‘किरातीहरुले बेइज्जत गरे’–केरुङ - Sainokhabar
  • आइतबार, असोज १०, २०७८

‘किरातीहरुले बेइज्जत गरे’–केरुङ


साइनो समचारदाता
पान्थर । लिम्बू साँस्कृतिक परिषद्का केन्द्रीय उपाध्यक्ष तथा लिम्बू भाषा–साहित्यका अभियन्ता सागर केरुङले किरातीहरुले राज्यसँग अधिकार माँग्ने बेलामा शुभकामना माँगेर सम्पूर्ण किराती आदिबासीहरुको बेइज्जत गरेको आरोप लगाएका छन् ।
मंगलबा फिदिममा आयोजित किरात इतिहासकार इनमासिंह चेम्जोङको ११६ औं जन्मजयन्तीको अवशरमा आयोजित कार्यक्रममा केरुङले यस्तो टिप्पणी गरेका हुन् । अधिकारका लागि आन्दोलित हुने समयमा शुभकामना माँगेर किरातजन्य संघ–संस्थाहरुले राज्यसामु निरिहता प्रदर्शन गरेको भन्दै केरुङले असन्तुष्टि ब्यक्त गरे । गत मंसिर २७ गते आठ आदिबासी किरातजन्य संघ–संस्थाहरुले उधौली पर्वको अवशरमा शुभकामना सन्देश दिन अनुरोध गर्दै राष्ट्रपतिलाई पत्र लेखेका थिए । जसको सामाजिक सञ्जालमा समेत चर्काे आलोचना भएको थियो ।
यसैबीच किरात याक्थुङ चुम्लुङ पाँचथरले आयोजना गरेको ११६ औं इमानसिं जन्मजयन्ती समारोहमा चुम्लुङका केन्द्रीय सचिव चन्द्रकुमार आङदेम्बेले पनि राष्ट्रपतिलाई पत्र लेखेर गल्ती भएको स्विकारे । कार्यक्रममा आङदेम्बेसँगै याक्थुङ प्रज्ञा प्रतिष्ठानका कूलपति राजेन्द्रकुमार जबेगु, फिदिम नगरपालिका–४, का वडा अध्यक्ष प्रकाश गुरुङ, पाँचथर गजल मञ्चका अध्यक्ष दीपक खनाल, पत्रकार लेखनाथ खतिवडा लगायतले इमानसिंको योगदानको चर्चा गरेका थिए । वक्ताहरुले इमानसिंह द्वारा लिखित पुस्तकहरुकै कारण किरात इतिहास र भाषा–साहित्यको प्रचार र बिकास यो अवस्था सम्म आएको बताएका थिए ।
कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रवाश कार्य समिति पोर्चुगलका महासचिव रुकमान केरुङलाई पाँचथर चुम्लुङहीममा स्वागत समेत गरिएको थियो । कार्यक्रम चुम्लुङ पाँचथरका अध्यक्ष नरेन्द्रराज केरुङको अध्यक्षतामा सम्पन्न भएको सचिव सुरेन शिशिर केरुङले बताए ।

सम्बन्धित खवर