नगरपालिका सार्ने सहमति पालना नभएको भन्दै आन्दोलित स्थानीयले गरे, कानुन मन्त्रालय र जिल्ला प्रशासनलाई ध्यानाकषर्ण - Sainokhabar
  • शनिबार, जेठ ०१, २०७८

नगरपालिका सार्ने सहमति पालना नभएको भन्दै आन्दोलित स्थानीयले गरे, कानुन मन्त्रालय र जिल्ला प्रशासनलाई ध्यानाकषर्ण

साइनो समचारदाता
पथरी । पथरीशनिश्चरे नगरपालिकाको कार्यालय सार्ने सहमति पालना नभएको भन्दै नगरका वडा नम्बर १० का स्थानीय आन्दोलित छन् ।
वडाबासीले नगरपालिकाको केन्द्र सार्ने सहमति पालना नभएको भन्दै १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराएका छन् । केन्द्रको विषयमा सर्वदलीय सहमति भएको, मन्त्री परिषद्ले निर्णय गरिसकेको, पुनरावेदन अदालत र सर्वोच्च अदालतले सदरमुकाम सार्न गरेको फैसलालाई कार्यान्वयन नभएको भन्दै बिहिवार मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।

साविक पथरी गाविस र शनिश्चरे गाविसलाई गाभेर पथरी शनिश्चरे नगरपालिका घोषणा गर्ने क्रममै केन्द्रको विषयमा २०६८ साउनमा स्थानीय आन्दोलित भएका थिए । आन्दोलनबाट हाल पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १० (साविक वडा नम्बर ८) मा रहेको भुटानी शरणार्थी शिविर रहेको ठाउँमा नगरपालिकाको केन्द्र बनाउने सहमति भएको थियो । साविक पथरी गाविस भवनबाट नगरपालिकाको केन्द्र तथा कार्य संचालन नगर्न नगराउन भनी पुनरावेदन अदालत विराटनगरले गत २०७१ साल असोज २७ गते निषेधाज्ञाको आदेश दिएको थियो । पुनरावेदन अदालतको आदेश बदर गर्न भन्दै पथरी नगरपालिका सर्वोच्च अदालतमा गए पनि पुनः सर्वोच्चले २०७४ पुस ९ गते पुनरावेदन अदालतको निर्णयलाई नै सदर गरेको थियो । तर, हालसम्म पनि सहमति र पुनरावेदन अदालत, सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आन्दोलनको तयारीमा जुटेका हुन् । उनीहरुले माग पूरा नभए जस्तोसुकै आन्दोलन गर्ने चेतावनि समेत उनिहरुले दिएका छन ।
पथरी बजार साँघुरो रहेको, अपायक भएको र व्यापारिक केन्द्रलाई नै असहज हुने भएकोले सदरमुकाम सार्नुपर्ने उनीहरूको माग छ । न्यायिक निकायबाट साविक पथरी गाविसको कार्यालयबाट सेवा नदिन र तोकेको ठाउँबाट सेवा सुरु गर्न निर्देशन हुँदा पनि अटेरी भएको स्थानीय बताउँछन । ८ वर्षसम्म कुर्दा पनि अहिलेसम्म सुनुवाई नभएपछि संघर्ष गर्नुभन्दा अर्को विकल्प आफूहरूसँग नभएको स्थानीयको जिकिर छ । यता, राज्य पुनर्संरचना आयोगले पनि साविक शनिश्चरे गाविस वडा नम्बर १, पथरी शनिश्चरे हुँदाको वडा नम्बर ८ हसन्दह समेत गाभिएपछि हालको वडा नम्बर १० मै केन्द्र राख्न सुझाव दिएको थियो । तर सो सुझावलाई अर्को पक्षले गलत अर्थ लगाउँदै नगरको केन्द्र सार्ने प्रस्ताव अस्विकार गरेपछि विवाद चुलिदै आएको छ । राज्य पुनर्संरचना आयोगको सुझावका आधारमा मन्त्री परिषद्को बैठकले सोही स्थानमा सदरमुकाम बनाउने निर्णय गरिसकेको छ ।

सम्बन्धित खवर