नगरस्तरीय साहित्य विभाग गठन - Sainokhabar
  • शनिबार, साउन ०९, २०७८

नगरस्तरीय साहित्य विभाग गठन


साइनो समचारदाता
पथरी । सोमबार मोरङको पथरीशनिश्चरे नगरपालिका अन्तर्गतको साहित्य विभाग गठन भएको छ ।
नगरपालिकाको उपसमितिको रुपमा गठित ‘भाषा, कला र संस्कृति प्रवद्र्धन समिति’ मातहतमा १३ सदस्यीय ‘भाषा, साहित्य, संस्कृति विभाग’ गठन भएको हो । यस अघि प्रवद्र्धन समितिले विभागको संयोजकमा गणेश वाछना राई र सदस्य सचिवमा राजेन्द्र विवशलाई चुनेको थियो । भेलाले वाँकी रहेको सदस्य पदमा कृष्णप्रसाद अधिकारी, भवानीप्रसाद दुलाल, फिपराज वेघा, भूमिप्रसाद पाठक, दीपक दियालो, ओमप्रसाद शर्मा, मनोज थापामगर, राधा गौतम, यशोदा राई लिम्बू, सीता राई र निश्चल सुवेदी चुनेको छ । विभागले शनिश्चरे चोक, किर्तिपुर, हसन्दह, पिपलचौक र सोमवारेमा ५ वटा मासिक कार्यक्रम गरेर सृजना क्षेत्रको प्रचारात्मक अभियान अघि बढाउने निर्णय भएको विभाग संयोजक गणेश वाछना राईले जनाए । एभरेष्ट आर्ट फ्यूजन र तमु वौद्ध गुम्वाले सञ्चालन गरेको ‘सृजना चौतारी’को पाक्षिक श्रृंखलालाई प्रवद्र्धन समितिको समेत सहकार्यमा मासिक रुपमा अघि बढाउने निर्णय भएको छ । जसअन्तर्गत माघ महिनाको दोस्रो शनिवार पिपलचोकमा कार्यक्रम हुने निर्णय भएको छ ।
विभागबाट कविता प्रतियोगिता र कविता लेखन तालिम समेत सञ्चालन गर्ने निर्णय भएको छ ।
भेलामा, प्रवद्र्धन समितिका सचिव रोहित पराई, पथरीशनिश्चरे नगरपालिका सूचना संयोजक भूपेन्द्र तिम्सिना सहितले सृजना क्षेत्रको प्रभावकारिताका लागि प्रवद्र्धन समितिमार्फत् ४ वटा विभाग गठन भएको जनाएका छन् । वीरध्वज शिवा अध्यक्ष रहेको प्रवद्र्धन समिति अन्तर्गत भाषा, साहित्य, संस्कृति विभाग, नाट्य विभाग, गीतसंगीत विभाग र चित्रकला मूर्तिकला विभाग तोकिएको छ । नगरपालिकाले सृजना क्षेत्रको प्रवद्र्धनका लागि चालु आर्थिक वर्षमा ५ लाख रुपैयाँ विनियोजन गरेपछि उपसमितिका रुपमा प्रवद्र्धन समिति गठन गरेर ४ वटा विभागमार्फत् कार्यक्रम बनाउने क्रम अघि बढेको छ ।

सम्बन्धित खवर