्रदेश नामाकरणको विषय अघि बढ्ने बताए । प्रदेशको नामाकरण गर्ने संवैधानिक दायित्व प्रदेशसभामा रहेको बताउँदै मुख्यमन्त्री राईले सभामुखले नामाकरणको विषय अघि बढाउने र सरकारले आवश्यक समन्वय गर्ने बताए ।

प्रदेश १ ले पहिलो छ महिनामा २२ दशमलव ८८ प्रतिशत पूँजीगत बजेट खर्च भएको र दोश्रो चौमासिकमा योजना कार्यान्वयनको गति तीब्र बनाउन निर्देशन दिएको उनले बताए । अन्य प्रदेशले गरेको चालु र पूँजीगत खर्चको तुलना गर्दै मुख्यमन्त्री राईले प्रदेश ५ ले १८ प्रतिशत मात्र पूँजीगत खर्च गरेको तर चालु खर्च अधिक रहेको बताए । प्रमुख प्रतिपक्ष दल नेपाली काग्रेंसका उपनेता हिमाल कार्कीले प्रदेश नामांकनमा छलफल अघि नबढेको संघीयतामाथि नै प्रश्न उठ्न थालेको टिप्पणी गरे । बैठकमा समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले सरकारलाई अहिलेसम्म सम्पन्न गरेको योजना र उपलव्धिहरुको विवरण सार्वजनिक गर्न सुझाव दिए । उनले सहमतिमा प्रदेशको नाम टुंग्याउनु पर्ने र जनभावनाको कदर गर्दै पहिचानमा आधारित नाम प्रस्ताव गर्न सुझाव दिए । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका नेता बिष्णु तुम्बाहाम्फेले पहिचानमा आधारित नामाकरण राख्नुपर्ने बताइन् ।

सम्बन्धित खवर