साइनो समचारदाता
जनकपुर । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका १६ केन्द्रीय सदस्यहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह–इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेललगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गरेका छन् ।
विधि अनुशासनअनुसार पार्टीलाई अगाडि बढाउन माग गर्दै प्रदेश नम्बर २ का सह–इन्चार्ज तथा केन्द्रीय सदस्यहरू नागेन्द्र चौधरी, महेन्द्र पासवान लगायत १६ जनाले मंगलबार नेकपा केन्द्रीय सचिवालयमा ज्ञापनपत्र बुझाएका हुन् । नेकपा केन्द्रीय समितिको परिपत्रलाई उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरेका थिए । केन्द्रीय सदस्यहरू रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगत प्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठालगायतले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पार्टीको अन्तरिम विधानको धारा ३४ ख विपरीत कार्य गरेको आरोप लगाउँदै महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनु पर्ने माग गरेका छन् ।