प्रदेश १ मा रेलवे बन्ने, कहाँ कहाँ बन्दैछ स्टेशन? - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

प्रदेश १ मा रेलवे बन्ने, कहाँ कहाँ बन्दैछ स्टेशन?

रेलवेको लागि ईआईएको सुनुवाई धमाधम


साइनो समाचारदाता

पथरी । प्रदेश १ मा एक सय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणका लागि कार्य प्रारम्भ थालिएको छ । इनरुवा–काकडभिट्टा रेलवे लाइन र इटहरी–विराटगर लिङ्क रेलवे आयोजनाको लागि वातावणीय प्रभाव मूल्याङ्कन(ईआईए) सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रम तय गरिसकेको छ ।

प्रस्तावित रेलवे परियोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन तयार भएपछि प्रभावित क्षेत्रको ४ स्थानमा सार्वजनिक सुनुवाई थालिएको हो । मंसिर २९ गते प्रदेश राजधानी विराटनगरदेखि सुरु गरिएको सुनुवाई मंसिर ३० गते सुनसरीको इटहरीमा, पुस १ गते मोरङको पथरीशनिश्चरेमा सम्पन्न गरिसकेको छ । भोलि (पुस २ गते) विर्तामोडमा कार्यक्रम राखिएको छ । प्रदेश १ मा एकसय २६ किलोमिटर लामो विद्युतीय रेल मार्ग निर्माणको बातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमाथि सार्वजनिक सुनुवाई भइरहेको हो । सुनुवाईमा इनरुवा–काकडभिट्टा रेलवे र इटहरी–विराटगर रेलवे लिङ्क खण्ड परियोजनाको वातावणीय प्रभाव मूल्याङ्कन(ईआईए) प्रतिबेशन सम्बन्धि सार्वजनिक सुनुवाई प्रस्तुति वातावरण विज्ञ रिकेश चित्रकार र अभिषेक बीसीले दिइरहेका छन् ।

पथरीमा भएको सुनुवाईमा पूर्वपश्चिम विद्युतीय रेलमार्गको एउटा स्टेशन पथरी शनिश्चरेमा पनि रहनु पर्ने स्थानीयले सुझाव दिएका छन् । पथरीशनिश्चरे नगरमा रेल विभागले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीका बासिन्दाले रेलवे निर्माणको सहर्ष स्वागत गर्दै ८ वटा सुझाव दिएका हुन् । स्थानीय चलनचल्तीको मुल्यका आधारमा जग्गाको मुआब्जा दिइनुपर्ने, ऐलानी जग्गाको मुआब्जाको व्यवस्थापन उचित गरिकाले गर्नुपर्ने, सरकार बनको जस्तै गरी सामुदायिक वन क्षेत्रको क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, रेलबाट हुने प्रदुर्शषणको उचित समाधान, स्थानीय जनप्रतिनिधि र स्थानीयवासीसँगको सहकार्य हुनुपर्ने, जमिन खण्डिकरणको उचित समाधान गर्नुपर्ने र रेलवे वनाउँदा पानी निकासको उचित ड्रेन निर्माण गरिनुपर्ने सुझाव दिइएको हो । स्थानीयले छिटो गरी रेलमार्गको काम थाल्न समेत आग्रह गरेका छन् । पथरी शनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईले दमक र उर्लावारीमा स्टेशन हुँदा पथरी शनिश्चरेमा पनि हुनुपर्ने सुझाव दिएका छन् । कार्यक्रममा, ४ नम्वर वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ७ नम्वर वडाध्यक्ष कपिलमणि ढकाल, न्यायिक समिति सदस्य पर्शुराम न्यौपाने, कानेपोखरी गाउँपालिकाका ७ का सदस्य धनबहादुर लिम्बू, बेलबारी ३ का अध्यक्ष योगेन्द्रप्रसाद सुवेदी, ४ नम्वर वडाध्यक्ष रामकुमार राई, स्थानीय टीकाप्रसाद दंगाल, नविन राई, बोधप्रसाद पराजुली, प्रेम ढकाललगायतले सुझाब दिएका छन् ।
पथरी शनिश्चरेमा वडानम्वर ९ को महेन्द्रचोकबाट केही उत्तरबाट पूर्वपश्चिम फैलिने रेलवे ९, २, ३, ४, ७ नम्वर वडालाई छुने बताइएको छ ।

रेल विभागले तयार पारेको प्रस्तावित इनरुवा काकडभिट्टा रेलवेको लम्बाई १०६.५९ किलोमिटर र विराटनगर–इटहरी लिङक रेलवेको लम्बाई २०.१६ किलोमिटर हुनेछ । कुल १२६.७५ किलोमिटर विद्युतीय रेलवे परियोजना निर्माणको लागत ९० अर्ब दुई करोड ८२ लाख ८६ हजार रुपैयाँ लागत अनुमान सहितका यावत अवस्थाका बारेमा योजनातयारकर्ता इन्जिनियर अभिषेक वीसीले जनाए । पूर्वपश्चिम मुख्य सडकबाट २ किलोमिटरदेखि अढाई किलोमिटर दक्षिणमा रेलवे हुने बताउँदै उनले १० मिटरदेखि १२ मिटर उचाईको रेवलेलाई पुरै तारवारले घेरा गरिने जानकारी गराए । दुईवटा रेलवे निर्माण गर्दा ६ सय ३५.७७ हेक्टर जग्गा अभिग्रहण गर्नुपर्नेछ । ५० मिटर चौडाई क्षेत्रको मुआब्जा दिने छ । ७ दशमलव ५ मिटरको रेलवेको चौडाई हुनेछ । तीमध्ये ५ सय १२ हेक्टर कृषकको खेती योग्य जमिन पर्नेछ । प्रस्तावित रेलवेको वातावरणीय प्रभाव मुल्याङ्कन (ईआईए) अध्ययन गरेका विज्ञ रिकेश चित्रकारका मुआब्जा र रेलवेज निर्माणका लागि ९० अर्ब लागत अनुमान गरिएको बताए ।

कहाँ कहाँ बन्दैछ स्टेशन?

प्रदेश १ को इनरुवामा पेसेन्जर स्टेशन, इटहरीमा पेसेन्जर र गूड्स स्टेशन, माथिल्लो बेलापुरमा सिंगल स्टेशन, चन्डीटोलमा सिंगल स्टेशन, उर्लाबारीमा पेसेन्जर स्टेशन, दमकमा पेसेन्जर सटेशन, यासोक र सुरुङ्गामा सिंगल सटेशन, विर्तामोडमा पेसेन्जर र गूड्स स्टेशन र काँकडभिट्टामा टरमिनल स्टेशन स्टेशन बन्नेछ ।

सम्बन्धित खवर