कविता: होली खेल्लान - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

कविता: होली खेल्लान


प्रेमप्रसाद संजेल “खतरा“

मित्र
सावधान
तिमी यत्तिकै भ्रष्ट रहिरह्यौभने
जनताले
रातो
तर तात्तातो
अर्कै ढङ्गको
होली खेल्लान
सावधान मित्र
पापीलाई सजाये तोक्ने
गरुड पुराणका
यमदूतले
उभिण्डो पारेर तिमीलाइ
बियोवाला कोलमा
घुुमाई
घुमाई
रगतको तेल
पेल्लान
सावधान मित्र
जनताले देख्दा मात्र
होईन
तिमी आफ्नै मनलाई सोध
तिमी सेबक हौं
शोषक
चुषक
नाशक
शासक
होईनौ
सावधान मित्र
मर्दा तिमीसँग
तिम्रो नामबाहेक
केही साथमा जाँदैन
कालो धनले
तिम्रो
आगामी पुस्ताको पनि
बद्नामी
निश्चित छ
किन खान्छौ
जनताको खुन ?
सगोत्रीको
अप्रत्यक्ष
बिनाशमा
किन निर्लिप्त ?
जो तिमीलाई
तलब दिन
आफूू भोकै बस्छ
उसकै खुन
चुस्न
तिमीलाइ
कत्ति शरम छैन ?
सावधान मित्र
जुकाले
जुकाकै रगत खाँदैन
बरु भोकै मर्छ
आफ्नो जात बार्छ
सन्तानको
रक्षा गर्छ
बंश जोगाउँछ
तर तिमी त
संरक्षकको रगत चुस्छौ
कत्ति ग्लानी हूदैन ?
हिजो एउटा भ्रष्टाचारी
नगदको डस्नामाथि
सुत्थ्यो
सुनले ढाकिएर चल्थ्यो
तर
नियतिको अगाडि
केही सीप लागेन
कुसमयमै
लमतन्न परेर
नगद नारायण
नातापाता
सोनाचाँदी
असरल्ल छोडेर
हठात्
चितामा सुत्यो
के त्यो कालो कमाईले
गुमिसकेको
श्वास प्रश्वास किन्छ ?
सावधान मित्र
तिमीले एक रात
जनताको रगत
रक्सी र मासुमा
साटेको पैसाले
पूरै शहरका
धनी गरिब सबै विद्यार्थीको
एक महीनाको
शुल्क तिर्न पुग्छ
तिमीले
नसा नसाबाट
काईते गरेर
तानेको
गरिब जनताको रगतको
कारणले
कत्तिले ज्यान फाले
सक्छौ
त्यो ज्यान फिर्ता दिन ?
सावधान मित्र
जव पछाडि भाग्ने
जग्गा सकिन्छ
तब
निरीह राँगोले पनि
सिंहमाथि
भीषण आक्रमण गर्छ
सावधान मित्र
नठेल जनतालाई
भित्तासम्म
जब उनले भित्तो आड पाउलान
तव
तिम्रो होस आउला
सावधान मित्र
उस वेलामा
तिम्रो कालो धन
खुदै तिम्रो
महाकाल बन्नेछ
यो तिम्रो
ज्योतिष होईन
न म नै चिना हेर्ने मानिस हु
यो केबल
समयको बिश्लेषण मात्र हो
जुन अकाट्य छ I

 

 वरिष्ठ श्रम अधिकृत (उपसचिव) श्रम तथा रोजगार कार्यालय   विराटनगर

सम्बन्धित खवर