उभौलीमा राष्ट्रिय विदा दिन माग - Sainokhabar
  • शुक्रबार, असोज ०८, २०७८

उभौलीमा राष्ट्रिय विदा दिन माग

साइनो समचारदाता

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघले उभौलीलाई राष्ट्रिय पर्वको रुपमा लिई राष्ट्रिय विदा दिन माग गरेको छ । किरातहरुको उभौली चाड र २५६३औं बुद्ध जयन्तीको अवसरमा शनिबार शुभकामना सन्देश दिदै महासंघका अध्यक्ष जगत बरामले उभौलीमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरिएकोमा घोर भत्र्सना समेत गरेका छन् ।

पछिल्लो समय केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उभौली लगायत आदिवासीका चाडहरुमा दिइँदै आएको सार्वजनिक विदा कटौती गरिएको थियो । ‘२०६२÷६३को राजनीतिक परिवर्तनपश्चात आदिवासी जनजातिहरुले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरु यस सरकारले सार्वजनिक विदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै उक्त राष्ट्रिय पर्वहरु यथावत राख्न तथा पुनस्थापित गर्न नेपाल सरकारलाई उभौलीको अवसरमा पुनः जोडदार आग्रह गर्दछौ,’ शुभकामना सन्देशमा भनिएको छ

 

मितिः २०७६/२/४

‘उभौली’ र ‘बुद्ध जयन्ती’को शुभकामना

नेपालका आदिवासी जनजाति किरातीहरूको राष्ट्रिय चाड उभौली (चासुवा, स्याँदर पिदार, साकेला, यक्वा तङ्नाम, युच्याङ, चण्डीपूजा, वायुपूजा, भूमेपूजा)लाई शुभकामना आदानप्रदान गर्दै विश्वभर विविध कार्यक्रमहरू गरेर प्रत्येक वर्ष झैँ यस वर्ष येले तङ्वे ५०७९ (सम्वत् २०७६) वैशाख पूर्णिमामा धुमधामका साथ मनाइरहेको अवगत गराउँदछौं । 
यस अवसरमा विश्वभरका प्रकतिपूजक किराती (मुख्यतः राई, लिम्बू, सुनुवार, याक्खा, थामी, सुरेल, जिरेल, धिमाल, बराम, हायू) आदिवासीहरूले प्रकृति र मानवबीच सुमधुर सम्बन्ध कायम रहोस् भन्ने कामनासहित हर्षोल्लासपूर्ण रुपले मनाउने ऐतिहासिक सांस्कृतिक नेपाली राष्ट्रिय पर्व ‘उभौली’को पुनित अवसरमा विश्वभरका सम्पूर्ण किराती बाबाआमा, दाजुभाइ तथा दिदिबहिनीहरूमा सम्पूर्ण आदिवासी जनजातिहरूको प्रतिनिधिमूलक संगठन नेपाल आदिवासी जनजाति महासंघको तर्फबाट सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र उत्तरोत्तर प्रगतिको कामनासहित हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । साथै, २५६३ औँ बुद्ध जयन्तीको उपलक्ष्यमा पनि सम्पूर्ण नेपालीजन, समग्र देश र विश्व जगतको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछौं ।
उभौलीलाई राष्ट्रिय पर्वको मान्यता प्रदान गरेर दिइँदै आएको एक दिनको सार्वजनिक बिदा पनि आदिवासी जनजातिकै रगत, पसिना, त्याग, योगदान, बलिदान र शहादत्तबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक सरकारले कटौती गरिएकोप्रति महासंघ घोर भत्र्सना गर्दछ । ०६२÷६३ को राजनीतिक परिवर्तनपश्चात् आदिवासी जनजातिहरूले प्राप्त गरेको नेपालको राष्ट्रिय पर्वहरू यस सरकारले सार्वजनिक बिदा खारेजी गरेकोप्रति खेद प्रकट गर्दै उक्त राष्ट्रिय पर्वहरू यथावत कायम राख्न तथा पुनस्र्थापित गर्न नेपाल सरकारलाई यस उभौलीको अवसरमा पुनः जोडदार आग्रह गर्दछौं । 
बहुसांस्कृतिक देश नेपालमा विद्यमान सरकारले महेन्द्रकालिन शासन व्यवस्थाको झल्को दिने गरी एकल सांस्कृतिक सोँच, चिन्तन, नीति र निर्णयको आधारमा आदिवासीको पहिचान, स्वाभिमान, सम्मान, संस्कृतिमाथि गरिरहेको प्रहारको विरुद्ध सम्पूर्ण आदिवासी जनता एकताबद्ध हुन हार्दिक आह्वान गर्दछौं । देशका विभिन्न ठाउँहरूमा मनाउने ऐतिहासिक सांस्कृतिक चाड उभौलीमा परिवर्तनबाट स्थापित उभौलीको सार्वजनिक बिदा पुनःस्र्थापना गरिनुपर्ने मागदाबीसहित आ–आफ्नो ठाउँबाट मनोरञ्जनका साथसाथै एकल सांस्कृतिक कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)का सम्पूर्ण संयन्त्रहरू, आदिवासी जनजातीय सदस्य संगठनहरू, सम्बन्धन संगठनहरू, आदिवासीजन्य संगठनहरू, आदिवासी नेता अभियन्ताहरू र आदिवासी जनजाति जनताहरूमा हार्दिक अपिल समेत गर्दछौं । 
बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, धर्मनिरपेक्ष, समावेशी, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको मूल मर्म र भावनाअनुरुप देशको बहुलता र विविधितायुक्त विशेषतालाई सैद्धान्तिक र व्यवहारिक रुपले आत्मसात गर्दै सबै जातजातिका चाडपर्वहरूलगायत उभौलीलाई पनि राज्य सरकारले समान व्यवहार गरेको अनुभूति दिने गरी राज्यको तहबाट कार्य गर्ने सद्बुद्धि र प्रेरणा मिलोस् भन्ने समेत कामना गर्दछौं ।

जय आदिवासी जनजाति ।

………………………
जगतबहादुर बराम  
   (अध्यक्ष)

— 

सम्बन्धित खवर