भीष्मराजको नेतृत्वमा अनुशासन समिति - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

भीष्मराजको नेतृत्वमा अनुशासन समिति

साइनो समचारदाता
काठमाडौं । प्रतिपक्षी नेपाली कांग्रेसले केन्द्रीय सदस्य भीष्मराज आङ्दम्वेको नेतृत्वमा केन्द्रीय अनुशासन समिति सोमबार राति गठन गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार केन्द्रीय कार्य समिति बैठकले पार्टी विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३४ (७) अनुसार आङ्दम्वेको संयोजकत्वमा समिति गठन गरेको हो । समितिमा केन्द्रीय सदस्य किशोर सिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् भने दुई जना सदस्य पछि थप गर्ने कांग्रेसले बताएको छ । अनुशासन समिति सर्वसहमतिबाट बनाइएको भनिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहले आफ्ना तर्फबाट सदस्य दिएका छैनन् । नेता पौडेलसँग आइतबार र सोमबार अनुशासन समितिमा रहने सदस्यको नाम माग गरे पनि पौडेलले दिन सकेनन् । सभापति देउवासँग पौडेलले दुई सदस्य र सिटौलाले एक सदस्य आफ्नो समूहबाट हुनुपर्ने माग गर्दै आएका थिए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार दिउँसो २ बजे पुनः केन्द्रीय कार्य समिति बैठक बस्ने जनाए । निर्वाचन समिति गठन, नेपाल विद्यार्थी संघ तदर्थ समिति गठनलगायत एजेन्डामा छलफलका लागि मंगलबार पनि बैठक बस्न लागेको हो ।

सम्बन्धित खवर