अँध्यारोमुक्त लेटाङ नगरपालिका बनाउने केन्द्रीय योजनालाई सफल बनाउन सहजीकरण गर्ने योजना बनाएकी छु । - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

अँध्यारोमुक्त लेटाङ नगरपालिका बनाउने केन्द्रीय योजनालाई सफल बनाउन सहजीकरण गर्ने योजना बनाएकी छु ।


कृष्णाकुमारी पोखरेल निरौला
उपप्रमुख, लेटाङ नगरपालिका
कृष्णाकुमारी पोखरेल निरौला, पूर्वोत्तर मोरङका लागि स्थापित नाम हो । स्थानीय निर्वाचनमा तत्कालीन नेकपा (एमाले) को तर्फबाट लेटाङ नगरपालिकाका लागि उपप्रमुखको उम्मेदवार छनौट हुनुभएकी उहाँ प्रतिपक्षीय नेपाली काङ्ग्रेसको घन मतलाई उछिन्दै पदास्थापित हुनुभएको छ । मोरङभरिमा निर्वाचित महिला उपप्रमुखहरूमध्ये औसत कम उमेर समुह अन्तरगत अग्रणी देखिनुहुने उहाँले पूर्ववर्ती एमाले निकट विद्यार्थी संगठन– अनेरास्ववियु, युवा संघ नेपाल, अनेमसंघ हुँदै पार्टी काममा क्षेत्रीय कमिटीको विभिन्न जिम्मेवारी निर्वाह गरीसक्नुभएको छ ।
संविधानले परिकल्पना र व्यवस्थापन गरे अनुसार स्थानीय अदालतको समेत कार्यसम्पादन गर्नुपर्ने उपप्रमुखका रूपमा उहाँले गर्नुभएका स्थानीय स्तरका तमाम न्यायिक काम, काम गर्दा प्राप्त अनुभवहरू, दलगत मिश्रित अवस्थामा रहेको उहाँको कार्यपालिका, यसका सजिला–असजिला पक्षहरू र आगामी योजनाका सन्दर्भमा गरिएको गफगाफ ;

हिजोआज के गर्दै हुनुहुन्छ ?
मेरो परिभाषित कार्यभार अथवा जिम्मेवारी स्थानीय स्तरमा न्याय सम्पादन गर्नु हो । योबाहेक स्थानीय स्तरका तपाईं सेवाग्राही अथवा आममतदाताका अपेक्षाअनुसारका विकास निर्माणका तमाम मुद्दाहरूको खाका कोर्ने, हाम्रो नगरको कार्यक्षमता र बजेट अनुसार यी विषयवस्तुहरूको कार्यान्वयनका सवालमा विषय जानकार व्यक्तित्वहरूसँग प्रशस्तै विमर्श गर्ने, आवश्यक बहस र पौरवी गर्ने गरेकी छु । मूलतः यिनै विषयवस्तुहरूको गृहकार्य र कार्यान्वयनका लागि आफूलाई ब्यस्त राखेकी छु ।

यसबीचमा कत्तिको आनन्द आर्जन गर्नुभएको छ ?
पार लगाउछु भनेर नदीमा हाम्फालेपछि पौडिनु अनिवार्य छ । नत्र, के हुन्छ ? कसैले सोध्ने र सवालजवाफ गर्ने कुरा होइन यो । परिभाषित र निर्धारित काममा दत्तचित्त भएर लागेकी छु । हिजोका हाम्रा प्रतिबद्धता र स्थानीय जनाकंक्षाहरूलाई मसिनो गरी हेक्का राखेकी छु । झण्डै दुइटा वर्षहरू बित्न लागे । सुरूसुरूका दिनहरू हाम्रा लागि सिकाइका दिन रहे । अब अभ्यस्त भैयो । अब त जनताको काम अनिवार्य दिनचर्याझैं भएको अनुभूति हन्छ । कहिलेकाँही नीजि कामले अलिक ओरपर भए भने मलाई त जनमत अनुसारका यी कामको पो पीर बढी हुन्छ । ला, आज मेरो अनुपस्थितिले केही बिग्रियो कि ! यस्तो हुने गर्दछ । यसलाई आनन्द आएको भन्नुपर्ला, होइन र ?

ग्रामीण क्षेत्रको महिला नेतृ तपाईं ! यसबीचमा परिवारबाट कस्तो सहयोग पाउनुभएको छ ?
हेनुस्– परिवार हुन्न्थ्यो भने म यहाँसम्म आइपुग्न सक्ने नै थिइनँ । आज मात्र होइन, हिजो पार्टी कामका कहालीलाग्दा दिनहरूमा पनि मैले परिवारको ठूलो सहयोग पाएकी छु । मेरो आजको ब्यस्त दिनचर्यामा उहाँको हर्दम सद्भाव रहेको छ । सफलता÷असफलता तपाईं सेवाग्राहीले भन्नुहोला ! अथवा भोलीका दिनमा पूनः आयोजन हुने जनमत भन्ला ! तर, मेरो यो हैसियत निर्माण गर्ने कुरामा रहेको योगदानका कारण परिवारलाई सम्झिरहन चाहन्छु । मलाई आमजनताको मान्छेका रूपमा निर्माण गर्ने कुरामा पार्टी परिवार र पार्टीका स्थापित नेतृत्वलाई स्मरण गर्दछु ।

तपाईं स्थानीय अदालतको न्यायाधिस पनि ! के–कस्ता वरविवाद र मुद्दाहरू तपाईंको टेबलमा आउने गर्छन् ?
थाहा छैन– अरू पालिका सरकारमा के–कस्ता वरविवादहरू आउने गर्छन् । तर, यहाँ अलिक भिन्न ढंगका समस्याहरू छन् नै । समस्या अनुसारका जनाकंक्षाहरू छन् । जनताको चेतनाको मापन पनि शतप्रतिशत उठ्न उठाउन सकिएको छैन । यहीं अनुसारका समस्याहरू टेबल हुने गर्दछन् । जस्तो ः– साँधसीमाको झगडा, अंशबण्डा झगडा, सधियार मिचाइका झगडा, पशुपंक्षीद्वारा सिर्जित झगडा, बालश्रमसँग सम्बन्धित झगडा, ज्याला मजदुरीको झगडा, गालीबेइजतीसँग सम्बन्धित झगडा, बृद्धबृद्धा असुरक्षाका पक्ष, लेनदेनको झगडा, परस्पर कुटपिट, यौनजन्य घरेलु झगडा, सामाजिक झैझगडा, श्रीमान–श्रीमती सम्बन्ध बिच्छेदको अवस्था आदि आउने गर्दछन् । यसलाई न्यायिक समितिमा रहेको हामी जिम्मेवारले जिम्मेवारीपूर्वक फायलिङ गर्ने, तदानुकूल समय मिलाएर हेर्ने, कतिपय विवादहरूलाई वडा–वडामा गठित सम्बन्धित वडा मेलमिलाप केन्द्रमा पठाउने गरेका छाँै ।

यतिविघ्न समस्यालाई कसरी हल गर्ने गर्नुहुन्छ ?
हेनुस्– हामीले भनेको कोमाथि उजुर हाल्ने र कस्ले उजुर हाल्ने, यी दुबैलाई अथवा हाम्रो भाषामा पहिलो पक्ष र दोस्रो पक्षबीच परस्पर रहेको असमझदारीको दूरी छोट्याउने, दुबै पक्षलाई नजिक्याउने र मेल गराउने हो । सम्बन्धित दुइपक्षबीच मेलमिलापको माध्यमबाट समाधानको उपाय खोज्ने हो । मेलमिलाप आफैमा सर्वोत्तम व्यवहारित कला हो । यसले दुबै पक्षलाई न्याय पाएको अनुभूति दिलाउछ । मेलमिलापको न्याय ‘गिभ एण्ड टेक’ को व्यवहारिक दर्शनमा आधारित हुन्छ । यसको पूर्णतः प्रयोग हुन्छ । यसले दण्डसजाय वा कसुर अनुसार चार्ज गर्न सक्दैन । मिलाउन सक्नेसम्मका विषयवस्तुहरूलाई परस्परमा सहमति समझदारी विकास गरेर मिलाउने प्रयत्न गछौं । नसकिएका विषयवस्तुहरूलाई कानुनी उपचारका लागि अदालत जान रायसुझाव दिने वा विषय सरकोरवालासँग जोड्दिने गर्छौं ।

यसबीचमा न्याय सम्पादन र विकास–निर्माणका मुद्दाहरू उठान गर्दै रहँदा के–कस्ता अनुभवहरू हासिल गर्नुभएको छ ?
न्याय सम्पादनसम्बन्धी धेरै कुरा आइसके । विकास–निर्माणका मुद्दाहरूको उठान र कार्यान्वयनका सन्दर्भमा मेरा भिन्न अनुभूतिहरू छन् । शायद यस्तो मैले पालेजस्तो अनुभूति अन्यत्र कहीं नहोला ! स्थानीय सेवाग्राहीले काट्तै आएको सास्तीलाई ध्यान दिँदै फुस्का छाना हटाऊ अभियानलाई प्रभावकारी ढंगले जोड्न हामीले कार्यापालिका मिटिङद्वारा योजना अघि सा¥यौं । आवश्यकताका बाबजुद नगरले लिनुपर्ने गाडी सुविधा बराबरको रकमलाई पनि यसै अभियानमा जोड्यौं । आश्चर्य लाग्छ– अहिले यसलाई कसैले एकलौटी श्रेय लिने प्रयत्न गरेको यदाकदा म सुन्छु । अर्को कुरो के हो भने नगरप्रमुख र उपप्रमुख दुई भिन्न राजनीतिक आस्था राख्ने दलसम्बद्ध छौँ । यसकारण पनि यो स्वभाविक हो कि निर्वाचनताका हाम्रा भिन्न–भिन्न मान्यता, दलगत योजना र घोषणाहरू थिए । म त्यो दलगत मान्यता र जारी भएको घोषणपत्रमा आधारित भएर काम गर्न खोज्छु, योजना पेश गर्छु । यो मेरो स्वच्छिक कुरा भएन । पार्टीले जनताको पक्षमा काम गर्न पठाएको मानिस म । अहिले यस नगरका लागि उपप्रमुखका हैसियतले क्रियाशील छु । यस अर्थमा म भुइफुट्टा होइन । मेरो जवाफदेहिता र उत्तरदायित्व छ । यहीं कारणले हुन सक्छ– मेयर साहबसँग कतिपय बेला नीतिगत विषयहरूमा बिमति रहने गर्दछ । संवैधानिक विषयहरूमा बिमति रहने गर्दछ । व्यवहारिक पक्ष कमजोर प्रतीत हुन्छ । उहाँले कुरा नबुझनुभएको हो कि पुरूषवादी मानसिकताको उपज हो– उपप्रमुखको संवैधानिक व्यवस्था, पद, मर्यादा, हैसियत, जिम्मेवारी आदिको पक्षलाई उहाँले मेयरमातहत बुझ्ने गर्नुभएको छ । सेवा, सुविधा, कार्यालय सञ्चालन र व्यवस्थापन हिजोको अञ्चलाधिश टाइपको हुने गरेको देखिन्छ कहिलेकाँही । तथापि, आफै न्यायिक समिति प्रमुख, न्याय भएन भनेर कहाँ जाने ? यी असजिला र बिमतिका पक्षहरूलाई मिलाएर लाने प्रयत्नमा छु ।

यो प्रयत्नसँगै आगामी योजनाहरू के–कस्ता छन्, उपप्रमुखज्यू ? विगतका योजनाहरूको अध्ययन अनुगमन गर्ने, कति योजनाहरू कार्यान्वयनमा आउन सके वा सकेन् ? किन सकेनन् ? सोको अध्ययन गर्ने, नीतिगत ती योजनाहरूको प्रभावकारी कार्यान्वयन के–कस्तो रह्यो ? यसले के प्रभाव छाड्न सक्यो ?

अध्ययन गर्ने, नयाँ र आवधिक योजनाहरूको माग गर्ने आदि पक्ष मूलभूत पक्षहरू हुन् भने अबका दिनका लागि संघीय सरकार र प्रदेश सरकारका नीतिगत रूपमा घोषित कार्यक्रमलाई यस क्षेत्रमा ल्याउन प्रयत्न गर्ने, खासगरिकन शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा आमजनताको पहुँच अनिवार्य स्थापित गर्ने कुरामा भूमिका खेल्ने, बालश्रममुक्त र बृद्धबृद्धा सम्मानयुक्त नगरको रूपमा लेटाङलाई विकास गर्न भगिरथ प्रयत्न गर्ने, यस क्षेत्रलाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने, यौनहिंसामुक्त नगर र अपांगमैत्री नगरको रूपमा लेटाङलाई मोरङकै अब्बल बनाउन योजना तर्जुमा गर्ने र कार्यापालिकामा लैजाने, खानेपानीको समस्या दूर गर्न नीति कार्यक्रम र उल्लेख्य बजेट अघि सार्ने, हाम्रोमा उपचार अभावका कारण बाल मृत्युदर र गर्भवती महिलाको मृत्युदर अहिले पनि उल्लेख्य छ । यसलाई न्युन गर्दै चाँडै अन्त्य गर्नका लागि सुविधासम्पन्न उपचार केन्द्र निर्माण गर्ने, यहीं गर्भवती महिला तथा मातृ स्याहारसम्भार केन्द्र सञ्चालनमा ल्याउने, बेरोजगारी समस्यालाई अन्त्य गर्ने दीर्घकालीन उद्देश्य अनुरूप प्राविधिक कृषिमा जोड दिने, निर्वाहमुखी कृषि र कृषि उत्पादनलाई बजार र नाफामुखी कृषि बनाउने, उत्पादित वस्तुको उपयुक्त दरभाउमा बजारीकरण गर्ने, सहकारी कृषिमा अनुदानको प्रबन्ध मिलाउन सहयोगी संयन्त्रहरूलाई नगरसँग सहकार्यका लागि दातृ संघसस्थाहरूसँग आव्हान गर्ने, प्रत्येक गाउँलाई स्थानीय शहरबजारसँग जोड्न आवश्यक बाटो, ग्राभेल बाटो, कालोपत्रे, पुल, कल्भर्ट आदिको अभिलम्ब जोहो गर्ने आदि विषयहरू योजनाका रूपमा अघि सारेकी छु । योसँगै प्रदेश सरकारको प्रस्तावित जाँतेलाई पथरीसँग जोड्ने, वारङ्गीलाई लेटाङसँग जोड्ने, बेलबारीलाई पर्यटकीय क्षेत्र राजारानीसँग जोड्ने र अँध्यारोमुक्त लेटाङ नगरपालिका बनाउने केन्द्रीय योजनालाई सफल बनाउन सहजीकरण गर्ने योजना बनाएकी छु ।

अन्त्यमा भन्दिनुस् न– स्थानीय स्तरमा तपाईं पार्टीको स्थापित नेतृ पनि । अहिले तपाईंको पार्टी एकता प्रक्रियामा छ । यो एकता प्रक्रिया कहाँ पुग्यो ? के हुँदैछ ?
कतिपय सवालमा भिन्न मान्यताहरू राख्ने हाम्रा दुइटा ठूला कम्युनिष्ट पार्टीहरू एक भएका छन् । पार्टी अध्यक्ष नेता केपी शर्मा ओली नेतृत्वको वर्तमान संघीय सरकारले पाएको जनमत कम्युनिष्ट पार्टीबीचको एकता, एकताको आवश्यकता र यसको अनुमोदनका लागि पनि हो । म एकताको पक्षपाती पार्टी कार्यकर्ता । मलाई यो बेलामा असाध्यै खुशी लागेको छ । यो एकताको प्रक्रिया तलसम्म आइपुग्न केही समय लाग्छ । यद्यपि, प्रक्रिया आरम्भ भएको छ । केटाकेटीको कबड्डी खेलजस्तो भए पो अहिले एकता भइहाल्छ त । समय त लाग्छ नि ! फेरी यो कम्युनिष्ट पार्टी । यसका आफ्नै विधि र विधि व्यवस्थापनका पक्षहरू छन् । कसैका रहर हुने हो र ? एकता न कसैको रहरले हुन्छ, न लहडले हुन्छ । यो त आवश्यकताले हुने हो । आवश्यकताको राजनीतिक मनोविज्ञानले निर्धारण गर्ने हो । परिपक्वता सहित एकता भएको छ । कमिटीगत जीवन प्रणाली तलसम्म चल्न अब केही समय लाग्छ । बाहिरफेर आएजस्तो हल्लाको अवस्था हाम्रो पार्टीभित्र छैन । जिम्मेवारीबोधका साथ अघि बढेका अघि बढेका कम्युनिष्ट पार्टीका कार्यकर्ताले हल्ला चिर्ने छन् र समाजवादको आधारशीला निर्माण गर्दै अघि बढेको कम्युनिष्ट पार्टी नेतृत्वको यो सरकारलाई जनताको समृद्धिसँग जोडेर गन्तव्य निक्र्यौल गर्ने छन् । म यसमा ढुक्क छु ।

-भूमिप्रसाद पाठक

सम्बन्धित खवर