‘प्रदेशकै उत्कृष्ठ पर्यटकीय गन्तव्य माङ्सेबुङलाई बनाउने’ः मन्त्री कुसियैत - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

‘प्रदेशकै उत्कृष्ठ पर्यटकीय गन्तव्य माङ्सेबुङलाई बनाउने’ः मन्त्री कुसियैत


साइनो समचारदाता
इलाम । प्रदेश १ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैतले माङसेबुङलाई प्रदेशकै उत्कृष्ठ पर्यटन क्षेत्रको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । माङसेबुङलाई प्रदेश १ को धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको उनको तर्क थियो ।
शनिबार इलामको धार्मिक पर्यटकीय क्षेत्र माङसेबुङमा आयोजित सावयेहाङ किरात खिवेक्वा याक्वा सेवाको उद्घाटन गर्दै उनले प्रचार प्रसारलाई प्राथमिकता दिएर बढी भन्दा बढी पर्यटक भित्राउन सके आर्थिकस्तर समेत उकास्न सकिने बताए । मन्त्री कुसियैतले पर्यटकीय क्षेत्रको विकास गर्न तीनै तहका सरकारबीच साझेदारी आवश्यक रहेको बताए । ‘धेरै सम्भावना बोकेको यस क्षेत्रलाई विकास गर्न सके यहाँको जनताको आर्थिक जीवनस्तर उकास्न सकिन्छ।’ मन्त्री कुसियैतले भने, ‘त्यसका लागि स्थानीय, प्रदेश र संघीय सरकारबीच साझेदारी हुन आवश्यक छ ।’ मन्त्री कुसियैतले प्रदेशका धार्मिक पर्यटकीय क्षेत्रहरुको पहिचान गरी त्यसको विकासका लागि प्रदेश सरकारले लगानी गर्न कुनै कञ्स्याई नगरिने प्रतिवद्धता जनाए ।
कार्यक्रममा किरात धर्मगुरु आत्मानन्द लिङदेनले आर्शिवचन दिदैं सबै झक्तजनलाई शान्तिको पक्षमा लाग्न आग्रह गरे । खिवेक्वा पर्वलाई विशेष महत्व दिएर मनाइने भएको र आत्मा शुद्ध भएर सबैलाई शान्तिको पक्षमा लाग्न लिङदेनले आग्रह गरे । कार्यक्रममा माङसेबुङ गाउँपालिकाकी उपाध्यक्ष सुनिता सुब्बा, किरात धर्म तथा साहित्य उत्थान संघको अध्यक्ष तथा आयोजक समितिका सहअध्यक्ष डकेन्द्रसिंह थेगिमले मन्तव्य राखेका थिए । कार्यक्रम अन्तरगत किरातीहरुले प्रत्येक वर्ष मनाउँदै आएको पर्वमा आइतबार किरात धर्मगुरु आत्मानन्द लिङदेनले धर्मावलम्बीहरुलाई सत्बीज (माङवाहाङवा) वितरण गर्ने कार्यक्रम रहेको छ । किरातीहरुले जग्गा जमिन खनजोत गर्नुअघि पृथ्वीको पुजा आराधना गर्ने गर्दछन् । यसअघि बिहिबार मेक्वा खोलामा गालीश्राप वहन्ती गरिएको थियो । पिता पुर्खाको गाली श्राप नलागोस भनेर यो कर्म गरिन्छ । शुक्रबार विश्व शान्ति र मानव एकताका लागि पुजा गरिएको थियो । कार्यक्रममा अमेरिका, बेलायत, हङकङ, भुटान, दार्जि्लिङ, सिक्कीमलगायत नेपालका विभिन्न क्षेत्रबाट किरात धर्मावलम्बीहरु माङसेबुङ आएका छन् ।

सम्बन्धित खवर