बुद्ध जयन्ती - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

बुद्ध जयन्ती

ओमप्रकाश शर्मा “अभिन्न”

 

” बुद्ध ! म तिम्रै प्रतीक्षामा छु ”

बुद्ध ! म तिम्रै प्रतीक्षामा छु
फेरि एउटा नौलो युगको आगमनले
तिम्रा पवित्र वचनहरु बोकेर
नयाँ घाम उदाउने सपना साँचेको छु,
केहि नभएको संसारमा
सबथोक हुनुको आभाष बोकेर
गल्ली -गल्ली हिड्ने पाइला खोज्दैछु
अनि एक्लै रमाउँदै छु त्यही आनन्द भित्र
हो बुद्ध ! म तिम्रै प्रतीक्षामा छु ।

यो तिमी नभएको संसारमा हिज-आज
धर्मको नाममा, श्रद्धाको नाममा
अस्तित्वको व्यापार हुनलागेको छ
तिम्रो संदेश र वचनहरु कुन्ठित छन्
मानवता मानवतासंगै लजाउन थालेको छ ,
मान्छेको गर्भबाट मान्छे
जन्मन सक्दैनन् किन हो हिज-आज ?
आमाको पवित्र काखहरुले
सत्य , धर्म , मायाँ, प्रेमको शीशुलाई
बँचाउन सक्दैन किन हो हिज-आज ?
त्यसैले व्यथित, चिन्तित, विचलित,
बुद्ध ! म तिम्रै प्रतीक्षामा छु ।

अब अबेर नहोस फेरि
संसारको छाती निचोरेर
सत्यको धारा बगाउन,
अधर्मको कालो रातलाई
निर्ममतासंग चिथोरेर
ज्ञानको ज्योति फिँजाउन,
अशान्त हरेक मनहरुभित्र
शान्तिको वचनहरु लेख्न,
मान्छेको गर्भबाट घृणाको,
अन्यायको, हिंसाको गर्भपात गराई
संसार आमाको गर्भभित्र
सत्य, धर्म, अहिंसा, प्रेमको
पुनः गर्भधारण गराउनलाई अब
भनुँ एउटा नयाँ युगको प्रतीक्षामा छु
हो बुद्ध ! म तिम्रै प्रतीक्षामा छु ।

 

सम्बन्धित खवर