कविताः सेल्लोक्वा चरी - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

कविताः सेल्लोक्वा चरी

सन्जित फलना

सन्जित फलना
सेल्लोक…. सेल्लोक
रुखको हाँगामा बसेर
धरतिको लोक गीत गाइरहन्छ सेल्लोक्वा चरी

जङ्गलको झाँडिभित्र
कुहिरोहरुले हराएर
तुवाँलोहरुले छेलिएर
सेल्लोक्वा चरीले गीत गाएपछि नै
घरक्क उघारेर आकासको पुरानो ढोका
बिस्तारै आउँछ घाम बस्ीतहरुमा

बिउँझन थाल्छन एकाएक
शान्तिको तपस्यामा बसिरहेका पहाडहरु
संघर्सको गीत गाउँदै बगिरहने नदीहरु
बसन्तको स्वागतमा उभिरहने रुखहरु
सैसला खेल्दै डुलिरहने बतासहरु

पखेटाहरुको रिल टागेर आकासमा
नाच्दै नाच्दै उड्न थाल्छन खुसीका छिचिमिराहरु

ओथारो बसेका बादलहरु
आँगनीमा निस्किएर
लुकिडुम खेल्न थाल्छन आफ्नै छाँयासँग
दोबाटोमा अल्मलिरहेको वसन्त
चुल्ठोमा फुल सिउरेर
नाच्दै डुल्न थाल्छ्न पाखाभरी
जाग्न थाल्छन उज्यालो बिहानीका कलिला ओठहरुमा

सेल्लोक्वा चरिले गीत गाएपछि नै
गीत गाउँछन मान्छेहरुले पनि
लेकबेसी धाउँदा
सैसला हाल्ने उकाली ओरालीको देउरालीहरुमा
मेलापात धाउँदा खुइय हाल्ने चिप्लेटी ढुङ्गाहरुमा
पात बजाउदै गीत गाउने चौतारीहरुमा
जहाँ जहाँ हिड्छन मान्छेहरु
गुन्जिन्छन त्यहिँ सेल्लोक्वा चरीका गीतहरु

राता राता सिमलको बोटहरुमा
खोला बगरमा
सेल्लोक्वा चरिले गीत गाएपछि नै
सकुसल फर्किन्छ समयको लय

झिसमिसेमा
बन्चरो बोकेर जङ्गल पस्दै गरेको ए मानिस!
सेल्लोक….. सेल्लोक…..
जब सेल्लोक्वा चरी कराउन छाड्छ
त्यो दिन बस्तीहरुमा
सदाको निम्ति घाम उदाउन छाड्छ।

समाप्त

सेल्लोक्वा– न्याउली

सम्बन्धित खवर