राष्ट्रिय विभूति फाल्गुनन्दको १३५ औं जन्मजयन्तीः १९ स्थानीय तहमा सार्वजनिक विदा, देश विदेशमा धुमधाम मनाइदै - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

राष्ट्रिय विभूति फाल्गुनन्दको १३५ औं जन्मजयन्तीः १९ स्थानीय तहमा सार्वजनिक विदा, देश विदेशमा धुमधाम मनाइदै

साइनो समचारदाता

पथरी । किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्मजयन्तीको अवसरमा १९ स्थानीय सरकारले आज सोमबार ( कात्तिक २५ गते) सार्वजनिक विदा दिइएको छ ।

मोरङको उर्लाबारी नगरपालिका र मिक्लाजुङ गाउँपालिका, झापाको झापाको गौरादह नगरपालिका, बुद्ध शान्ति गाउँपालिका, दमक नगरपालिका, अर्जुनधारा नगरपालिका र शिवसताक्षी नगरपालिकाले बिदा दिने निर्णय गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, फुङलिङ नगरपालिका, याङ्वारक पाथिभरा गाउँपालिका र सिदिङबा गाउँपालिका, पान्थरको मिक्लाजुङ गाउँपालिका, फिदिम नगरपालिका, फाल्गुनन्द गाउँपालिका, याङवरक गाउँपालिका र हिलिहाङ गाउँपालिकामा सार्वजनिक विदा दिइएको छ । त्यस्तै इलामको माङसेबुङ गाउँपालिका, फाक्फोक थुम गाउँपालिका र माई नगरपालिकाले पनि विदा दिएको छ ।

किरात धर्म दर्शनदाता, समाज सुधारक, राष्ट्रिय विभूति मुहिङगुम अङसीमाङ महागुरु फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्तीको अवसरमा देश तथा विदेशमा विविध कार्यक्रमको आयोजना गरी मनाइदैछ । तेह्रथुमको छतर गाउँपालिकामा राष्ट्रिय विभुति फाल्गुनन्द लिङ्देनको १३५ औं जन्म जयन्ती मनाइएको छ । किरात याक्थुङ चुम्लुङ वडा समितिको आयोजना भएको कार्यक्रममा वडा अध्यक्ष टेकराज लिम्बु, वडा सदस्य हस्त माया लिम्बु, चुम्लुङ वडा समितिका अध्यक्ष कमानसिंह लिम्बु, सचिब नारायण लिम्बु, गुरु टंक तुम्खेवालगायतले लिङ्देनको वारेमा चर्चा गरेको थिए ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा लिम्बु विद्यार्थी मञ्चले फाल्गुनन्द लिङ्देन १३५ औं जन्म जयन्ती विशेष व्यक्तित्व विवेचनात्मक कार्यक्रमको आयोजना गरेको छ । त्यस्तै आदिवासी जनजाति महासंघ र किरात धर्म साहित्य उत्थान संघ मलेसियाले परदेशी रेष्टुरेन्ट क्वालालम्पुरमा विशेष कार्यक्रमको आयोजना गरेर मनाएको छ ।

हरेक वर्ष कार्तिक २५ गते मनाइने महागुरुको जन्मजयन्तीको अवसरमा मोरङको मिक्लाजुङ गाउँपालिका टाँडीमा राष्ट्रिय विभूतिको प्रतिमा अनावरण गरिने कार्यक्रम छ । सो कार्यक्रममा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन हवाई मार्ग मार्फत सवारी हुने भएको छ । कार्यक्रम मुख्यमन्त्री शेरधन राईको प्रमुख आथित्यमा हुदैछ । पान्थरको मिक्लाजुङ गाउँपालिका वडा नं. ५ कुरुम्बाको सिक्तेम्बामा कार्यक्रम हुदैछ । कुरुम्बा सिक्तेम्बाको कार्यक्रममा आर्थिक मामिला तथा योजना इन्द्र आङबोको प्रमुख आथित्यमा कार्यक्रम हुने तय गरिएको छ । विगतका वर्षझै यस वर्ष पनि महागुरुको जन्मजयन्ती नेपालको ताप्लेजुङ, पान्थर, इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, सुनसरी, खोटाङ, संखुवासभा, भोजपुर, उदयपुर, कास्की, काठमाण्डौं, भक्तपुर, ललितपुर लगायत विभिन्न जिल्लाका सदरमुकामहरुमा भव्य मनाउने तयारी गरिएको छ । यसरीनै किरात धर्मावलम्बीहरुले स्थापना गरेको प्रत्येक माङहिमहरुमा र महागुरुको प्रतिमाहरुमा मात्र नभई घर घरमा दीपावली गरी जन्मजयन्ती मनाइने किरात धर्मावलम्बीहरुको भनाई छ ।

यसरीनै भारतको दार्जिलिङ, सिक्किम, आसाम लगायत विभिन्न प्रान्तहरुमा पनि महागुरुको जन्मजयन्ती मनाउने गर्दछन् । त्यसैगरी हङकङ, बर्मा, भुटान, बेलायत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान, साउदी, कतार, मलेसिया, ब्रुनाई, दुबई, बहराइन, इजरायल लगायत विभिन्न राष्ट्रहरुमा बसोबास गर्नुहुने किरात समुदायले महागुरु फाल्गुनन्दको जन्मजयन्ती हर्षोल्लासका साथ मनाउने गरेका छन् ।

तत्कालीन किरात समाजमा प्रचलित कुरीति कुसंस्कारलाई हटाई सभ्य र शिक्षित समाज स्थापनाको लागि महागुरुले वि.स. १९८८ साल बैशाख २४ गते पान्थरको चोकमागु ३ लब्रेकुटीमा तत्कालीन १७ थुम १० लिम्बुवानका गन्यमान्य, सुब्बा, बुद्धिजीवीहरुको महाचुम्लुङ आयोजना गरी ऐतिहासिक रुपमा ७ बुँदे सत्य धर्म मुचुल्का निर्माण गरेका थिए । यसरी लेखिएको मुचुल्काले समानता, अहिंसा र शान्तिको मार्गदर्शन गरेको छ । मुचुल्कामा छोरी चेलीको सोतरीत नखानु, छोरा छोरीमा समान व्यवहार गर्नु, जीव हत्या हिंसा नगर्नु, मासु मंस जाँड रक्सी सेवन नगर्नु, फजुल खर्च नगर्नु, मातृभाषामा शिक्षा लिनु र माङहिम निर्माण गर्नु भन्ने जीवन दर्शनहरु रहेका छन् । यसरी महागुरुको पहलमा लेखिएको मुचुल्काले किरात समाजलाई सुधार गर्न र किरात धर्म दर्शन चौतर्फी फैलिनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । महागुरुले निर्माण गर्नु भएको मुचुल्काको महिमा फैलिन्दै जानेक्रमसँगै वहाँको मार्ग दर्शन र जन्मजयन्ती पनि संसारभर फैलिन्दै गएको छ ।

वि.स. २०६६ साल मंसिर १६ गते नेपाल सरकारले राष्ट्रिय विभूति घोषणा गरेको महागुरु फाल्गुनन्दको जन्मदिनलाई किरात समुदायले पर्वको रुपमा विकसित गर्दै लगेका छन् । यस दिनलाई किरात धार्मिक संस्थाहरुले वि.स. २०७१ साल बैशाख २४ गते किरात धार्मिक चाडपर्वको रुपमा घोषणा समेत गरेका थिए । यसरी पर्वको रुपमा मनाउदै आएको जन्मजयन्ती कार्यक्रमको अवसरमा माङ सेवा आयोजना गर्ने, पारिवारीक भेटघाट हुने अवसरका रुपमा प्रत्येक घर घरमा दीपावली गरी खुशीयालीका साथ मनाउने गरेको छ । यो अवसरमा सामाजिक सञ्जाल फेसबुक, मोवाइल, सञ्चार माध्यमबाट र सभा, गोष्ठी, सम्मेलन आयोजना गरी शुभकामना आदानप्रदान गर्ने चलन बढ्दै गएको छ ।

इलामको माङसेबुङ गाउँपालिका वडा नं. २, साविक इभाङ– ५, चुक्चिनाम्बा डाँडागाउँमा लिङ्देन दम्पति जगनवाज र हंसमति बेघाको साइला सुपुत्रको रुपमा वि.स. १९४२ साल कार्तिक २५ गते आइतबारका दिन जन्मिए महागुरु ६५ वर्षको उमेरमा वि.स. २००५ साल चैत २२ गते निधन भएको थियो ।

सम्बन्धित खवर