मातृभाषामा गुञ्जिए बेलायती कविहरू - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

मातृभाषामा गुञ्जिए बेलायती कविहरू


साइनो समचारदाता
२१ फेब्रुअरी, आसफोर्ड(बेलायत) । आसफोर्डको चिसोलाई लत्याउँदै बिहीबार साँझ एक हूल कविहरू गोरखा भिल्लामा जम्मा हुँदै थिए । अन्य बेलाभन्दा यसपटकको जमघट विशेष पनि थियो । विश्व नेपाली साहित्य महासङ्घ, साउथ यूकेले बीसौँ अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा बहुभाषिक सिर्जना वाचन कार्यक्रमका लागि हप्तादिन अघि नै निम्ता दिइसकेको थियो । मातृभाषिक रचना पस्कने क्रममा कवि अमित थेवे याक्थुङ(लिम्बु) भाषामा यसरी पोखिन सुरु गरे ।
‘तो?मा नेमाल्ले खाम्नुल्ले उनाहुरीबा
अम्मार पप्माल्ले सिगप्नुल्ले काप्पोबा
हेक्कयाङ
केसामी खे?दानुल्ले तुम्बा
कन् याम्नाराहा?
थ्याङ मिक्सिक्काङ मेन्धोप्पिन् ?’
‘सेल्लेङ्गो (ऐना)’ शीर्षकको कवितामार्फत् कवि थेवेले देशमा सीमान्तकृतहरूले आफ्नो अनुहार खोजिरहेको दर्शाए । साठीको दशकयता नेपाली साहित्यमा पहिचान साहित्यले हस्तक्षेप गरिरहेको उनको कथन थियो । उनीलगत्तै थुलुङ ब राई भाषाबाट जोडिए सर्वधन राई ।
हेलायो,
थुलुङच्यो साउखोरोमिम् मिध्ल्वापा दोप्मा मिल्वासिमि
बान्त्यो मेसी ज्योपा ज्योपा काम् ल्वामिम् नुङ …
कवि राईले सोलुखूम्बूका गाउँहरूले अझै पनि आफूलाई तानिरहेको भन्दै शब्दहरूमा भावुकता झल्काए । इको साहित्यको वकालत गरिरहेका कवि विजय हितानले ढुट मगर भाषामा समुदायका आदिकवि जीतबहादुर सिञ्जाली मगरलाई सम्झे ।
कामना ज्याच न ठावाङ,
कापाठी गाले नि होस नावाङ
यसैगरी, कवि लाहाङ चेम्जोङले खस नेपाली भाषामा ‘आन्दोलनको मोर्चाबाट सम्ँिझदा’ शीर्षकमा कविता सुनाए । प्रवासमा रहेकी प्रेयसीलाई कल्पेर स्वदेशमा परिवर्तनका लागि सडक तताइरहेका युवाको सुन्दर मनोभाव उनले कवितामा उतारे । विश्व नेपाली साहित्य महासङ्घका निवर्तमान अध्यक्ष विश्वासदीप तिगेलाले अङ्ग्रेजीमा ‘आई ए साइनपोष्ट’ शीर्षकमा रचना वाचन गरे । कार्यक्रममा विनेसाम, साउथ यूकेका महासचिव थिर थापा मगर, प्रवासी साहित्य समाजका जितेन्द्र चेम्जोङ, मणिराज आङबुहाङलगायत उपस्थित थिए । यसअघि, कार्यक्रमका संयोजक थेवेले मातृभाषा दिवस र बहुभाषिक सिर्जना वाचनको औचित्यबारे संक्षिप्त धारणा राखेका थिए ।
सन् १९९९ मा संयुक्त राष्ट्र संघको शैक्षिक र साँस्कृतिक विषय हेर्ने निकाय यूनेस्कोले फेब्रुअरी २१ तारिखलाई अन्तर्राष्ट्रिय मातृभाषा दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । जुन सन् १९५२ मा बंगलादेशको ढाका विश्वविद्यालयमा भएको भाषिक आन्दोलनका क्रममा सहिद भएकाहरूका सम्मानमा घोषणा गरिएको थियो । यूनेस्कोका अनुसार विश्वमा ३७ करोड आदिवासीका करिब सात हजार भाषा अस्तित्वमा छन् । सन् २०१९ को नारा विकास, शान्ति स्थापना र मेलमिलापका लागि आदिवासी भाषा भन्ने रहेको छ ।

सम्बन्धित खवर