दोस्रो कुसुमे उद्यौली कपः सशस्त्र र रोयल फुटबल फाइनलमा - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

दोस्रो कुसुमे उद्यौली कपः सशस्त्र र रोयल फुटबल फाइनलमा

साइनो समाचारदाता

केराबारी । दोस्रो कुसुमे उद्यौली कप २०७६ को फाइनलमा सशस्त्र प्रहरी बल पूर्वाञ्चल ( एपियफ ) र रोयल फुटबल क्लब दमक झापा फाइनलमा प्रवेश गरेको छ ।

कुसुमे साइनिङ क्लब केराबारी ९ को आयोजनामा भएको कपको फाइनल मंसिर २६ गते हुदैछ । मङ्गलबार भएको पहिलो र अन्तिम सेमिफाइनलमा एपियफ र रोयल, फाइनलमा उपाधिको लागि प्रतिस्पर्धा गर्ने भएको हो । दुई सेमिफाइनल खेल मङ्गलबार नै सम्पन्न भएको हो । पहिलो सेमिफाइनल खेल एपियफ र बेलबारी फुटबल क्लबबीच भएको थियो । पहिलो हाफको २० मिनेटमा एपियफका खेलाडी कृष्ण थापाले गोल गरेर टिमलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ८ मिनेटमा बेलबारीका खेलाडी भुषन सुब्बाले गोल गरेका थिए । खेल बराबरीमा सकिए पछि पछि ट्राइब्रेकरमा ४–२ गोलको अन्तरले एपियफले बेलबारीलाई हराएको छ । एपियफका खेलाडी योगेश दुर्गा मगर, सविन थापा, युवराज श्रेष्ठ र आकाश राईले गोल गरेका थिए भने बेलबारीको तर्फबाट विक्रम लिम्बु र भुषन सुब्बाले मात्र गोल गरेका थिए ।

दोस्रो सेमिफाइनल खेल डाँगीहाट युथ क्लब बेलबारी र रोयल फुटबल क्लब दमक बिच भएको थियो । पहिलो हाफको १० मिनेट र २० मिनेटमा डाँगीहाटका खेलाडी सुजन बस्नेतले दुवै गोल गरेका थिए । दोस्रो हाफमा सञ्जीव बुढाथोकीले र आशिष चौधरीले गोल गर्दै खेललाई बराबरीमा पुराएका थिए । खेल बराबरीमा टुङ्गिएपछि ट्राइब्रेकरमा ५–४ गोलको अन्तरले रोयल फाइनलमा प्रवेश गरेको हो । रोयलको तर्फबाट सागर लिम्बु, सरोज कार्की, रोशन तामाङ, आशिस चौधरी, सञ्जीव बुढाथोकीले गोल गरेका थिए । डाँगीहाटको तर्फबाट नितेस मगर, धिरेन लिम्बु, विकास लिम्बु, अनीश घिमिरेले गोल गरेका थिए । प्रतियोगिताको विजेता टिमले नगद पुरस्कार रु ५१ हजार र उपविजेताले रु ३१ हजार प्राप्त गर्ने छन् ।

सम्बन्धित खवर