पतिको स्मृतिमा ४५ लाखको ट्रष्ट भवन - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

पतिको स्मृतिमा ४५ लाखको ट्रष्ट भवन


धरानः पूर्व गोरखा सैनिककी एक पत्नीले आफ्नो दिवंगत पतिको स्मृतिमा समुदायको सामाजिक, सांस्कृतिक, भाषिक अधिकारका लागि कार्यरत संस्थालाई सामुदायिक उपयोगका लागि ४५ लाख रुपयाको लागतमा कभर्ड हल स्वरुपको ट्रस भवन निर्माण गरी हस्तान्तरण गरेकी छन् ।

धरान वडा १९ की ७० वर्षीया नन्दकुमारी लिङलेकु कन्दङवाले दिवंगत पति देउबहादुर कन्दङवा लिम्बुको स्मृतिमा धरान–१५ सुनगाभा माग स्थित किरात याक्थुङ चुम्लुङको चुम्लुङ हिम परिसरमा उक्त ट्रस भवन निर्माण गरिदिएकी हुन् । चुम्लुङ लिम्बु समुदायको सामाजिक, सांस्कृतिक, भाषिक तथा राजनीतिक अधिकारका लागि कार्यरत संस्थाको रुपमा परिचित छ । शनिवार आयोजित एक समारोहका बीच चुम्लुङका केन्द्रिय अध्यक्ष योगराज वनेमबाट नवनिर्मित भवनमा स्थापना गरिएको स्वर्गिय देउबहादुरको अर्धकदको शालिक अनवारण गरी भवनको उद्घाटन गरिएको छ । नवनिर्मित ‘स्वर्गिय देउबहादुर कन्दङवा स्मृति ट्रष्ट भवन’को उद्घाटन संगै समारोहमा श्रीमती नन्दकुमारीले दुवै पक्षको सही छाप भएको सम्झौतापत्र आदान प्रदान गरी भवन चम्लुङ धरान नगर समिति लाई हस्तान्तरण गरिन् । सम्झौता पत्रमा दोश्रो पक्षबाट नगर समितिका अध्यक्ष सुवास हुक्पा चोङबाङको हस्ताक्षर छ ।


चुम्लुङ भवनको दक्षिण तर्फ स्थित एक डेढ कट्ठा खाली जमिनमा निर्मित बहुउदेश्यीय भवन ट्रसको प्रविधिमा निर्माण भएको छ । सेमी कभर्ड हलको रुपमा रहेको भवनमा इण्डोर खेलकुद सञ्चालन गर्न सकिने छ । भवनलाई पार्टी प्यालेसको रुपमा प्रयोग गर्न सकिने, विवाह लगायत सभा, सम्मेलन आयोजना गर्न उपयुक्त स्थलको रुपमा निर्माण गरिएको हो । भवनमा १ हजार भन्दा बढी कुर्सी राख्न सकिने क्षमता छ । यसअघि भवनको दक्षिण तर्फ सभा समारोहका लागि ५० जना अटाउन सकिने मञ्च निर्माण भएकोले सभा, सम्मेलन गर्न सहज हुने छ । ट्रष्ट भवन बाहेक चुम्लुङ परिसरमा तिन तलाको चुम्लुङ हिम यसअघि नै निर्माण भई प्रयोगमा आइसकेको छ । चुम्लुङ हिम र ट्रस भवन सञ्चालन बाट चुम्लुङ संस्था सञ्चालन गर्न पर्याप्त आम्दानी हुने विश्वास गरिएको छ ।


उद्घाटनको अवसरमा चुम्लुङका अध्यक्ष वनेमले पछिल्लो समय लिम्बु समुदायमा सामाजिक तथा सामुदायिक कार्यका लागि गरिने कल्याणकारी योगदान दिने भावना बढेको बताउँदै नन्दकुमारीबाट स्वार्गिय श्रीमानको स्मृतिमा चुम्लुङ लाई निर्माण गरिदिएको भवन पछिल्लो उदाहरण भएको बताए । उनले चुम्लुङले लिम्बु समुदायको सामाजिक, भाषा, संस्कृति र राजनीतिक अधिकारीका लागि गर्दै आएको आन्दोलनका बारेमा बताउँदै भने ‘चुम्लुङ स्थापना भएको तीस वर्षमा यस्ले गरेको भूमिकाकै कारण मुलुकमा पहिचान तथा भाषा, संस्कृतिप्रति आदिबासी समुदायमा चेतना बढेको छ ।’ सल्लाहकार नरप्रसाद लिम्बुले नन्दकुमारीले उदाहरणी योगदान गर्दै भवन निर्माण गरिदिएको बताउँदै यस्को व्यवस्थापन र सञ्चालनलाई संस्थागत रुपमा अघि बढाउन नसकिए दाताको भावनामा चोट पुग्ने कुराप्रति गम्भिर हुन चुम्लुङलाई आग्रह गरे । जिल्ला अध्यक्ष मोहनकुमार हुक्पाचोङबाङले दाताप्रति कृतज्ञता ज्ञापन गरे । समारोहका सभापतित्व नगर अध्यक्ष सुवास हुक्पा चोङबाङले गरेका थिए ।

दाता परिवारको तर्फबाट पूर्वगोर्खा सैनिक आन्दोलनका अगुवा डा.रामनरायण कन्दङ्वाले भने ‘श्रीमती नन्दकुमारीले उनी सम्पन्न र धनाढ्य भएकोले यति ठूलो लगानीमा भवन बनाई दिएकी होइनन् ।’ स्वर्गिय पतिको स्मृतिमा उनको कमाईको रकम सामाजिक कार्यमा खर्च होस र पछि सम्म समुदायले उनलाई सम्झिइयुन भन्ने उदार भावनाले सहयोग गरेको बताए । उनको यो योगदानलाई लिम्बु समुदायले मात्र होइन् नगरपालिका, सरकारले नै कदर गरि सम्मान गर्नुपर्ने बताए । उनले भने ‘नन्दकुमारीको यो योगदान अहिलेको नेपालमा रातारात करोडपनि बन्ने भ्रष्ट मनोवृत्तिलाई गतिलो झापड पनि हो ।’ उनका अनुसार श्रीमती नन्दकुमारीको दिवंगत पति स्वर्गिय देउबहादुरको ७० वर्षको उमेरमा २०७३ सालमा निधन भएको थियो । उनि १० गोर्खा राइफल्सका पूर्वगोर्खा कर्पोलर सैनिक थिए । १६ वर्षको गोर्खा सैनिक जीवन विताएर अवकाश ग्रहण गरेका उनले पूनः बुनाई गोर्खा सैनिकका रुपमा १४ वर्ष विताएका थिए । बु्रनाईको सैवा पछि धरान–१९ मा अवकाशको जीवनकाल सामाजिक कार्य गर्दै विताएका थिए । लिम्बु समुदायको भाषा, संस्कृति, सामाजिक उत्थानका लागि चिन्तित उनले थरगत संस्था कन्दङवा कल्याणकारी समाजको अध्यक्ष पनि सम्हालेका थिए ।

उक्त भवन निर्माणका दाता र चुम्लुङ विच भवन हस्तान्तरण भएको सम्झौता पत्र यस्तो छ–
लिखितम् हामी भवन तथा भवन र कम्पाउण्डमा रहेको संरचनाहरु समेत जिम्मा दिने तथा जिम्मा लिने सम्झौतामा सहिछाप गर्ने मानिसहरु आग्ये सुक बहादुर लिम्बूको नातिनी राज बहादुर लिम्बूको छोरी स्व. देउ बहादुर कन्दङवाँ लिम्बूको पत्नी जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १९ किरात चौक बस्ने वर्ष ७० की नन्दकुमारी लिङलेकु कन्दङवाँ लिम्बू १ जसलाई यसपछि प्रथमपक्ष भनी सम्बोधन गरिनेछ । जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १५ सुनगाभा मार्ग स्थित किरात याक्थुङ चुम्लुङ उपमहानगर समिति धरानको तर्फबाट ऐ.को वर्तमान अध्यक्ष श्री सुवासचन्द्र हुक्पाचोङबाङ लिम्बू १, जसलाई यसपछि दोस्रो पक्ष भनी सम्बोधन गरिनेछ । हामीहरु बीच निम्न तपशिलमा उल्लेख भएका बमोजिमको शर्त पालना गर्ने गराउने गरी दुवैपक्षको मनोमान राजीखुशीबाट तपसिलमा उल्लेखित साक्षीहरुको रोहवरमा मुलुकी देवानी संहिता २०७४ भाग ५ बमोजिम यो करार सम्झौता शर्त करारनामाको कागज गरेका छौँ ।
क) करारनामाको विषय ः प्रथमपक्षले सम्झौता अनुसार किरात याक्थुङ चुम्लुङ धरानको स्वामित्वमा रहेको जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं १५ सुनगाभा मार्ग स्थित चुम्लुङ हिमको कम्पाउण्ड प्राङगण भित्र आफ्नो निजि खर्चमा निर्माण सम्पन्न गरिदिएको स्व. देउबहादुर स्मृति द्रष्ट भवन र सो भवनभित्र स्थापना गरिएको धातुको मूर्ति समेत जिम्मा दिने÷लिने सम्बन्धमा भएको हो ।
ख) प्रस्ताव वर स्विकृति ः प्रथमपक्षसँग दोस्रो पक्षले तपसिलमा शर्तबन्देजको अधीनमा रही प्रथमपक्षले निर्माण गरिदिएको स्व.देउबहादुर कन्दङ्बाँ लिम्बू स्मृति द्रष्ट भवन र सो भवनभित्र स्थापना गरिएको धातुको मूर्ति सहितको सम्पूर्ण संरचनाहरु जिम्मा दिनुहोस् भनी राखेको प्रस्ताव तपसिलमा उल्लेख शर्त बन्देजको अधीनमा रही जिम्मा दिने कुरालाई प्रथमपक्ष सारत स्वीकार गर्दछ ।
ग) शर्तहरु ः
१) आजैका मितिबाट प्रथमपक्षले निर्माण गरिदिएको स्व. देउबहादुर कन्दङ्बाँ लिम्बू स्मृति द्रष्ट भवन र सो भवन भित्र स्थापना गरिएको धातुको मूर्ति सहित सम्पूर्ण संरचनााहरु दोस्रो पक्षले हेरी जाँची दुरुस्त रुपमा जिम्मा बुँझि लिएपछि करार सम्झौताको लिखत भएको छ ।
२) आज उप्रान्त उक्त स्व. देउबहादुर कन्दङ्बाँ लिम्बू स्मृति द्रष्ट भवन र सो भवनभित्र स्थापना गरिएको धातुको मूर्ति सहितको सम्पूर्ण संरचनाहरुको रेखदेख, संरक्षण सम्वद्र्धन र आम्दानी घाटा लगायत प्रयोग प्रचलन र दायित्वको सम्पूर्ण जवाफ देहिता दोस्रो पक्षमा अन्तरनिहीत रहनेछ ।
३) प्रथम पक्षको सहमती नलिई दोस्रो पक्षले स्व. देउबहादुर कन्दङबाँ लिम्बू स्मृति द्रष्ट भवन र सो भवन भित्र स्थापना गरिएको धातुको मूर्ति सहितको सम्पूर्ण संरचनाहरु कुनै पनि प्रकारले भत्काउन र हटाउन पाईने छैन ।
४) अन्य कुनै समस्या आएमा दुवै पक्षबसी आपसी समझदारीमा समाधान गरिनेछ ।
५) माथि लेखिएका शर्तहरु दुवै पक्षले हेरी पढी त्यसको परिणाम समेत बुझी थाहा पाई सहिछाप गरि दियौँ ।
घ) दायित्व र क्षतिपूर्ति ः कानुन बमोजिम आफ्नो आफ्नो दायित्व वहन गर्न दुवै पक्ष मन्जुर गर्दछ ।
ङ) अन्य कुराहरु ः सम्झौता शर्त करारनामा गर्ने हामी दुवै पक्षले निम्न लिखित साक्षीहरुको उपस्थितिमा जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा नं. १९ स्थित मुना मदन पथमा बसी लेखबद्ध गरिएको हो ।
प्रथम पक्ष ः नन्द कुमारी लिङ्लेकु कन्दङ्बाँ
दोस्रो पक्ष ः सुवासचन्द्र हुक्पाचोङ्बाङ लिम्बू
साक्षीहरु ः धरान उपमहानगरपालिका वडा नं. १९ बस्ने वर्ष ६७ को दलबादुर कन्दङ्बा लिम्बू
धरान उपमहानगरपालिका वडा नं. ११ बस्ने ७४ वर्षको तिलविक्रम कन्दङ्बा लिम्बू

-morningtimes

सम्बन्धित खवर