रिना मृत्यु प्रकरणमा नगर प्रतिनिधिको चासो - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

रिना मृत्यु प्रकरणमा नगर प्रतिनिधिको चासो


साइनो समचारदाता

पथरी । मोरङको पथरीशनिश्चरे नगरको चासोको विषय वनेको रिना वस्नेत रहस्यमय मृत्यु प्रकरणलाई सुक्ष्म तरिकाले अनुसन्धान गरी चाँडो सत्थ तथ्य वाहिर ल्याउन नगरपालिकाका जनप्रतिनिधिले प्रहरी प्रशासनसँग दैनिक भेटघाटसहितको चासो व्यक्त गरेका छन् ।

नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितका जनप्रतिनिधिले घटनाको सत्यतथ्य चाँडो पत्ता लगाएर नगरवासीको त्रासपूर्ण चासोलाई साम्य पार्न अनुसन्धानमा खटिएको प्रहरी निकायसँग गरिरहेका छन् । पछिल्लो पटक नगर उपप्रमुख वास्तोलाको अगुवाइमा इलाका प्रहरी कार्यालय पुगेको टोलीले डीएसपी नवराज ढुंगानालाई भेटी अनुसन्धानका उपलब्धि सहितका बारेमा जानकारी लिएको छ । घटनाको सत्यतथ्य चाँडो बाहिर ल्याउनका लागि सक्रियतापूर्वक अनुसन्धान अघि बढाउन अनुरोध गरेको छ । सुरक्षा चुस्तता पार्न र अनुसन्धानमा सघाउन नगरपालिका कार्यालय सधैं तयार रहेको नगर उपप्रमुख वास्तोलाले वताइन् ।

गत वैशाख ७ गते विहानै आफ्नै कोठा अगाडि बाटोमा निर्वस्त्र रुपमा मृत अवस्थामा फेला परेकी व्यवसायी रिना वस्नेतको रहस्यमय मृत्युको सम्पूर्ण जाँचको रिपोर्ट आउन वाँकी रहेको प्रहरीको भनाइ छ । घटना हत्या, आत्महत्या या अन्य कुनै दुर्घटना भन्ने यकिन भइनसकेको उल्लेख छ । पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अनुसन्धान क्रमले हालसम्म हत्या भएको कुराको प्रमाण फेला परिनसकेको प्रहरीले जनाएको छ ।
बारम्बार फोन गर्ने प्रेमी भनिएका सुन्दरहरैंचाका कमल नेपाललाई प्रहरीले नियन्त्रणमा लिई म्याद थपेर अनुसन्धान अघि बढाएको छ । रिनाका श्रीमान सन्तोष पनि विदेशबाट घर आएका र उनलाई पनि सोधपुछ भएको छ । दर्जनौं व्यक्तिहरुलाई सोधपुछ गरिएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरीबाट अनुसन्धान व्यूरो सहित जिल्ला र नगरका प्रहरीहरु अनुसन्धानमा खटाइएको उल्लेख छ ।

पथरीशनिश्चरेमा श्रृंखलावद्ध रुपमा भएका आपराघिक घटनाको तुरुन्त सत्यतत्य छानविन तथा डीएसपीको दरवन्दी माग गर्दै विराटनगर आएका संघीय गृहमन्त्री रामबहादुर थापा बादललाई विहीवार नगर प्रमुख दिलिपकुमार राईले ज्ञापनपत्र बुझाए । साथमा प्रहरी प्रमुख सर्बेन्द्र खनालको पनि उपस्थिति रहेको थियो । सो क्रममा प्रदेश गृहमन्त्री हिक्मतबहादुर कार्कीले अस्थाई रुपमा डीएसपीको दरवन्दी व्यवस्थापनको प्रक्रिया अगाडि बढाइएको जनाए ।

सम्बन्धित खवर