साइनो समचारदाता
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पहिलो चरणको प्रशिक्षण कार्यक्रमअन्तर्गत आठ सयभन्दा बढी महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षित गरेको छ ।
तीनवटा प्रदेशका आठ सय २० महाधिवेशन प्रतिनिधिहरुलाई प्रतिष्ठानका संयोजक विमलेन्द्र निधि, कार्यकारी निर्देशक दाहाल, सदस्यहरु डा. आरजु राणा देउवा, डा. गोविन्द पोखरेल, डा. जगदीशचन्द्र पोखरेल, खिलानाथ दाहाल, केशव निरौला, राजु नेपाल, छन्दबहादुर पहराई मगरलगायतले फरक–फरक विषयामा प्रशिक्षण दिएका थिए । प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालले साउन ३१ गतेबाट सुरु भएको पहिलो चरणअन्तर्गत गण्डकी, कर्णाली र ५ नम्बर प्रदेशमा सञ्चालित प्रशिक्षण कार्यक्रममा आठ सय २० महाधिवेशन प्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको जानकारी दिए । प्रतिष्ठानले साउन ३१ र ३२ गते कास्कीको पोखरामा गण्डकी प्रदेशस्तरीय, भदौ २ र ३ गते रुपन्देहीको भैरहवामा प्रदेश ५ नम्बरस्तरीय र भदौ ५ र ६ गते सुर्खेतको वीरेन्द्रनगरमा कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।