कविताः बिजयपुरको माटो - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कविताः बिजयपुरको माटो

कल्पना कालीकोटे

तामाको माना पाथीमा भरेर
छातीमा हात राख्दै
वाचा, कसम, किरिया, खाएको
हिजो जस्तो लाग्छ।।

भन्थे हामी तिमीलाई
कहिल्यै धोका दिने छैनौं ।
तर खोइ के भयो कुन्नि !
त्यो वाचा कसम खासै धेरै टिकेन।।
अन्ततः आफु(आफुङे राजाहरु
आफ्नो आफ्नो बाटो लागे।

आखिर टुट्नु थियो टुट्यो
तर त्यसले धेरैको मन रोयो।
राज कुमार आङ्देम्बे “माङ्तोक“
जस्ता वीर योद्धा को आत्मा रोयो
मनिल तामाङ जस्ता
वीर योद्धाको आत्मा रोयो।।
अरु थुप्रै–थुप्रैका आत्माहरु रोए
अझै पनि रोइ रहेका छन् ।।
तिनीहरु मध्ये कोहि
खाडीमा बेल्चा हान्दैछन ।।
कोहि जापान, कोरिया, मलेसिया तिर
दिन रात नभनी पसिना बगाउदै छन्।।

भन्छन् विभेद र उत्पीडनका विरुद्धमा
केहि गर्लान् कि भनेर ।।
खाइ नखाइ त्यत्रो संघर्ष गरियो
ती सबै उहीँ भयो
हात लाग्यो शुन्य ।।

टुट्न, फुट्न मात्र जान्ने
जुट्न नजान्ने ए मनुवाहरु ।।
यो कस्तो लक्षण हो ?
मैले बुझ्न सकिन !!
सायद यहि नै होला क्यार
“बिनाश कालको बिपरित बुद्धि“ !

एक मनले सोच्छु
आहै
यो कलियुगमा के को वाचा कसम ?
छोडिदेउ यस्ता कसम ससम ।।
तर होइन “बिजयपुरको कसम“
अरु कसैले उठाउन नसकेको
उत्पीडितहरुको ढलेको (माङ्गेना) शिर
अब बिजयपुरले उठाउछ ।।
फक्ताङ्लुङ्ले उठाउछ ।।
मुकुमलुङ्ले उठाउछ ।।

सम्बन्धित खवर