ज्ञानेन्द्रलाई कम्युनिष्ट सरकारले जेल हालोसः रिजाल - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

ज्ञानेन्द्रलाई कम्युनिष्ट सरकारले जेल हालोसः रिजाल


साइनो समचारदाता
उदयपुर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य रामप्रसाद रिजालले पूर्व राजा ज्ञानेन्द्र शाहलाई पक्राउ गरी जेल हाल्न सरकारसँग माग गरेका छन् । रिजालले भने, ‘पूर्वराजाले खुलेआम गणतन्त्र, धर्मनिरपेक्षताविरुद्ध चलखेल गरिरहेका छन्, यसकारण सरकारले पक्राउ गरी जेल हाल्नुपर्छ ।’ पूर्व राजा शाहले संघीयता, गणतन्त्र र धर्मनिरपेक्षता जस्ता आन्दोलनबाट प्राप्त उपलब्धिहरु मास्ने गरी चलखेल गर्न थालेकाले उनलाई तत्काल पक्राउ गरी जेल हाल्नुपर्ने रिजालले बताए ।
ससफो उदयपुर जिल्ला समितिको आयोजना गरेको एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
जनताको बलिदानीपूर्ण आन्दोलनबाट प्राप्त गणतन्त्र र संविधानको विरुद्धमा चलखेल गर्ने अधिकार पूर्व राजालाई नभएको उनले प्रष्ट पारे । उनले वर्तमान नेकपाको सरकारले पूर्वराजालाई जेल नहाल्ने हो भने गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता मास्नका लागि नेकपाको पनि सहमति भएकोजस्तो देखिने बताए । ‘नत्र कांग्रेस, नेकपा र राजावादीहरु मिलेर प्राप्त उपलब्धि मास्न खोजेको देखिन्छ,’ उनले भने, ‘होइन भने कम्युनिष्ट सरकार चुप लागेर बस्न हुन्न ।’

संघीय फोरम विखण्डनकारीको विपक्षमा खरो रुपमा उभिने र तराईदेखि पहाड र हिमालसम्मका सबै जाति र समुदायको न्याय र समानताका लागि लड्ने पार्टी भएको रिजालको भनाइ छ ।

सम्बन्धित खवर