सत्य धर्म मुचुल्काको बाटोमा - Sainokhabar
  • बुधबार, फागुन १९, २०७७

सत्य धर्म मुचुल्काको बाटोमा


आङ्बुहाङ अबोध अविरल

सत्यधर्म मुचुल्काले समाजमा कस्तो प्रभाव पारेको छ ? केही महिना अघि एक रेडियो अन्तरवार्तामा मलाई सोधिएको प्रश्न थियो । यो प्रश्नले मलाई निकै सोच मग्न बनायो । म आफै सत्यधर्म मुचुल्काका विषयमा स्तानकोत्तरमा सोध गर्ने विद्यार्थी हुँ । सत्यधर्म मुचुल्कामा के उल्लेख छ भन्ने बारेमा मेरो अध्ययन केन्द्रित थियो । तर, यसको समाजमा के प्रभाव छ भन्ने विषय थप अध्ययनको विषय बन्यो मेरो लागि ।महागुरु फाल्गुनन्दको पहलमा पान्थर लबे्रमा सत्य धर्म मुचुल्का निर्माण भएको सतासी बैसाक वितिसकेका छन् । मुचुल्काले हाम्रो समाजमा कस्ता अग्रगामी परिवर्तनहरु ल्याएका छन् । र, यसबारे कस्ता वहसहरु चलिरहेका छन् भन्ने यो छोटो लेखमा छलफल गर्ने प्रयास गरिएको छ ।

मुचुल्कालाई राष्ट्रिय मान्यता
महागुरु फाल्गुनन्दलाई सरकारले २०६६ मंसिर १६ मा राष्ट्रिय विभूति घोषणा ग¥यो । राज्यले उहाँलाई किरात धर्मगुरु तथा समाजसुधारको रुपमा सम्मान गर्दछ । जसले गर्दा महागुरुलाई समाज सुधारको रुपमा चिनाउने सत्य धर्म मुचुल्काले राष्ट्रिय मान्यता प्राप्त गरेको छ । महागुरु फाल्गुनन्द राष्ट्रिय विभूति घोषणा गरिएसँगै सत्यधर्म मुचुल्काबारे चर्चाको दायरा फराकिलो बन्दै गएको छ । सत्य धर्म मुचुल्काले मानव समाजलाई एकता, अहिंसा, समानता र मानवताको पक्षमा अघि बढ्न मार्ग निर्दिष्ट गरेको थियो । किरात समुदायमा प्रचलित तुम्याहाङ प्रणालीको आधार पान्थर लब्रेमा निर्मित सत्यधर्म मुचल्का प्रथाजनित कानूनको रुपमा निर्माण भएको थियो । लिम्बुवानका तत्कालीन प्रशासनीक प्रमुखहरु–सुब्बा, अमाली सुब्बा, सर्वधारण भक्तजन र महागुरु फाल्गुनन्दको उपस्थितिमा निर्मित सो मुचुल्कामा सात वटा बुँदाहरु समेटिएको थियो । पहिलो बुँदामा छोरी चेलीको सोत रीत लिन बन्द गर्ने, दोस्रो बुँदामा माङ्सेवा गर्दा जीव हत्या नगर्ने र तेस्रो बुदामा मासु मंस नखाने उल्लेख छ । यसैगरी मृत्यु सुतक सम्बन्धी चौंथो बुँदामा समेटिएको छ । मृतक सुतक बारनमा विविधता आएकोले ३ दिन बारन गरेर चौंथो दिनदेखि खेतीपातीको काम गर्ने र १० औं दिनमा सुद्धाई गर्ने भनिएको छ । मंसको पिण्ड दिन छाड्ने र मंसको मेजमान नदिने चौंथो र छैटौं बुँदाले समेटेको छ । सातौं बुँदामा फलफूलको पिण्ड दिने कुरा उल्लेख छ ।

नारी समानताको पक्षमा मुलुक
सत्यधर्म मुचुल्काले नारीलाई धर्म, संस्कृति र परम्परालाई साधन बनाएर महिलामाथि गरिने विभेदको अन्त्य चाहेको छ । नारी समानताका पक्षमा अघि बढ्न निर्दिष्ट गरेको छ । लिम्बू समाजमा छोरी चेलीको विवाहमा सोतरितका नाममा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो, रहेको छ । छोरा लाई जग्गा–जमिनको मालिक, जात, थर र वंशको उत्तराधिकारी मान्ने गरिन्छ । तर, छोरीलाई विवाहमा मोल नै तोकेर सोतरित लिने चलन समाजमा थियो, अझै छ । संसारका अधिकांश मानव समुदाय पुरुष प्रधान संरचनामा संरचित छन् । पुरुष प्रधान संरचनाले महिलाहरुलाई दोस्रो दर्जाको मानवका रुपमा स्थापित गर्दै विभेद गर्दछ । महिलालाई कमजोर र दोस्रो दर्जामा राख्न कानून, संस्कृति र परम्पराहरु निर्माण गरिन्छ । सोतरित लिने चलनले नारीलाई वस्तुकरण गर्दछ । एउटा पुरुष बेहुली खोज्न जान्छ, बुबा, अर्को पुरुषले छोरी ÷बेहुलीको मूल्य तोक्छ । यी दुई पुरुषहरुबीच मोलमोलाई चल्छ । यो चलनलाई मुचुल्काले पाप कर्मको रुपमा उल्लेख गरेको ।

मुन्धुम लिपिबद्धता
लामो समय मुन्धुम मौखिक परम्परामा रहेकाले हराउँदै गएको र यसलाई बचाउन लेख्य रुपमा ढाल्नु पर्ने मुचुल्काको पृष्ठभूमिमा उल्लेख गरिएको छ । महागुरु फाल्गुनन्दका पालामा मुन्धुमका थुप्रै खण्डहरु लेख्य रुपमा उतारियो । महागुरु फाल्गुनन्दले मुन्धुम फलाक्नु हुन्थ्यो । त्यही कुरा चेला रनधोज नेम्बाङले बाँसका कलमले काँचो कागजमा लेख्नु हुन्थ्यो । फाल्गुनन्दका पालामा मुन्धुम किरात सिरिजंगा लिपिमा लेखियो । मुन्धुमलाई कम्प्युटरमा टाइप गरेर प्रेसबाट छपाउने कार्य किरात धर्मगुरु लिङ्देन आत्मानन्द सेइङले गरिरहनु भएको छ । लेख्य रुपमा उतार्न बाँकी मुन्धुमलाई लेख्ने र सम्पादन गर्ने कार्यसमेत किरात धर्मगुरुबाट भइरहेको छ । महागुरुले मुन्धुमलाई लेख्य रुपमा उतार्ने प्रयास भयो । सत्यधर्म मुचुल्का र फाल्गुनन्दको प्रेरणाले इमानसिं चेम्जोङले मुन्धुमको संकलन गरेर देवनागरिक लिपिमा लिपिवद्ध गर्नुभयो । किरात लिपि नजान्ने तर खस भाषामा ज्ञानभएकाले मुन्धुम अध्यायन गर्न सजिलो भयो । पछि बैरागी काइलाले या फेदाङमामा रहेको मुन्धुम रेकर्ड गरेर पुस्तकका रुपमा प्रकाशन गर्नुभयो । यसैगरी पछिल्लो समय वनेम वंशावलीमा समेत मुन्धुम संकलन गरिएको छ । मुन्धुम संकलन, खोज अुनसन्धान गर्नुपर्दछ भन्ने विषयमा सत्यधर्म मुचुल्कामा नै उल्लेख गरिएको थियो । आज मुन्धुम लेखनमा तिब्रता आएको छ ।
हिजोआज नारी समानता र अधिकारका विषय राजनीतिक वहसको मुख्य विषय बनेको छ । नारी शसक्तिकरण, समावेशिता र समानताका विषय संविधानमा उल्लेख भएका छन् । सरकारका तीनवटै तहमा महिला सहभागिता सुनिश्तित गरिएको छ । आमाका नाममा समेत सन्तानले नागरिकता पाउने भएको छ । नारी समानताको चेत सत्यधर्म मुचुल्कामा प्रतिविम्बित थियो ।

मातृभाषामा शिक्षाको बहस
मातृभाषामा शिक्षा, बहुभाषिक शिक्षा आदि शिक्षा क्षेत्रका जल्दाबल्दा सवालहरु हुन् । विद्यार्थीलाई उनीहरुकै मातृभाषामा शिक्षा दिँदा सिकाई उपलब्धि राम्रो हुने निष्कर्ष शिक्षाविद्हरुले निकालेका छन् । मातृभाषामा शिक्षाका विषय सत्यधर्म मुचुल्काको पहिलो खण्डमा उल्लेख छ । २०४६ सालको जनआन्दोलन पश्चात नेपालका अन्य मातृभाषामा समेत शिक्षा प्रदान गर्ने विषय बहसमा आयो । लिम्बू लगायतका थुप्रै भाषामा शिक्षाका अभ्यास भए । बहुभाषिक शिक्षा नीतिलाई नेपालले शिक्षा नीतिका रुपमा स्वीकार गरेको छ । विश्वव्यापिकरणको प्रवृत्तिले अंग्रेजी भाषाले व्यापकता पाइरहेको समयमा मातृभाषामा शिक्षाको मुद्दाले ठूलो महत्व पाएको छ ।

मातृभाषाका अधिकारलाई मौलिक हकका रुपमा सम्बोधन गरिएको छ । सत्यधर्म मुचुल्काले मातृभाषा सम्बन्धि चेतलाई उजागर गरेको थियो । यसका साथै चुम्लुङमा छलफल भएको तर मुचुल्कामा नपरेको विषय मौलिक परिहनहरुको प्रयोग गर्ने भन्ने थियो । आज आफ्नो मौलिक पहिरनहरु गौरवका साथ पहिरने परिपाटीको विकास भएको छ । यो सांस्कृतिक पूँजी निर्माण हुनमा थुप्र्रै नागरिक आन्दोलनहरुले महत्वपूर्ण योगदान गरेको छ । तथापि, सो संस्कृतिक पुँजीको चेतको फिलिङगो सत्य धर्म मुचुल्काले राणा कालमै छरेको थियो ।

धार्मिक पहिचानको खोजी
सत्यधर्म मुचुल्को महत्वपूर्ण पक्ष भनेको धार्मिक राष्ट्रियताको खोजी हो । लामो समय नेपालका अधिकांश जनताहरुलाई हिन्दू धर्मावलम्बीको आवरणमा परिभाषित गरियो । यसैबीच किरात जातिको आफ्नै धर्म प्रचार–प्रसार गर्नु पर्दछ भन्ने विषय मुचुल्काले उठान गरेको थियो । किरात जातिले मानी आएको वृत्ति, प्रवृत्तिलाई किरात धर्मका रुपमा चिनाउनु पर्दछ भन्ने विषयले आज ठूलो आकार लिएको छ । यूमाको माङ् हिम निर्माण गर्ने, मुन्धुमलाई लेख्य रुपमा लैजाने, अहिंसा र शाकाहारी जीवन पद्धति अपनाउने जस्ता सत्यधर्म मुचुल्कामा उल्लेख छ । विभिन्न थुममा सांस्कृतिक एकरुपता नभएको कारण एक रुपता प्रदान गर्ने प्रयास मुचुल्काले गरेको छ ।

निष्कर्ष
हिजोआज फाल्गुनन्दबारे राम्रा नराम्रा बहसहरु भएका छन् । उहाँ राष्ट्रिय विभूति बन्नुभएपछि सबैको चासो पनि बढेको छ । फाल्गुनन्द बारे निर्मम टिप्पणीहरु भइरहेका छन् । आफूलाई लागेका कुरा व्यक्त गर्नु पाउनु लोकतन्त्रको सुन्दरता हो । उहाँबारे जति बहस चल्छन् उती नै उहाँको चर्चा चुलिने हो । फाल्गुनन्दलाई यसरी नै बुझ्नु पर्दछ भन्ने पनि छैन् । जसले जसरी पनि बुझ्न पाउँछ । तर, समाज बिस्तारै फाल्गुनन्दको बाटोमा हिँडिरहेको छ र हिँडिरहने छ । बस यती हो, पिच रोडमा बाटो खन्नेलाई नै थुक्दै यात्रा गरिरहेका छौं ।

सम्बन्धित खवर