राष्ट्रिय विभूति त्येङ्सी सिरिजङ्गा - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

राष्ट्रिय विभूति त्येङ्सी सिरिजङ्गा

अमर तुम्याहाङ

त्येअङ्सी सिरिजङ्गाको परिचय

सिरिजङ्गा याङ्वारक थुमको सिनाम–तेल्लकको कुदिङटार (हाल कुचिङटार भनिन्छ) मा सन् १७०४ अर्थात् वि.सं. १७६१ को मङ्सिरे पूर्णिमाको दिन जन्मिएको विश्वास गरिएको छ । जेआर सुब्बाका अनुसार (२००४ः ४) त्यअङ्सी सिरिजङ्गाको पिताको नाम इसिरिहाङ सिङथेबे आमाको नाम सिमाङ थियो । हरि चङबाङले क्याप्टेन गोपीलाल लिङ्देनलाई उदृत गर्दै त्येअङ्सी सिरिजङ्गाको बुबाको नाम पारुहाङ र आमाको नाम पुधाङ्मा (२०७१ः १) भनी उल्लेख गरेका छन् । उनको दाजुको नाम भने सिभको थियो । त्येअङ्सीका सिरिजङ्गाको सिरिझुम र सिरिगुम (साथमै सिक्किम लगेको मानिएका) दुई छोराहरू थिए ।

उनको नामसँग जोडिएर आउने उपनामहरूमा सिरिजङ्गा, सिरिजङ्गाबा, सिरिचाङ्गाबा, श्री चोम(ङ), श्री स्रिलि जाङ्गाहाङ, श्री याक्थुङहाङ, श्री स्रिजङ्गा (हज्सन सामग्री, ब्रिटिस लाइब्रेरी भोल्युम ७३, पत्र १५५–१५६, भोल्युम ८८, पत्र १, १६ आदि) र रूपीहाङ राय (ऐ. हज्सन सामग्री भोल्युम ८८) जयप्रकाश मल्ल (१७३७–१७६८) सँग जोडिएको कुरा प्राध्यापक डा. रमेश ढुङ्गेलले आफ्ना विभिन्न लेखमा उल्लेख गरेका छन् ।

किन गए त्येÞअङ्सीसिरिजङ्गा सुक्किममा ?

त्येअङ्सी सिरिजङ्गा याक्थुङ जातिको भाषा, लिपि, साहित्यका पुनरउत्थापक र प्रचारक मात्र थिएनन् । उनी याक्थुङ जातिको धर्म संस्कृतिको संरक्षण र संवर्धनमा पनि उतिकै दत्त चित्त भएर लाग्ने सन्त थिए । उनी तत्कालीन लिम्बुवान देशको विभिन्न गाउँ ठाउँमा पुगेर सिरिजङ्गा लिपिको प्राचार प्रसार, याक्थुङको धर्म संस्कृतिको प्रचार प्रसार र त्यसमा जागरण ल्याउने काममा समर्पित भएका थिए । त्येअङ्सी सिरिजङ्गाको उदय र उनले याक्थुङ समाजमा जागरणका लागि गरेको कामका बारेमा किरात इतिहासकार चेम्जोङ (२०१३, २०५९ः ७) लेख्छन्— याङ्रोकवासी किराती पण्डितले आफै सिरिजङ्गाको औतारी हुँ भनी गाउँगाउँ प्रचार गर्दै सिक्किम देशका किराती गाउँहरूमा पुगे ।

त्येअङ्सी सिरिजङ्गा समग्रमा याक्थुङ लाजे लिम्बुवान देशका देशवासी जनताका भाषा, लिपि, साहित्य, धर्म, संस्कृतिको संरक्षण र विकासमा आफ्ना चेलाहरूसहित लागिरहेको समयमा तत्कालीन सुक्खिम देशका बासिन्दा याक्थुङहरूमाथि त्यहाँको सरकारले थिचोमिचो गरेको, याक्थुङ लिपिको सट्टामा तिब्बतीयन लिपिमा बौद्ध धर्म ग्रन्थ पढाएको र धर्म परिवर्तन गराइरहेको खबर थाहा पाए । यो कुरा थाहा पाएपछि उनी सुक्खिममा पुगेर याक्थुङ भाषा, लिपि, धर्म संस्कृतिको संरक्षण गर्नुपर्छ भन्ने निष्कर्षमा पुगे ।

हुन पनि लो—मेन्—चङ सुम अर्थात् भुटिया—लाप्चा—लिम्बुको त्रिपक्षीय सन्धिबाट स्थापित भएको सुक्खिम देशको भुटिया सरकारले लाप्चा र लिम्बु सहकर्मी जातिहरूमाथि धोका दिई बुद्ध धर्मलाई राज्य धर्मको रूपमा घोषणा गरी लिम्बु र लाप्चाहरूलाई तिब्बती लिपिमा लेखिएको बौद्ध धर्मग्रन्थ पढाउन सन् १६९७ मा साङ्गाछोलिङ गुम्बा नै स्थापना ग¥यो । भुटियाहरूलाई पढाउनका लागि पेमियोन्छी गुम्बा स्थापना गरियो । यसपछि जबरजस्त लिम्बुहरूलाई उक्त साङ्गाछोलिङ् गुम्बामा बौद्ध धर्म पढ्नै पर्ने र बौद्ध धर्म अङ्गाल्नै पर्ने बाध्यात्मक अवस्थामा पुराएको थियो । यही कुरा एक कान दुई कान हुँदै त्येअङ्सी सिरिजङ्गाको जानकारीमा पुगेको थियो । यसपछि उनी आफ्ना आठजना शिष्यहरूलाई साथमा लिएर आपदमा परेका याक्थुङहरूमा जनचेतना जगाउन सन् १७३४ मा सुक्खि प्रवेश गरे । उनी त्यहाँ पुगेपछि हिबर्मेक, मार्ताम आदि ठाउँका लिम्बु समाजमा याक्थुङ लिपिमा लेख्न पढ्न, याक्थुङ धर्म संस्कृति पालन गर्न गराउन प्रेरित गरे । यस कारणले लिम्बुहरू साङ्गाछोलिङ गुम्बामा पढ्न जान छाडे ।

त्येअङ्सी सिरिजङ्गा सुक्खिममा पुगेकै साल सन् १७३४ मा सुक्खिमका चौथा राजा ग्युरमेड नाम्ग्याल (सन् १७१७—१७३४) को देहवशान भयो । उनी मर्नुभन्दा एक वर्षअघि सन् १७३३ मा साङ्गाछोलिङ गुम्बाको एकजना लाप्चा भिक्षुणीबाट उनको सन्तानका रूपमा नाम्गे पिन्चो (नाम्ग्याल फुन्छोग) को जन्म भएको थियो । तत्कालीन सुक्खिम राज्यमा लोपा (भोटे), मेन्पा (लाप्चा) र चोङ् (याक्थुङ) जातिबाट एकएक जना मन्त्री हुने प्रचलन अनुसार त्यस समयमा टाम्डिङ ग्याल्पो भुटिया मन्त्री, छाङ्जत कारबाङ लाप्चा मन्त्री र तारापदेव याक्थुङ मन्त्री थिए । राजा ग्युरमेड नाम्ग्यालको मृत्यु भएपछि भुटिया मन्त्री टाम्डिङ ग्याल्पो (जसले १७३४ देखि १७३८ सम्म शासन गरे) र लाप्चा मन्त्री छाङ्जत कारबाङबीच द्वन्द्व बढ्यो । तर पछि टाम्डिङ ग्याल्पो तिब्बतमा सरण लिन गए । यही समयमा त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरूले सुक्खिम मुलुकका याक्थुङ समाजमा स्वधर्म, भाषा र लिपिका बारेमा सामाजिक जागरण ल्याए ।

त्येअङ्सी सिरिजङ्गाको सहादत

त्येअङ्सी सिरिजङ्गाले थालेको जागरण अभियानपछि साङ्गाछोलिङ् गुम्बा पढ्न जान छाडे । बौद्ध धर्म मान्न पनि छाडे । यी सारा घटनाहरू देखी राब्देन्छीका प्रशासकहरू र ठासाङ लामाहरू चिन्तित मात्र भएनन्, सिरिजङ्गासँग क्षुब्द भए । यसपछि राब्देन्छीका प्रशासकको निर्देशनमा राब्देन्छी गुम्बाका ठासाङ लामाहरूले त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरूलाई दुःख दिन थाले । तर त्येअङ्सी सिरिजङ्गा लिम्बु भाषा र सिरिजङ्गा लिपिकृत साहित्यको विकास र विस्तार गर्न, युमा धर्म मुन्धुम र लिम्बु समाजमा जनचेतना ल्याउन आफ्नो जीवन उत्सर्ग गर्न (Teyongis Sirijunga was ready to sacrifice his life for development and spread of Limboo language and literature in Sirijunga script, spread of Yuma Samyo Mundhums and creating awareness amongst the Limboo community) तत्पर थिए (सुब्बा, २००४ः १३—१४) । यसर्थ उनी सुक्खिमे शासक र ठासाङ लामाहरूसँग झुकेनन् । यसैक्रममा १७४१ को एकदिन त्येअङ्सी सिरिजङ्गा र उनका शिष्यहरू सिरिजङ्गा फक्कुमा आश्रय लिएर बसिरहेका बेला ठासाङ लामाहरूले घेरी सिरिजङ्गालाई कालिज खोला र रेशीखोलाको दोभानमा रहेको मौवाको रुखमा बाँधी बिसालु गोपे बाँसको बाणले हानी हत्या गरे । उनका शिष्यहरूलाई पनि ठासाङ लामाहरूले सुक्खिमका विभिन्न ठाउँमा मारे भने कतिपय त्यहाँबाट ज्यान जोगाएर भागे ।

त्येअङ्सी सिरिजङ्गाको योगदान

कृष्णप्रकाश श्रेष्ठ लेख्छन्— किराँतहरूका माझ सिरिजङ्गा लिपिको प्रचलनको निम्ति मात्र नभई ज्ञानको प्रचारको निम्ति पनि किराँत जातिका प्रथम प्रबोधक ईश्वरभक्त सिंह थेबे (जन्मः ई.सं. १७०४) निकै प्रसिद्ध हुन पुगेका थिए । किराँतहरू उनलाई सम्मानपूर्वक देवांसी भन्दछन् र सिरिजङ्गाको अवतारको रूपमा मान्दछन् (२०५८ः ३०) ।

गोपीकृष्ण अधिकारीका मूल्याङ्कन यस प्रकार रहेको छ— वयस्क भएपछि आफूले आफैलाई सिरिजङ्गाको अवतार हुँ भनी झण्डै नौसय वर्ष अगाडिदेखि किराँती पूर्वजहरूले सुरक्षित राखेका राजा सिरिजङ्गले प्रयोगमा ल्याएका लिपि र साहित्यको खोज गरी त्यसको माध्यमबाट साहित्य रचना गरी पुनः किराँत लिम्बू समाजमा प्रचार गरे । तेअङ्सीको अद्वितीय काव्य रचना गर्ने क्षमता थियो । यिनले थुप्रै काव्य रचना गरे । ‘मुन्धुम साप्ला’ प्रमुख रहेको छ (२०५९ः ५०)।

जेआर सुब्बाका अनुसार त्येअङ्सी सिरिजङ्गा लिम्बु समाजका महान् समाज जागरणकर्ता हुन्ः (क) त्येअङ्सी सिरिजङ्गा लिम्बु भाषा र साहित्यका महान् पुनरजागरणकर्ता, (ख) युमा धर्मका महान् पुनरउत्थापक र (ग) लिम्बु संस्कृतिका महान् जागरणकर्ता (२००४ः २०)।

राष्ट्रिय विभूति त्येअङ्सी सिरिजङ्गा

याक्थुङ समाज विकास तथासभ्यता निर्माणमा अदितीय योगदान गरेका धेरै महान् व्यक्तित्वहरूमध्ये त्येअङ्सी सिरिजङ्गा, समाजसुधारक फाल्गुनन्द र इतिहासकार इमानसिंहलाई लिम्बु समाजले राष्ट्रिय विभूतिका रूपमा मानिआएको थियो । यसै कुरालाई ध्यानमा राख्दै २०४९ मा लिम्बुवानको सुनसरी धरानमा सम्पन्न किरात याक्थुङ चुम्लुङको दोस्रो राष्ट्रिय महाधिवेशनले त्येअङ्सी सिरिजङ्गा, समाजसुधारक फाल्गुनन्द र इतिहासकार इमानसिंह चेम्जोङलाई राष्ट्रिय विभूति मान्ने औपचारिक निर्णय गर्दै तिनैजना विभूतिको जन्मजयन्ती भव्यरूपमा मान्ने समेत निर्णय ग¥यो । लिम्बु समाजका यी तिनजना विभूतिहरूमध्ये समाजसुधारक फाल्गुनन्द लिङ्देनलाई नेपाल सरकारले २०६६ मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूतिका रूपमा घोषणा गरेको छ । उनी लिम्बु समाजबाट नेपाल सरकारका तर्फबाट राष्ट्रिय विभूति घोषित प्रथम विभूति हुन् पुगेका छन् ।

प्रा.डा. रमेश ढुङगेलले लन्डनको इन्डियन लाइब्रेरीमा रहेको हज्सन पेपरको अध्ययन गरेपछि त्यहाँ सङ्ग्रहित सामग्रीहरूका आधारमा त्येअङ्सी सिरिजङ्गाको अदितीय योगदान रहेको भन्दै राष्ट्रिय विभूतिका रूपमा एक अनुसन्धानात्मक लेख मार्फत् प्रस्ताव गरेका छन् । तर यसबारेमा नेपाल सरकारबाट कुने सुनुवाइ भएको पाइएको छैन ।

त्येअङ्सीको सिरिजङ्गाको स्मरणमा गरिएका कार्यहरू

तत्कालीन लिम्बुवान देश वर्तमान नेपालको लिम्बुवानमा जन्मिए पनि आफ्नो जीवनको आहुती तत्कालीन सिक्किम राज्यमा दिएका विभूति त्येअङ्सी सिरिजङ्गालाई नेपाल र सिक्किम दुवै देशमा समान श्रद्धाका साथ सम्झने, सम्मान गर्ने परम्परा रहिआएको छ । यसै क्रममा विभूति सिरिजङ्गाको नाममा नेपाल र सिक्किम भारतमा भएका कार्यहरू निम्न अनुसार रहेका छन् ।

नेपालमा भएका कार्यहरू

– वि.सं. २०४९ मा तत्कालीन श्री ५ को सरकारले राष्ट्रिय विभूति सिरिजङ्गाको चित्राङ्कित हुलाक टिकट प्रकाशित गरेको ।
– मोरङ बेलबारीमा २०३७ मा सिरिजङ्गा स्पोर्टिङ क्लबको स्थापना (हाल अस्तित्वमा नरहेको) (चङ्बाङ, २०७१ः १०८) ।
– मोरङको तत्कालीन बेलबारी— ६ हाल बेलबारी नगरपालिका—७ सैनिक बस्तीमा विभूति त्येअङ्सी सिरिजङ्गाकै नाममा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना । यो विद्यालय अद्यावदिक अस्तित्वमा रहेको छ ।
– मोरङ पथरी निवासी समाजसेवी किशोर नेम्बाङको अगुवाइमा पूर्ण कदको त्येअङ्सी सिरिजङ्गाको शालिक २०७२ वैशाख २६ गते स्थापना भई अनावरण भएको छ ।
– कियाचुले लिम्बू भाषा साहित्यको इतिहासको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरूलाई पुरस्कृत गर्न वि.सं. २०५१ मा ‘सिरिजङ्गा पुरस्कार’ स्थापना गरेको ।
– इलाम चुलाचुली हात्तीलेदा निवासी ज्ञानोदय लाओतीले आफ्नो निजी निवास परिसरमा विभूति त्येअङ्सी सिरिजङ्गाको सालिक आफैले निर्माण गरी २०३९ फागुन शिवरात्रीमा स्थापना गरेको ।
– झापा जिल्ला सत्तासीधाम—८, हाल शिवसतासी नगरपालिका—९ सैनिक बस्तीमा सिरिजङ्गा प्राथमिक विद्यालय खोली सञ्चालनमा रहेको छ ।
– झापा जिल्लाको तत्कालीन घैलाडुब्बा— १ हाल कन्काई नगरपालिका— ७ दुर्गापुरमा किरात याक्थुङ चुम्लुङ गाउँ समितिको पहलमा २०६३ मा त्येअङ्सी सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
– झापा जिल्लाकै मेची नगरपालिका काँकडभिट्टामा क्याप्टेन गोपीलाल लिङ्देनको अगुवाइमा सिरिजङ्गाको अर्धकदको सालिक स्थापना ।
– कियाचुले पृथ्वीनगर झापामा त्येअङ्सी सिरिजङ्गाको अर्ध कदको सालिक २०६४ मा निर्माण ।
– कियाचु सुनसरीले धरान न.पा. तीनकुनेमा त्येअङ्सी सिरिजङ्गाको पूर्ण कदको सालिक वि.सं. २०५९ मा निर्माण ।
– पान्थर जिल्ला साराङ्डाँडा — १ स्याक्वामा सिरिजङ्गा प्राथमिक विद्यालय स्थापना भई सञ्चालन भइरहेको ।
– पूर्व मन्त्री पूर्णकुमार सेर्माको नेतृत्वमा सिरिजङ्गा ग्रामीण विकास केन्द्र पान्थर साराङ्डाँडामा स्थापना भई पहाडी क्षेत्रमा झोलुङ्गे पुल निर्माणलगायतका सामाजिक कार्य गरिआएको ।
– ताप्लेजुङ सिनाम डाँडागाउँमा सिरिजङ्गा मिङ्सो माङहिमको निर्माण ।
– सिनाम, आम्बेदेन, सिगेजा, तेल्लक, पेदाङ, मामाङ्खे, याम्फुदेन र खेवाङलाई समेटेर बनेको गाउँ पालिकाको नाम त्यअङ्सी सिरिजङ्गाको नाममा नेपाल सरकारले सिरिजङ्गा गाउँपालिका नामकरण भएको छ ।
– तेल्लकमा सिरिजङ्गा मिङ्सो माङ्हिम नाममा माङ्हिम २०७६ मा निर्माण भएको छ ।

सिक्किम भारतमा भएका कार्यहरू

– पश्चिम सिक्किम हि–बर्मेकमा सिरिजङ्गा माङ्हिम निर्माण । सिरिजङ्गाले उपदेश दिने गरेको ढुङ्गामाथि अर्धकदको सालिक निर्माण ।
– पश्चिम सिक्किमकै मार्ताम लेक्सेप जोड्ने मार्गलाई सिक्किम सरकारबाट ‘त्येअङ्सी सिरिजङ्गा मार्ग’ नामकरण ।
– मङ्सिरे पूर्णिमा अर्थात् त्येअङ्सी सिरिजङ्गा जयन्तीको दिन सिक्किम सरकारले सरकारी बिदा घोषित गरेको छ ।
– सिक्किम कै युमाङ थेगुमा सबैभन्दा ठूलो र अग्लो (१३० फिट) सिरिजङ्गाको मूर्ति र मुन्धुम अध्ययन केन्द्रको निर्माण ।

त्येअङ्सी सिरिजङ्गा जन्मजयन्ती मनाउनुको तात्पर्य

त्येअङ्सी सिरिजङ्गा जन्मजयन्ती मनाउनु भनेको त्येअङ्सीले बनाएको बाटोमा ठीक ढङ्गले आफू हिँड्ने र समाजलाई पनि हिँडाउने प्रतिज्ञा गर्नु र सोही बमोजिमको व्यहार प्रदर्शन गर्नु हो । कुखुरे छाती लिएर कोही पनि त्येअङ्सीका सच्चा अनुयायी हुन सक्दैनन् । उनको अनुयायी हुनका लागि सिंहको जस्तो विशाल छाती हुनुपर्छ जसले आफू मात्र होइन अरूलाई पनि सँगै लिएर हिँड्न सकोस् त्येअङ्सी सिरिजङ्गाले खनेको बाटोको विसौनीबाट नयाँ बाटो बनाउन सकोस् र उनको सपना अर्थात् उनले देखेको लक्ष्यमा पुग्न सकोस् साथमा सिङ्गो मानव समाजलाई डो¥याएर पु¥याउन सकोस् । यसका लागि याक्थुङ मुन्धुम जस्तै विश्वव्यापी रूपमा सोच्ने तर स्थानीय रूपमा काम गर्ने (Think globally, act locally) क्षमता सिरिजङ्गाका अनुयायीमा हुनुपर्दछ । अहिलेको विश्वव्यापीकरणबाट आफ्नो मौलिकपन बचाएर सग्लो रूपमा शिर ठाडो राख्दै आफू, आफ्नो समाज र आउँदो सन्ततिलाई हस्तान्तरण गर्न सक्नु नै किरात विभूति त्येअङ्सी सिरिजङ्गाको सही मानेमा जन्म जयन्ती मनाउनु हो ।

सम्बन्धित खवर