'एक पहाडकाे कन्फेसन' - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

‘एक पहाडकाे कन्फेसन’

कति उभिनु
अाकाशकाे च्याँदरमुनि
चाैरास्ताकाे शालिक जस्ताे
निर्जन भएर … !

अब त बनेर पहिराे झरिदिन्छु
तल टुकुचेकाे वस्तीनेर
अब त भएर उपद्राे लडिदिन्छु
सिधैँ मान्छेको खप्परमाथि ।

*** *** ***

खङ खङ खङ …
खाेकिरहेकाे छु लगातार ध्वाँसे धूवाँ पिएर
राल सिँगान भएर बगिरा’छन् धमिला खाेलाहरू मेरा नाकका पाेराबाट …
हिउँकाे पट्टिले कम नभएर ज्वराे
निधार तातिएर ज्वालामुखी फुट्लाझैँ छ …
दुम्सी बँदेल उफ्रिहिँड्ने जङ्गलमा डाेजर कुदेर
मेरो ढाड हुनसम्म पिल्सिएकाे छ …

अनि, कसरी
ठिङ्ग बिजुलीको पाेलझैँ
अनिँदाे उभिरहनु … ?

*** *** ***

म पहिले कहाँ यस्तो थिएँ र !
उहिले बैँस छँदाका कुरा हाे –
तन्नेरी हावा मकहाँ ठाेक्किएरै मात्रै जान्थे गन्तव्यतिर,
घाम जून अालाेपालाे गर्दै बादलबाट चिहाउँथे
मलाई,
हिउँकाे देवताले शरदपछि ताज पहिराएर जान्थ्याे मेरै शिरमाथि,
गुराँस पनि मेरै सिउँदाे भएर फुल्न गर्थ्याे तँछाडमछाड,
वर्षा पनि मलाई गुल्जार गरेर मात्रै पसि जान्थ्यो समुद्रतिर,
म कहाँ यस्ताे मात्रै थिएँ र ।

जब, मान्छे जङ्गल अाेडार छाडेर
सहर पस्न थाल्याे
अनि, सुरु भयो
मेरो कुरुपताकाे गाथा !

*** *** ***

अब त
रत्तिभर सकिन्न उभिन
अाकाशकाे च्याँदरमुनि
चाैरास्ताकाे शालिक जस्ताे
निर्जन भएर … !

मान्छेमा अहमताकाे
अर्काे पहाड
अग्लिँदै जाे गएको छ ।

*** *** ***

अासफाेर्ड, केन्ट

[ २ जून २०१९, उल्वीच, लन्डनमा अायाेजित इकाे साहित्य गाेष्ठीमा वाचन गरिएकाे]

सम्बन्धित खवर