अन्याय विरुद्ध सन्चारकर्मीले बोल्नुपर्छःसचिव देवान - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

अन्याय विरुद्ध सन्चारकर्मीले बोल्नुपर्छःसचिव देवान

साइनो समचारदता

विर्तामोड । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का संघीय समितिका सचिव कमन देवानले अन्यायका विरुद्ध पत्रकारले बोल्नुपर्ने बताएका छन् ।सोमबार फोनिज झापा शाखाले आयोजना गरेको २० औं फोनिज स्थापना दिवस तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै सचिव देवानले सो कुरा बताएका हुन् । देवानले भने ’सरकार र लोकसेवा आयोगले आरक्षण कोटा कटौती गरेर विभेदित जनतालाई थप अन्यायमा पारेको छ । पत्रकारले अन्याय विरुद्ध न्यायको पक्षमा बोल्नुपर्छ ।’

संविधानको मौलिक हकका रूपमा स्थापित समावेशीताको अधिकारलाई वर्तमान सरकारले कुन्ठित गर्न खोजेको भन्दै देवानले असन्तुष्टि पोखेका थिए । उनले फोनिज अब सशक्त सङ्गठनका रूपमा विकसित भएको भन्दै २०औं स्थापना दिवसमा सबैसँग शुभकामना साट्न चाहेको बताए ।

विद्रोहीसहित तीन जना पुरस्कृत

यसैबीच फोनिजको २०औं स्थापना दिवसको अवसरमा झापाका अग्रज पत्रकार माधव विद्रोहीसहित तीन जनालाई पुरस्कृत गरिएको छ । फोनिज झापाले विद्रोहीलाई नगद २५ हजार २० रूपैयाँ नगद राशीको स्वर्गीय डिकमान सुनुवार बिरही वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । त्यस्तै स्वर्गीय डिकमान सुनुवार विरही उदीयमान पत्रकारिता पुरस्कारबाट भगिहाङ नेम्बाङ र ध्रुव राजवंशीलाई पुरस्कृत गरिएको फोनिज झापा अध्यक्ष विशाल नेम्बाङले जानकारी दिए । पुरस्कृत पत्रकारहरुलाई फोनिज सङ्घीय सचिव देवानले सम्मान पत्रसहित पुरस्कृत गरेका थिए । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठ, नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सपकोटा, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य गणेश पोखरेल, प्रेस संगठन झापा अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायतले शुभकामना व्यक्त गरेका थिए । स्वर्गीय पत्रकार सुनुवारको जीवनी बारे फोनिज झापा उपाध्यक्ष देशराज नेम्बाङले प्रकाश पारेका थिए भने सन्चालन सचिव अमित खम्बूको रहेको थियो ।

सम्बन्धित खवर