नगर अधिवेशन - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

नगर अधिवेशन


साइनो समचादाता

दमक । संघीय समाजवादी फोरम नेपाल दमक नगर समिति झापाले नगरभित्रका विभिन्न वडाहरुमा संगठन सुदृढीकरण तथा अधिवेशनको कार्यलाई तीव्रता दिएको छ । वहुसङ्ख्यक वडाहरूको अधिवेशन पश्चात यहि सोमवार दमकको किरात भवनमा पार्टीका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा ससफो दमक नगरपालिकाको दोस्रो अधिवेशन पनि सम्पन्न भएको छ ।
दमक नगर समितिका अध्यक्ष वासुदेव राईको अध्यक्षतामा सम्पन्न अधिवेशनको उद्घाटन गर्दै पार्टीका सहअध्यक्ष तथा प्रतिनिधिसभाका सदस्य मा. राजेन्द्र प्रसाद श्रेष्ठले नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रूपमा सङ्घीय समाजवादलाई अंगालेको बताउँदै ससफो नेपाल नेपाली काङ्ग्रेसभन्दा लोकतान्त्रिक र नेपाल कम्युनिष्ट पार्टीभन्दा क्रान्तिकारी पार्टी भएको बताए । नेता श्रेष्ठले नयाँ युगको परिवतनकारी एजेन्डाहरू राष्ट्रिय पहिचान सहितको सङ्घीयता, समानुपातिक समावेशीकरण, समावेशी लोकतन्त्र, प्रादेशिक स्वायत्तता, वहुलतायुक्त राष्ट्रवाद जस्ता नवीन मान्यताहरू काङ्गेस र नेकपाले बोक्न नसक्ने भएकाले अब उत्पीडित राष्ट्रियताहरूको पहिचान र देशको समृद्धिका लागि एक मात्र विकल्प ससफो भएको बताए । प्रधानमन्त्री ओलीकै गृह जिल्लामा गएर उनले भने, ‘ओलीले साम्यवादको नाममा हिन्दुवाद र नश्लवादलाई प्रोत्साहित गरेको छ । राप्रपाले संवैधानिक राजतन्त्र, हिन्दूराज्य र एकात्मक राज्यको पुनर्उत्थानका लागि गर्ने भनिएको तथाकथित हिन्दू स्वाभिमान यात्रालाई शुभकामना दिनु यसको प्रमाण हो ।’
पूर्वमन्त्री समेत रहेका श्रेष्ठले ससफोले जस्तो समाज उस्तै राज्य बनाउन चाहेको भन्दै त्यसका लागि पार्टीहरू पहिला समानुपातिक समावेशी हुनुपर्ने बताए । उनले भने, ‘पुराना पार्टीहरू समानुपातिक समावेशी नभएकाले नै देश संघीय गणतन्त्र घोषणा हुँदा समेत राज्य समावेशी र सबैको साझा बन्न नसकेको हो ।’

सम्बन्धित खवर