नामाङ्कन फागुन भित्रमा टुङ्गो लाग्छः मूख्य मन्त्री राई - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

नामाङ्कन फागुन भित्रमा टुङ्गो लाग्छः मूख्य मन्त्री राई


साइनो समचारदाता
पथरी । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले फागुन महिना भित्रमा प्रदेशको नामाङ्न र सिमाङ्कन टुङ्गो लगाउने बताएका छन् । ‘यो अधिबेशनको मूख्य कार्य सूचि प्रदेशको नामाङनको विषय हुनेछ। र हामी यहि फागुन भित्रमा प्रदेशको नामाङ्कनको विषय टुङ्याउने छौं ।’ उनले भने, ‘छलफल र बहसको क्रममा छौं ।’ प्रदेश सभामा रहेको पाँच दलबीच हिउदे अधिबेशनले टुङ्गो लगाउने सहमति भएको बताउँदै मुख्य मन्त्रीले सहजीकरणको भूमिका खेलिरहेको दाबी गरेका छन् । प्रदेश सभाको हिउँदे अधिबेशन माघ २० गतेदेखि सुरु भएको छ । किरात राई यायोक्खाले एक नम्बर प्रदेशको नाम किरात राख्न खेलिरहेको भूमिका बारे आफू जानकार रहेको बताउँदै उनले किरात प्रदेशको सम्मान सबैले सम्मान गर्दै आएको अवगत गराए । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाले करिव एक दशक देखि पूर्वी नेपालको १७ वटा जिल्लालाई भूगोल, इतिहास, सभ्यताको सम्मानको लागि प्रदेशको किरात राखिनु पर्ने माग गर्दै प्रचारात्मक अभियानहरु सञ्चालन गर्दै आएको छ ।
किरात राई यायोक्खा मोरङको सोमबार पथरीमा भएको छैठौं जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सो कुरा बताएका हुन । किरात शब्द, विचार वा नामको आधारमा सवैले सम्मान गरिरहेको आफूले बुझेको मुख्यमन्त्रीको भनाइ थियो । नेपाल भनेपछि हिमाल, पहाड र तराई सम्पूर्णक्षेत्रलाई समेटे जस्तै यो अखण्डतालाई अझ बलियो बनाएर लानुपर्ने मन्त्री राईको भनाई थियो ।
मोरङको पथरीशनिश्चरे—१० मा बन्न लागेको संग्राहलयको बारेमा भइरहेको बहस बारे आफू अपडेट नभएको बताए । प्रदेश सरकारले अन्तराष्ट्रियबाट पनि पर्यटन तान्न सक्ने प्रकारको महासंग्राहलय बनाउन लागेको बताए ।
कार्यक्रमको बिशिष्ट अतिथि रहनु भएको यायोक्खा केन्द्रीय अध्यक्ष तिलकप्रसाद राईले १ नम्बर प्रदेशको नाम किरात नभए कडा आन्दोलनहुन सक्ने बताए । किरात पहिचान कुनै एउटा जाती नभएर भूगोल, इतिहास, सभ्यता, कला, संस्कृति भएकोले प्रदेशबासीको चाहना किरात नाम रहेको अध्यक्ष राईले बताए ।
कार्यक्रममा १ नम्बर प्रदेश सभा सदस्य सुयर्माराज राई, रतुवामाई नगरपालिकाका प्रमुख रविन राई, किरात याक्थुङ चुम्लुङ मोरङ जिल्ला अध्यक्ष विवेक लिम्बू लगायतले शुभकामना मन्तब्य दिएका थिए ।


सम्मेलनको अवसरमा मुख्यमन्त्री शेरधन राई, पथरीशनिश्चरे नगरपालिका प्रमुख दिलिपकुमार राई, लेटङ नगरपालिकाका प्रमुख शंकर राई, रतुवामाई नगर प्रमुख रविन राई, उपप्रमुख मञ्जु राई, मिक्लाजुङ्ग गाउँपालिका उपप्रमुख सरला राईलाई सम्मान पत्रले सम्मान गरेका थिए । त्यसैगरी १ नम्बर प्रदेश सभा सदस्यहरु सुयर्माराज राई, कृष्णकुमारी राई, यायोक्खा मोरङका पूर्व जिल्ला अध्यक्षहरु रामकाजी राई, तिलकप्रसाद राई, बुद्धि चाम्लिङ, विवि राई लगायतलाई किराती संस्कार अनुसारको सम्मान र पेटा लगाएर सम्मान गरिएको थियो । जिल्ला अध्यक्ष नवीन राईको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष अर्जुन जम्नेली राईले स्वागत मन्तब्य राखेका थिए ।
सम्मेलनले आगामी तीन बर्षको लागि नयाँ नेतृत्व चयन गर्ने उपाध्यक्ष अर्जुन जम्नेली राईले बताए । समिति सर्वसहमतिको आधारमा चयन हुने समेत राईले बताए ।

सम्बन्धित खवर