साइनो समाचारदाता
पथरी । नेपालीहरुको महान् पर्व चासोक तङ्नाम प्रदेश १ मा धुमधाम मनाइदैछ । ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र संखुवासभाका विभिन्न स्थानहरुमा तङ्नाम मनाउन सुरु गरिएको हो ।
मोरङको पथरी शनिश्चरे, उर्लाबारी, बेलबारी, सुन्दरहरौचा, केराबारीलगायत स्थानहरुमा धुमधाम तङ्नाम सामुहिकरुपमा मनाइन्दैछ । किरात याक्थुङ चुम्लुङ मेचीनगर, झापालले बृहत साँस्कृतिक साँझ तथा रमाइलो मिनी मेलाको आयोजना गर्ने भएको छ । मंसिर २६ गते देखि २८ गतेसम्म मेचीनगर–५ मा रहेको माङ्हिम परिसरमा कार्यक्रम हुन लागेको हो । किरात याक्थुङ चुम्लुङ मेचीनगरका अध्यक्ष दिलीपजंग आङदेम्बेले संस्कार संस्कृतिका कुराहरू युवा पुस्तालाई अपनत्व प्रदान गर्दै उत्तरदायी बनाउने उेश्यले कार्यक्रमको आयोजना गरेको जनाए । तीन दिने मेलाको पहिलो दिन साँस्कृतिक विधा तर्फका साँस्कृतिक झाँकीसहित विविध कार्यक्रम हुने । दोस्रो दिन राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुतीसँगै स्थानीय कलाकारहरूको समेत प्रस्तुती रहने र मेलाको अन्तिम दिन लिम्बु जातिको साँस्कृतिक खेल छेलो, तिर धनुष लगायत, स्लो बाइक रेसिङ लगायतका मनोरञ्जनात्मक खेलहरू हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा गायिका रजिना रिमाल, गायक तथा संगीतकार उत्तमजंग लावती, छमछमी सिजन ४ का सेकेण्ड रनरअफ दीलमाया लिम्बुसहित स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने छ । महोत्सव सम्पन्न गर्न करिव २ लाख रुपैयाँ खर्च अनुमान गरिएको र उक्त रकम दाताहरुबाट संकलन गरिने बताइएको छ ।
किरात याक्थुङ चुम्लुङले इलाम नगरपालिसका १० स्थित माइखोला टापुबेंसीमा विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरी चासोक तङनाम मनाउने तयारी गरेको छ । विगतका वर्षहरुझैं लिम्बू समुदायको जमघट गरी तङनाम मनाउने तयारी गरेको किरात याक्थुङ चुम्लुङकी अध्यक्ष गायत्री थेगिमले जानकारी दिइन् । मंसिर २६ गते गालीश्राप वहन्ती, यास्लाङ (धान नाच), केलाङ (च्याब्रुङ नाच), पक्लुङ (छेलो), ताम्भुङचा (वनभोज), शुभकामना आदानप्रदानलगायतका कार्यक्रम गरी चासोक तङनाम मनाउने तयारी किरात याक्थुङ चुम्लुङ इलामले गरेको छ ।
किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले चासोक मनाउन सुरु गरेको छ । मंसिर २५ गते फुङ्लिङबजार परिक्रमा गरेर विभिन्न साँस्कृतिक कार्यक्रम गरी चुम्लुङ् ताप्लेजुङले चासोक मनाएको हो । भोलि साँस्कृतिक कार्यक्रमसहित समापन हुने कार्यक्रम रहेको छ ।
सुनसरीको धरानमा बुधवारदेखि शनिवारसम्म चार दिने चासोक तङनाम मनाउने भएको छ । किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर समितिको आयोजनामा मौलिक तङसिङ अनुष्ठान, सामूहिक चासोक पूजा, धरानको शिर विजयपुरमा रहेको हाङयुक्ना दरबारमा सरसफाई, त्येअङसी सिरिजंगा सिंथेबेको १३५औं जन्मजयन्ती, मौलिक खेलकुद, विभिन्न जातजातिको झाकी प्रर्दशनी र चारै दिन विबिध सांस्कृतिक कार्यक्रम हुने आयोजकले जनाएको छ ।
झापाको शिबसताक्षी–१ धरमपुर चौकमा चासोक तङ्नाम मनाउन सुरु गरिएको छ । भालिसम्म चल्ने तङ्नाम किरात याक्थुङ चुम्लुङले मनाउँदैछ । समितिका संयोजक एबम् किरात याक्थुम चुम्लुङ शिबसताक्षी नगर समितिका कोषाध्यक्ष जयकुमारी चेम्जोङ लिम्बूका अनुसार किरात समुदायभित्र लिम्बू जातिको अत्यन्तै मौकिल र साँस्कृति अर्थसहितको मुन्धुमी चाड चासोक तङनामलाई उत्सव र अवसरको रुपमा मनाइदै आइरहेको बताइन् । मुल समारोह समितिका सदस्य नेत्र नेम्बाङले मौलिक तथा साँस्कृतिक भेष, भुषा, गरगहना, खानपान, नृत्य तथा पालाम गीतहरु सहित मनोरञ्जनात्मक खेल तथा तामासाहरु समेत राखिएको बताए । कार्यक्रममा कलाकार मौसम ईम्बुङ अर्थात फुलुन्देको बुबा, गायक सुजन तिगेला, गायिका तिर्सना नेम्बाङ, गायिका कौशिला लिम्बू, गायक बचन केदेम, गायिका उमा सम्बाहम्फे र गायिका नेहा संयोक्पा तुम्साले गीत संगीत, नृत्य र प्रहसनमार्फत मनोरञ्जन गराउने छन् । सो कार्यक्रममा मावन शास्त्री, मुन्धुम खोज अनुसन्धान सोधकर्ता डिवी आङबुङ लिम्बूले बिशेष सम्बोधन गर्ने भएका मुल समारोह समितिका सदस्य समिर योङहाङले जानकारी दिए । कार्यक्रमको अवसरमा २६ गते बिहिबार चासोक सेवा पुजा, चासोक प्रसाद वितरण, माङला, केलाङ, येवालाङ पालम, ख्याली हाक्पारे, साम्लो तथा जातीय साँस्कृतिक झाँकी प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको बेजोड प्रस्तुती र सम्मान तथा पुरस्कार वितरण हुने दुर्गा लिम्बूले बताए ।
प्रदेश १ मा मात्र होइन, प्रदेश ३ को चितवन, काठमाडौं, ललितपुरमा पनि चासोक मनाइन्छ । नेपालमा मात्र होइन, हङकङ, बेलायत, सिंगापुर, ब्रुनाई, भारत, साइप्रसको सिक्किम, आसाम, वर्मा, मलेशिया, थाइल्याण्डलगायत देशमा मनाइने गरिन्छ ।
चासोक के हो?
खेतवारीमा छरपोख गरेर अन्नवाली उव्जाएपछि आफ्नो इष्टदेव तागेरा निङ्वाफुमाङलाई पहिले अर्पण गरेपछि मात्र आफुले खाएर मनाउने खुशियालीको अवसरमा चासोक तङनाम मनाइने गरिएको छ । चासोकको अवसरमा तन्नेरीहरु च्याब्रुङ बजाएर नाच्दै साइनो नलाग्ने युवायुवतीहरु एकापसमा हात समाएर पालाम गाउदै धान नाच्ने गरेका छन् । यो चाडलाई लिम्बु समुदायहरु एकअर्काबीचमा एकता र मेलमिलापको रुपमा समेत लिने गरेका छन् ।
आफ्नो इष्टदेवसँग बल, बुद्धि, सुस्वास्थ्य र दीघार्युको वरदान पनि माग्दा पाउने लिम्बु समुदायको विश्वास छ । चासोक तङ्नाममा तोङ आप्मा, धनुकाड हान्ने, लि आप्मा, गुलेली हान्ने, खेङ आप्मा, माछा मार्ने, पक्लुङ लेप्मा, छेलो हान्ने, थाक थाक्मा जस्ता परम्परागत खेल र प्रवधिको प्रदर्शन पनि गरिएको छ । आधुनिक प्रविधि, जीवनशैली, परिवर्तित समाज, भुमण्डलीकरण आदि कारणले नयाँ पुस्ताले मौलिक सांस्कृतिक चाडपर्वहरु बिर्संदै गएकाले किरात याक्थुङ चुम्लुङले ०४८ सालदेखि व्यबस्थित र सामुहिक रुपमा चासोक तङ्नाम मनाउदै नयाँ पुस्तालाई जानकारी दिने र हस्तान्तरण गर्ने उदेश्यले भव्यता दिन थालेको हो ।
‘राष्ट्रिय चाडको रुपमा नलिएकोमा आपत्ति’
किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष यामप्रसाद लिम्बूले आदिवासीहरुको महान् पर्वहरुलाई सरकारले राष्ट्रिय चाडको रुपमा नलिएकोमा ठूलो आपत्ती जनाएका छन् । किरात समुदायको महान् पर्व चासोक तङनाम २०७६ को अवसरमा किरात याक्थुङ चुम्लुङ इलामले मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान एवम् स्वागत कार्यक्रममा बोल्दै लिम्बूले यस्तो आरोप लाएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लिम्बूले सरकारले आदिवासी र लिम्बू समुदायप्रति राखेको नकरात्मक दृष्टिकोणलाई तुरन्त सच्याउन माग गरेका छन् । सम्बृद्धिको नाममा सयौँ वर्षदेखी बस्दै आएका आदिवासीहरुको घर समेत भत्काउने नीति गलत रहेको आरोप लगाए । त्यस्तै सम्बृद्धिको नाममा आदिबासी समुदायको चाडपर्व खोस्ने र हिन्दु समुदायको संस्कृतिलाई पोस्ने काम अत्यान्तै निन्दनीय रहेको वताएका छन् ।
सरकारको यस्तो गलत र हैपाईती निर्णयप्रति आफ्नो संघ संगठन निरन्तर रुपमा लागेको र राष्ट्रसेवकहरुको तर्फबाट समेत कुटनीतिक खेल खेल्नुपर्ने आह्वान गरेका छन् ।
पाँच वटा किरातजन्य संस्थाका प्रतिनिधिहरुले २०५८ सालदेखि नै किरात चाड उधौलीमा दिइँदै आएको सरकारी सार्वजनिक विदा कटौती गरिएकोमा विरोध जनाउँदै उक्त विदा पुनःस्थापित गर्न माग गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएका छन् । किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, सुनुवार सेवा समाज, नेपाल थामी समाज र किरात याक्खा छुम्माका प्रतिनिधिहरुले राष्ट्रपति, प्रधानमन्त्री र गृहमन्त्रीको कार्यालयमा आफूहरुको माग सहितको संयुक्त ज्ञापनपत्र पेस गरेका छन् । चुम्लुङका अध्यक्ष योगराज लिम्बु वनेमले आफूहरुले हरेक वर्ष नै विदा पुनःस्थापित गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराउदै आएको बताए ।