तमोर करिडर सडक निर्माणमा भएको अतिक्रमणको क्षतिपुर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग माग - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

तमोर करिडर सडक निर्माणमा भएको अतिक्रमणको क्षतिपुर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग माग

फिपराज बेघा
राजारानी (धनकुटा) । तमोर करिडर सडक निर्माण क्रममा सडक आसपासका जमिन अतिक्रमण गरिएकाले क्षतिपुर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग माग गरिएको छ । यसैगरी बर्तमान ७ प्रदेशको संरचनाले लिम्बूवानको मर्म र भावना नसमेट्ने बताउँदै नेपालको संबिधानमा तत्काल संसोधन गरी अरुण पुर्बको नौ जिल्लालाई समेटेर लिम्बूवान प्रदेश निर्माण गर्न गराउन प्रदेश सरकारलाई पहल गर्न र नेपाल सरकारलाई माग गरिएको छ ।
चैत १ गते सुक्रबार किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले पावरक मावरक (राजारानी), धनकुटामा बसेको २२ औं राष्ट्रिय चुम्लुङ बैठकद्धारा पारित समसामयिक पारित प्रस्ताबहरुको संश्लेषणसहितको विज्ञप्ती जारी गर्दै सो माग गरिएको हो । प्रदेश नं. १ का अर्थ तथा योजना मन्त्री माननीय इन्द्रबहादुर आङबो लिम्बको प्रमुख आथित्यमा भएको बैठक फागुन २९ र ३० गते बसेको थियो । पूर्व मन्त्री रकम चेम्जोङ, पूर्व माननीय टिकाराम चेम्जोङ, लिम्बुवानका नेता कुमार लिङदेन, खगेन्द्र माखिमलगायत स्थानीय राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा ‘आदिवासी लिम्बूहरुको भूमि अधिकार सम्बन्धी मुद्दा’, ‘वर्तमान नेपालको राजनैतिक अवस्था र लिम्बुवान आन्दोलन’, ‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षरण तथा पर्वद्धन कार्यविधी २०७५, ४) किरात धर्म सम्बन्धी छलफल पत्र’, ‘लिम्बु मातृभाषामा शिक्षा, सरकारी कामकाजी प्रयोगमा सम्भावना र चुनौती’, ‘प्रदेश तहमा राज्यको नीति तथा कार्यक्रम र बजेटमा पहुँच’, ‘स्थानीय तहमा राज्यको नीति कार्यक्रम र ‘बजेटमा पहुँच’ विषयक छलफलपत्रहरु प्रस्तुत गरिएको थियो ।
बैठकद्धारा जारी बिज्ञप्तीमा नेपालको पूर्ब क्षेत्रमा रहेको अरुण पूर्बको नौ जिल्ला आदिवासी लिम्बूको पुर्खौली भुमि लिम्बूवान भएता पनि हाल लिम्बूवान भूमिमा बसोबास गर्ने सबै लिम्बूवानबासीको साझा भूमि भएकोले लिम्बुवानमा बसोबास गर्ने सबै समुदायको हितको लागि लिम्बूवान प्रदेश निर्माण गर्नमा सबैै लिम्बूवानबासी एक भई लिम्बूवान प्राप्तीको लागि सकृय हुन अपिल गरिएको छ । संविधानले व्यवस्था गरे बमोजिम प्रदेश नं १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपिलाई प्रयोग गर्न गराउन प्रदेश सरकारसंग पनि जोडदार माग गरिएको छ । मृत्यु संस्कारमा जलाउने भन्दा गाड्ने आदिम प्रचलनलाई प्राथमिकता दिन र मृतकको स्मृतिमा बृक्षरोपण गरी वातावरण संरक्षण गर्न गराउन आव्हन गर्दै, तमोर करिडर सडक निर्माण क्रममा सडक आसपासका आदिवासी लिम्बूहरुको जमिन अतिक्रमण गरिएकाले यसको क्षतिपुर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग माग गरिएको छ । १९ बुदे निर्णय तथा समसामयिक पारित प्रस्ताबहरु निम्न अनुसार रहेको छ ।

प्रेस विज्ञप्ती

मिति २०७५ । १२ । १ पावरक मावरक (राजारानी), धनकुटा, लिम्बुवान

आदरणीय पत्रकार मित्रहरु
किरात याक्थुङ चुम्लुङको २२ औं राष्ट्रिय चुम्लुङ बैठक मिति २०७५ । ११ । २९ र ३० गते पावरक मावरक (राजारानी) धनकुटामा संस्थाका केन्द्रिय अध्यक्ष योगराज वनेम लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कुरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउँदछौ ।
उद्घाटन शत्रको प्रमुख आतिथ्य प्रदेश नं. १ का अर्थ तथा योजना मन्त्री माननीय इन्द्र बहादुर आङबो लिम्बूले गर्नु भएको थियो । पूर्व मन्त्री रकम चेम्जोङ, पूर्व माननीय टिकाराम चेम्जोङ, लिम्बुवानका नेता कुमार लिङदेन, खगेन्द्र माखिम लगायत स्थानीय राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गर्नु भएको थियो । उक्त राष्ट्रिय चुम्लुङ बैठकमा ताप्लेजोङ, पान्थर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, चितवन, ललितपुर, काठमाण्डौं, भक्तपुर जिल्ला समितिहरु र लिम्बुवान प्रदेश समिति, नेवा–ताम्सालिङ प्रदेश समिति, विषयगत संगठनहरु ( लिम्बु सांस्कृतिक परिषद, लिम्बुवान अध्ययन केन्द्र, याक्थुङ सहयोग कोष, कियाचु पुनर्जीवन केन्द्र ), विदेश स्थित किरात याक्थुङ चुम्लुङहरु (हङकङ, साइप्रस, युएई लगायत), बाट प्रतिवेदनहरु प्रस्तुत भयो । उक्त चुम्लुङ बैठकमा संस्थाको संगठन तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन एवम् आगामी नीति तथा कार्यक्रम बजेट माथि छलफल गरी पारित भयो ।
यसैगरी उक्त चुम्लुङमा विभिन्न छलफल पत्रहरु १) आदिवासी लिम्बूहरुको भूमि अधिकार सम्बन्धी मुद्दा, २) वर्तमान नेपालको राजनैतिक अवस्था र लिम्बुवान आन्दोलन ३) ऐतिहासिक तथा पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षरण तथा पर्वद्धन कार्यविधी २०७५, ४) किरात धर्म सम्बन्धी छलफल पत्र, ५) लिम्बु मातृभाषामा शिक्षा, सरकारी कामकाजी प्रयोगमा सम्भावना र चुनौती, ६) प्रदेश तहमा राज्यको नीति तथा कार्यक्रम र बजेटमा पहुँच, ७) स्थानीय तहमा राज्यको नीति कार्यक्रम र बजेटमा पहुँच विषयक छलफलपत्रहरु प्रस्तुत भई तपसिल बमोेजिमको निर्णय तथा समसामयिक प्रस्तावहरु पारित गरिएको जानकारी गराउँदछौं ।

– बर्तमान ७ प्रदेशको संरचनाले लिम्बूवानको मर्म र भावना नसमेट्ने भएकोले नेपालको संबिधानमा तत्काल संसोधन गरी अरुण पुर्बको नौ जिल्लालाई समेटेर लिम्बूवान प्रदेश निर्माण गर्न गराउन प्रदेश सरकारलाई पहल गर्न र नेपाल सरकारलाई जोडदार माग गर्दछ ।
– नेपालको पूर्ब क्षेत्रमा रहेको अरुण पूर्बको नौ जिल्ला आदिवासी लिम्बूको पुर्खौली भुमी लिम्बूवान भएता पनि हाल लिम्बूवान भूमीमा बसोबास गर्ने सबै लिम्बूवानबासीको साझा भूमी भएकोले यहाँ बसोबास गर्ने सबै समुदायको हितको लागी लिम्बूवान प्रदेश निर्माण गर्नमा सबैै लिम्बूवानबासी एक भई लिम्बूवान प्राप्तीको लागी सकृय हुन सबैमा हार्दिक अपिल गर्दछ ।
– वर्तमान नेपालको राजनीतिक अवस्था, संघीय संसद, प्रदेश संसदको प्रतिनिधित्व चित्र, मतदानको स्थिति,, राजनीतिक शक्ति सन्तुलन, आन्दोलनको मनस्थिति र जनताको बुझाई, पहिचान र अधिकार सम्बन्धी मनोविज्ञानलाई विश्लेषण गर्दै लिम्बुवान प्राप्ति आन्दोलनलको लागि नयाँ ढंगले अगाडि बढ्न आवश्यक छ । यसको लागि किरात याक्थुङ चुम्लुङले जागरणको पक्षमा काम गर्ने, समन्वयकारी भुमिका निर्वाह गर्न सक्दछ । आन्दोलन र राजनीतिक संघर्षका लागि पहिचानवादी एवम् लिम्बुवान सम्बद्ध राजनीतिक दलहरुले बृहत मोर्चा बनाई नेतृत्व गर्ने गरी अघि बढनुपर्दछ भन्ने दृष्टिकोण यो बैठक अघि सार्दछ ।
-किरात धर्मको मूल मर्म र मुन्धुमको सारतत्व नै तागेरा निङवाभू माङ हो । किरात धर्मको दर्शन नै मुन्धुम हो जहाँ जीवन र जगत व्याख्या हुन्छ । किरात धर्मको दर्शन मुन्धुम भएकोले मुन्धुममा वर्णित मुन्धुमीय आधारमा कर्मकाण्डिीय अनुष्ठानहरुका साथ फेदाङमा, साम्बा, येवा, युमा, सेवासावा आदिले गर्दै गराउँदै आएका कार्य नै किरात याक्थुङ चुम्लुङले अवलम्बन गरेको ‘‘किरात धर्म’’ हो । धर्मको व्याख्या विश्लेषण आ–आफना छन् । कर्म संस्कार गर्ने तौर तरिकाहरु आ—आफ्नो प्रकारका छन् । यी विविधताहरु मौलिक प्रकृति पुजक, सनातन, युमा, थेबा, सत्यहाङ लगायत विभिन्न पन्थको रुपमा चर्चा परिचर्चा हुने गर्दछन् । यी विविधतालाई समग्रमा समेट्ने गरी किरात याक्थुङ चुम्लुङले धर्मको नामाकरण गर्दा “किरात धर्म” भनी २०४९ सालको महाधिबेशनबाट पारित गरी कार्यान्वयनमा ल्याएकोे छ । राई, सुनुवार, याख्खा, थामी, जिरेल आदिवासी समुदायले तथ्याङ्क र जनगणनामा “किरात धर्म” लेखाएका छन् । यसबाट नेपालमा “किरात धर्म” तेस्रो स्थानमा स्थापित भई नेपाललाई बहुधार्मिक मुलुक बनाउन सफल भएको छ । यसरी किरात धर्म आजको दिनमा आएर जनगणनामा, राज्यस्तरमा, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका तथ्याङ्कहरुमा परिचित, स्थापित र व्यापक भएको छ । अन्य धर्महरुमा पनि विविधताहरु पाइन्छन् र पनि तथ्याङ्क र जनगणनामा धर्मको महलमा एउटै धर्म लेख्दछन्ं । यिनै तथ्यहरुलाई आधार मान्दै लिम्बू समुदाय विविधतामा विभक्त नभई विविधता भित्रको एकतालाई सम्मान गर्र्दै, एकतामा नै अधिकार र बल हुने तथ्यलाई मध्यनजर गर्दै राष्ट्रिय जनगणना, राष्ट्रिय परिचय पत्र र तथ्याङ्कमा लेखाउँदा “किरात धर्म” लेख्न लेखाउन उपयुक्त हुने धारणा यो बैठक व्यक्त गर्दछ ।
-आई.एल.ओ महासन्धी १६९ र आदिवासी अधिकारका लागि संयुक्त राष्ट्र संघको घोषणा पत्रमा उल्लेखित आदिवासी भूमि अधिकारलाई उपभोग गर्ने, लिम्बुवान स्वायत्तता, स्वशासनको अभ्यास गर्ने र यसका लागि बृहत रुपमा अभियान संचालन गर्ने यो बैठक प्रतिवद्धता जाहेर गर्दछ ।
– संविधानले व्यवस्था गरे बमोजिम प्रदेश नं १ को सरकारी कामकाजी भाषाको रुपमा लिम्बू भाषा तथा किरात सिरिजंगा लिपिलाई प्रयोग गर्न गराउन प्रदेश सरकारसंग यो बैठक जोडदार माग गर्दछ ।
– लिम्बूवान भित्रको स्थानीय तह र वडा तहमा सम्भावनाको पहिचान गरी लिम्बू भाषा पठन पाठन गर्न गराउन र लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न गराउन यो बैठक जोडदार माग गर्दछ ।
– धनकुटा जिल्लाको चौबिसे गाउँपालिकामा रहेको ऐतिहासिक स्थल पावरक मावरक (राजारानी) क्षेत्रमा रहेको पावरक मावरकलाई संरक्षण बिकास गरी सांस्कृतिक पर्यटकीय क्षेत्रको रुपमा बिकास गर्न प्रदेश सरकार र संघीय सरकारलाई जोडदार माग गर्दछ ।
– प्रदेश तथा स्थानीय तहमा राज्यको नीति, कार्यक्रम तथा बजेटमा पहुँच र अधिकतम उपयोगका लागि सूचना लिने, क्षमता विकास गर्ने कार्यमा सहभागी हुन लिम्बु समुदाय, कियाचु प्रदेश, जिल्ला र स्थानीय तहका समितिहरुलाई यो बैठक हार्दिक अपिल गर्दछ । र, यस प्रकृयामा प्रदेश तथा स्थानीय सरकारले सहयोगी र सकारात्मक भूमिका निर्वाह गरोस भनी यो बैठक जोडदार माग गर्दछ ।
-किरात याक्थुङ चुम्लुङको केन्द्र आत्म निर्भर अक्षय कोष निर्माणको लागि संस्थाका सवै तहका समितिहरु सकृय भई सफल बनाउन यो बैठक प्रतिवद्धता व्यक्त गर्दछ ।
– आदिवासी लिम्बूको ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षण तथा प्रवद्र्धन गर्न गराउन सरकारकसंग जोडदार माग गर्दछ । याक्थुङ लाजेका महत्वपूर्ण ऐतिहासिक थातथलोको नाम अपभ्रंस भई अनर्थ भएकोमा सच्याई बोर्ड राख्न र आदिवासी लिम्बूको ऐतिहासिक, पुरातात्विक क्षेत्र र समाधिस्थल संरक्षण तथा प्रवद्र्धन लागि बनेको कार्यविधी २०७५ कार्यान्वयन गर्न यो बैैठक प्रतिवद्धता व्यक्त गर्दछ ।
– मृत्यु संस्कारमा जलाउने भन्दा गाड्ने आदिम प्रचलनलाई प्राथमिकता दिन र मृतकको स्मृतिमा बृक्षरोपण गरी वातावरण संरक्षण गर्न गराउन यो चुम्लुङ बैठक हार्दिक आव्हन गर्दछ ।
– तमोर करिडर सडक निर्माण क्रममा सडक आसपासका आदिवासी लिम्बूहरुको जमिन अतिक्रमण गरिएकाले यसको क्षतिपुर्ति तत्काल उपलब्ध गराउन नेपाल सरकारसंग यो चुम्लुङ बैठक जोडदार माग गर्दछ ।
– मोेरङ जिल्लाको पथरी शनिश्चरे नगरपालिकामा प्रदेश नं. १ को नीति तथा कार्यक्रममा जातीय संग्राहलय निर्माण गर्ने भनिएकोमा हाल आएर साँस्कृतिक ग्राम निर्माण गर्ने भनी प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले ल्याएको अवधारणको घोर विरोध तथा आपत्ति प्रकट गर्दै प्रदेश नं. १ को नीति तथा कार्यक्रममा भएको जातीय संग्राहलय नै कायम गर्न यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
– याक्थुङ (लिम्बू) वालवालिकाको संख्याको आधार भन्दा पनि याक्थुङ बस्तीको आधारमा लिम्बू भाषाको पठन पाठन सुरु गराउन एवम् यसका लागि शिक्षक दरवन्दी व्यवस्था गर्न प्रदेश र स्थानीय सरकार समक्ष यो बैठक जोडदार माग गर्दछ ।
-पान्थर जिल्लाको फाल्गुनन्द गाउँपालिकाले लिम्बू भाषा पठन पाठनको लागि शिक्षक दरवन्दी सिर्जना गरी लिम्बू भाषामा पठन पाठन शुरु गरेको र इलाम जिल्लाको माङसेबुङ गाउँपालिकाको वडा नं. ५ मा लिम्बू भाषालाई सरकारी कामकाजी भाषाको रुपमा प्रयोग गर्न शुरु गरेको कार्यलाई उच्च मूल्याङकन गर्दै धन्यवाद ज्ञापन गर्दछ । यसैगरी लिम्बुवानका सम्पूर्ण स्थानीय सरकारहरुलाई गर्न गराउन यो राष्ट्रिय चुम्लुङ जोडदार माग गर्दछ ।
-आदिवासी लिम्बू समुदायका स्थापित व्यक्तित्वहरु, लिम्बू र लिम्बुवानका लागि अहोरात्र खटिरहेका ब्यक्ति ब्यक्तित्व, संघ संस्था र संगठनलाई सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमहरुमा आपत्तिजनक, अवास्तविक, अस्वस्थ्य र अमर्यादितढंगले लेख्ने, होच्याउने, निरुत्साहित गर्ने कुनै पनि कार्यले लिम्बू समुदायको बिकास र लिम्बूवानको राजनीति निर्माणलाई अन्ततः कमजोर पार्दछ भन्ने धारणाका सहित यस्तो कार्य नगर्न नगराउन सम्पूर्ण दाजुभाइ दिदिबहिनीहरुलाई यो बैठक अनुरोध गर्दछ । साथै यस्तो कार्य नगरी लिम्बू र लिम्बूवानको हितका लागी कुनै पाटोबाट हुन नसकेको कामहरु पुरा गर्न अर्को पाटोबाट अझ रचनात्मक र सिर्जनात्मक कामहरु गर्न गराउन यो बैठक हार्दिक अपिल गर्दछ ।
-धन्यवाद प्रस्ताव—कियाचु धनकुटा जिल्ला समिति, कियाचु चौविसे गाउँ पालिका समिति, व्यावस्थपन उप समितिहरु, अथिति कलाकारहरु मनु नेम्बाङ, कन्चन थलङ, यादन सेर्मा, डिल्ली फुरुम्बो, लिम्बू सांस्कृतिक परिषद सुनसरी, चौविसे गाउँपालिका सरकार, चौविसे गा.पा. वडा नं ७ को मिङसो युवा क्लव मौनावुदुक, चौविसे गा.पा. वडा नं ६ को पुन्य मा.वि., व्यावस्थापनमा खट्ने सम्पूर्ण स्वयम् सेवकहरु, गोर्खा फाइनान्स, पावरक मावरक (राजारानी) को होटल व्यवसायीहरु सवैलाई यो राष्ट्रिय चुम्लुङ धन्यवाद प्रस्ताव पारित गर्दछ ।

……………………………
महासचिव
(निरन्ती तुम्बापो)
किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्य समिति

सम्बन्धित खवर