राष्ट्रिय पर्व सिर्जातको अवसरमा भोलि उर्लाबारीमा सार्वजनिक विदा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

राष्ट्रिय पर्व सिर्जातको अवसरमा भोलि उर्लाबारीमा सार्वजनिक विदा

साइनो समचारदाता

उर्लाबारी । आदिबासी धिमालहरुको राष्ट्रिय पर्व जात्री तथा सिर्जातको अवसरमा मोरङको उर्लाबारी नगरपालिकाले सार्वजनिक विदा दिएको छ । अब असार २ गते सार्वजनिक बिदा हुनेछ ।

जेठ ३१ गते स्थानीय सार्बजनिक विदा सम्बन्धमा सूचना जारी गर्दै स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको नगर प्रमुख खडगबहादुर फागोद्वारा जारी सूचनामा उल्लेख छ । उर्लाबारी नगरपालिकाले धिमालहरुको संस्कृति, धर्म तथा पर्वलाई सम्मान गरेको भन्दै धिमाल जातिय बिकास केन्द्र, केन्द्रीय समितिले धन्यबाद व्यक्त गरेको छ । मोरङको बेलबारी नगरपालिका, कानेपोखरी गाउँपालिका, पथरी शनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिका र झापाको दमक नगरपालिकाका प्रमुख÷अध्यक्षलाई बिदाको ज्ञापन पत्र बुझाएको थियो । गत जेठ २७ गते सोमबार धिमाल जातीय बिकास केन्द्रको तर्फबाट केन्द्रका महासचिव केदार धिमालको नेतृत्वमा केन्द्रीय सदस्य रत्नीमाया धिमाल, बाङगाई धिमाल पुर्व केन्द्रीय सदस्य मातृका धिमाल, धिमाल विद्यार्थी मन्चका उपाध्यक्ष अष्टनारायण धिमाल, धिजाविके कानेपोखरी गाउँपालिका अध्यक्ष प्रकाश धिमाल, जितेन्द्र धिमाल र रोमान्सी धिमाललगायतको टोलीले जात्री सिर्जात समापनको अवसरमा ज्ञापन पत्र बुझाएका हुन् ।

सिर्जात समापन कार्यक्रम गर्न समिति गठन

धिमाल परियोजना स्थल, मंगलबारेमा असार २ गते लाग्ने जातिरि मेला सम्पन्न गर्न विभिन्न समितिहरु गठन गरिएको हो । बजार व्यवस्थापन समिति रामप्रसाद धिमालको संयोजकत्वमा, प्रतिभा पुरस्कार छनौट समिति महासचिव केदार धिमालको संयोजकत्वमा, आर्थिक तथा जातिरी मेला व्यवस्थापन समिति कोषाध्यक्ष गीरिराज धिमालको संयोजकत्वमा, साँस्कृतिक झाँकी व्यवस्थापन समिति हरिलाल धिमालको संयोजकत्वमा, अतिथि सत्कार समिति सह अध्यक्ष अम्बरबहादुर धिमालको संयोजकत्वमा, पुजा व्यवस्थापन समिति कुलबहादुर धिमालको संयोजकत्वमा, ढोल छनौट समिति उपाध्यक्ष विष्णुबहादुर धिमालको संयोजकत्वमा, स्वयमसेवक तथा सुरक्षा व्यवस्थापन समिति सचिव कविराज धिमालको संयोजकत्वमा, मन्च तथा साउण्ड सिस्टम व्यवस्थापन समिति श्रीप्रसाद धिमालको संयोजकत्वमा, अनुगमन समिति नम्बरलाल धिमालको संयोजकत्वमा समिति गठन गरिएको छ । सो अवसरमा धिमाल समुदायबाट पीएचडी गर्ने पहिलो व्यक्ति सोमबहादुर धिमाल र टिकाराम धिमाल (भुइकटहरे) को घर निर्माणका लागि बनेको उपभोक्ता समितिलाई समेत सम्मान गर्ने निर्णय भएको धिमाल जातीय विकास केन्द्रले जनाएको छ ।

दिपेनलाई युवा प्रतिभा पुरस्कार

धिमाल जातीय विकास केन्द्रले प्रदान गर्दै आएको “धिमाल युवा प्रतिभा पुरस्कार २०७६” यस वर्ष दिपेन धिमाललाई प्रदान गर्ने भएको छ ।

छनौट समितिको बैठकले अन्तराष्ट्रिय पदक विजेता झापा विर्तामोडका दिपेन धिमाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । पुरस्कृत प्रतिभालाई सम्मान पत्र, नगद ५ हजार रुपैयाँ र आल्गी धावा (धिमाल पोशाक) ओडाएर सम्मान गरिनेछ । चिनमा सम्पन्न अन्तराष्ट्रिय तेक्वान्डो हिरो कप प्रतियोगीतामा दिपेन धिमालले गोल्ड मेडल जितेका छन्, भने झापा तेक्वान्डोका च्याम्पीयन उनी पुर्वाञ्चल तथा राष्ट्रिय स्तरका प्रतियोगीता समेत जितेका छन् । गोल्ड मेडलिष्ट दिपेन धिमाल खेलकुदको अलवा सामाजिक काममा समेत सकृय छन् । उनले सडक बालबालिका, गरिबीको चपेटामा रहेका बालबालिका र अपाङ्गता भएका बालबालिकालाई सहयोग गर्दै आएका छन् । आफुले सन्चालन गर्दै आएको एकेडेमीबाट प्राप्त रकमको केहि हिस्सा उनले सो क्षेत्रमा खर्चिदै आएका छन् । धिमाल समुदायका नयाँ प्रतिभाहरुलाई प्रोत्साहन गर्न हरेक वर्ष यो पुरस्कार प्रदान गर्दै आएको पुरस्कार छनौट समितिका संयोजक रहनु भएका केन्द्रका महासचिव केदार धिमालले जानकारी दिनुभयो । धिमाल डट कमले प्रायोजन गरेको सो पुरस्कार यसअघि राष्ट्रिय टोलिका सदस्य फुटबलर रजिन धिमाल, बडिबिल्डर विकास धिमाल र गायिका मेचु धिमाललाई प्रदान गरिएको थियो । पुरस्कार असार २ गते जात्रि समापनको अवसरमा धिमाल परियोजना स्थलमा आयोजित कार्यक्रममा प्रदान गरिनेछ ।

सम्बन्धित खवर