एसईईपछि कुन बिषय रोज्ने ? - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

एसईईपछि कुन बिषय रोज्ने ?

भूूमिप्रसाद पाठक

यसपालिको एसईई परीक्षा सकिइसकेको छ । विद्यार्थीहरुका लागि एसईई पछिको समय फुर्सदको समय हो, नै तर यो समय भविष्यको योजना बुन्ने र गन्तव्य तय गर्ने समय पनि ह।े । परीक्षा दिएपछि नतिजा नआउन्जेलसम्म विद्यार्थीहरुले आफ्नो उच्च शिक्षाका बारेमा निर्णय गर्नेमात्र होइन, त्यसका लागि आवश्यक तयारी पनि गरिसक्नुपर्छ । कहाँ अध्ययन गर्ने ? कुन बिषय लिएर अध्ययन गर्ने ? र उक्त बिषय लिएर अध्ययन गरिसकेपछि भविष्यमा के गर्ने ? भन्ने विषयमा विद्यार्थीहरु जानकार हुनैपर्छ ।

‘आइरन गेट’ मानिने यसको जाँचपछि केही लामो विदाको उपभोग गर्छन भने कसैले त्यतिकै बिताउँछन् । कतिले खाली समय सदुपयोग होस् भन्दै ब्रिजकोर्स पनि गरिरहेका हुन्छन् त कतिपयले कम्प्युटर सिक्छन् । विदाको समयमा बरालिँदा पढ्ने बानीनै हराउने हुनाले आफ्नो जीवनको लक्ष्यबारे तयारी गर्न यो उपयुक्त समय हो । अहिले अधिकांश कलेज खोज्नेदेखि कुन बिषय पढ्ने भन्नेसम्मको चिन्ता छ । उनीहरु अब के पढ्ने, कुन बिषय पढ्ने, कहाँ पढ्ने भन्ने बिषयमा घोत्लिन थालेका छन् । पढ्न जाने कलेज कस्तो होला भन्नेमा उनीहरुमा ज्यादा उत्सुकता देखिन्छ । कतिपयले त यो बिषयनै पढ्ने भनेर तयारी पनि थालिसकेका छन् । विद्यार्थीहरुले यो खाली समयमा पनि पढाइमै ध्यान दिनुपर्ने हुन्छ । करिअर विकास गर्ने उमेर भएकाले कलेज छान्दा ध्यान दिनुपर्छ । त्यहाँको वातावरण, बिषय परिणाम, ल्याबजस्ता कुराहरुमा ध्यान दिनुपर्छ । अहिले गाउँ÷सहरतिर एसईई दिएर बसेका विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि आवश्यक परामर्श दिन विभिन्न संघ–संस्था खुलेका हुन्छन् ।

पछिल्लो समय सहरमा ब्रिजकोर्स पढ्नेहरुको लामै ताँती देखिन्छ । धेरैजसो विद्यार्थी ब्रिजकोर्स भनेर कुदिरहेका हुन्छन् । बिशेषगरी विज्ञान पढ््ने रुचि भएका विद्यार्थीहरुले कलेजले दिने ‘इन्ट्रान्स’ परीक्षामा सजिलो होस् भनेर ब्रिजकोर्स कक्षा लिन्छन् । त्यस्तै चिकित्सक, इन्जिनियर र प्राविधिक शिक्षा पढ्न खोज्नेहरु पनि ब्रिजकोर्स पढ्न पुग्छन् अहिले प्रतिस्पर्धाको जमाना छ , राम्रो बिषयमा नाम निकाल्नका लागि ब्रिजकोर्सले सहयोग पनि गर्छ । कतिपय अभिभावकले त आफ्ना छोराछोरीलाई फलानो बिषय पढाएर भविष्यमा यस्तो बनाउने भनेर आफै निर्णय पनि गरिसकेका हुन्छन् । विद्यार्थीले पनि एसईईपछि यस्तो विषय पढ्ने भनेर निर्णय गरिसकेका हुन्छन । अहिले ब्रिजकोर्सलाई स्कुल र उच्च शिक्षाको ग्याप मेट्न मात्र होइन , कुनै पनि बिषयमा भर्ना पाउने पूर्वतयारीका रुपमा समेत लिइन्छ । त्यस्तै प्रवेश परीक्षा उतीर्ण गर्न पनि ब्रिजकोर्स आवश्यक मानिन थालिएको छ । तर ब्रिजकोर्स परीक्षा पछिको फुर्सदिलो समय सदुपयोग गर्ने उक्तम विकल्प भनिए पनि अहिले त्यस्तो हुन सकिरहेको छैन । ब्रिजकोर्सको मात्रै कुरा गर्ने हो, भने बिषयविज्ञको आधारमा ब्रिजकोर्स नगराउनु दुःखत कुरा हो । बिषयविज्ञ नभएकाले ब्रिजकोर्स गराउँदा विद्यार्थी र अभिभावकसमेत ठगिरहेको अवस्था छ । उनीहरुले कक्षा–११ मा पुगेपछि कस्ता बिषय पढ्ने, कुन बिषय पढ्दा के फाइदा, त्यसमा कस्ता–कस्ता कोर्स छन् ज्ञान दिलाउनुपर्नेमा कक्षा – १० कै बिषयहरु अध्यापन गराउने कामसमेत गर्ने गरेका छन् । ब्रिजकोर्सले उच्च शिक्षाका लागि सहज वातावरण बनाउनुपर्छ । कलेजमा के – कस्ता कुरा पढाइ हुन्छ भन्ने कुराको आधारभूत ज्ञान लिन लगाउनुपर्छ । यसले आफ्नो क्षमता अनुसार कलेज र बिषय छनोटमा पनि सघाउँछ । ब्रिजकोर्सकै क्रममा विद्यार्थीलाई करिअर काउन्सिलिङ सेवा पनि उपलब्ध गराउनुपर्छ ।

उच्च शिक्षामा कसरी आफूलाई प्रस्तुत गर्ने ? ब्रिजकोर्स एक किसिमको मानसिक तयारी हो, भन्ने बुझाउन सक्नुपर्छ । आफूले पढ्ने कलेज, वातावरणसम्बन्धी जानकारी लिइने हुनाले त्यहाँ ‘एडजस्ट’ हुन समस्या हुदैन । विद्यालय तहको पढाइबाट एकैपटक उच्च शिक्षाको खुला वातावरणमा जानुपर्ने बाध्यतामा रहेका विद्यार्थीहरुलाई यसले एउटा ‘ट्रान्जिसन जोन’ प्रदान गर्नेछ । जहाँ विद्यार्थीहरु उच्च शिक्षाका लागि मानसिक, शैक्षिक तथा सामाजिक रुपले पनि तयार हुनेछन् । शैक्षिक तहमा एक तहबाट सहज रुपमा अर्को तहमा फड्को मार्न ब्रिजकोर्स आवश्यक हुन्छ । स्कुल र कलेजको पाठ्यक्रमबीच धेरै असमानता हुने भएकाले, यही असमानता हटाउन ब्रिजकोर्सले सघाउँछ । ब्रिजकोर्सलाई मुनाफा आर्जनको स्रोत नबनाई सेवा बनाएमा फाइदाजनक नै हो, तर यहाँ खाली मुनाफा कसरी आर्जन गर्ने भन्ने ध्येयले सस्तोे ब्रिजकोर्सको कार्य भइरहेको छ । यो ज्यादै दुःखत पक्ष हो । ब्रिजकोर्स गरेपछि विद्यार्थीमा उच्च शिक्षाका लागि आत्मविश्वास बढोस् किनभने उनीहरुलाई उच्च शिक्षाको यात्रा तय गर्नु अघिनै त्यहाँको यावत् जानकारी उपलब्ध गराउनुपर्दछ । यस्तै, सुरुका बर्षमा अध्ययन गर्नुपर्ने पाठहरु सिकाउनुपर्छ । कलेजमा कसरी प्रस्तुत हुने, के पढ्ने, कसरी पढ्नेजस्ता कुरामा उनीहरुलाई पोख्त बनाइनुपर्छ । ब्रिजकोर्समा पाठ्यक्रम मात्र नपढाएर नेतृत्व क्षमता व्यत्तित्व विकास करिअरजस्ता कुरामा पनि समेटिनुपर्छ अनि मात्रै ब्रिजकोर्सको महत्व रहन्छ ।

अन्त्यमा, एसईईपछि कोहीले आफ्नै विवेकले बिषय र क्षेत्रको छनोट गरेपनि कतिपयले साथीभाइको लहैलहैमा, कसैको बकाउ र अभिभावक आदिको दबावमा परेर निर्णय गर्छन् । यसो हुँदा कतिपय विद्यार्थी आफूले पढिरहेको संकाय चित्त नबुझेर र पढ्न नसकेर बीचमै छाडी अर्को संकायमा पलायन हुन बाध्य हुन्छन् । बीचमै संकाय छाड्नु मात्र होइन, आफूलाई मन परेको संकायमा चित्त नबुझी–नबुझी पढ्नु पनि लाभदायक हुदैन । उच्च शिक्षाका लागि बिषय, क्षेत्र र कलेज छनोट निकै महत्वपूर्ण र कठिन काम हो । एकातर्फ आफ्ना छोराछोरीका सबै मनोकाङ्क्षा वा रुचि अभिभावकले बुझ्न नसक्ने यथार्थ र अर्कातर्फ किशोरावस्था रहेका विद्यार्थीहरुले आफ्नो क्षमता, रुचि तथा यथार्थ वस्तुस्थिति र अध्ययन क्षेत्रको जटिलताको बिषयमा सही निर्णय लिन नसक्ने अवस्था रहेकाले पनि यो समयमा विद्यार्थी, अभिभावक, शिक्षक लगायत सबैले निकै सुझबुझंपूर्ण तवरले निर्णय लिनुपर्छ । उच्च शिक्षामा के पढ्न रुचि छ र कुन बिषयको स्कोप कति छ, कुन कलेजमा के र कस्तो पढाइ हुन्छ ? आफ्नो परिवारको क्षमताले भ्याउँछ कि भ्याउँदैन भन्ने बिषयमा विद्यार्थीहरुले जानकारी राख्नैपर्छ, नत्र भने उनीहरुको भविष्य अन्धकार हुनेछ । यस विषयमा एसईई दिएर बसेका विद्यार्थीहरुले ध्यान दिनुपर्छ ।

सम्बन्धित खवर