शनिवारदेखि संघीय समाजवादी फोरम नेपालको बैठक जारी विचार मिल्ने दलहरुसँग एकता गर्न वार्ता समिति गठन - Sainokhabar
  • शुक्रबार, फागुन १४, २०७७

शनिवारदेखि संघीय समाजवादी फोरम नेपालको बैठक जारी विचार मिल्ने दलहरुसँग एकता गर्न वार्ता समिति गठन

साइनो समचारदाता
ललितपुर । सत्तारुढ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय समितिको बैठकमा तीन वटा कार्य दल गठन गर्ने प्रस्ताव प्रस्तुत भएको छ ।


पार्टी अध्यक्ष उपेन्द्र यादव संयोजक रहने गरी राज्य व्यवस्था समिति, सहअध्यक्ष राजेन्द्र श्रेष्ठ संयोजक रहने गरी वार्ता समिति र उपमहासचिव प्रकाश अधिकारी संयोजक रहने गरी कार्यदल गठन सम्बन्धी प्रस्ताव गरिएको हो । राज्य व्यवस्था र वार्ता समितिमा ६÷६ जना सदस्य राख्ने तयारी छ ।
शनिवारदेखि सुर पार्टीको केन्द्रीय बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख पूर्ण बस्नेतले बैठकको पहिलो दिन तीनवटा अलगअलग कार्य दलहरु गठन सम्बन्धी प्रस्ताव आएको बताए । राज्य व्यवस्था समितिबाट विकास निर्माणदेखि लिएर संविधान संशोधन, संवैधानिक निकायको नियुक्ति आदि विषयमा सरकारको नेतृत्वसँग वार्ता र समन्वय गरिनेछ भने वार्ता समितिबाट पार्टीसँग नीति र विचार मिल्ने अन्य राजनीतिक दलहरुसँग एकताका लागि वार्ता र छलफल गरिनेछ । यसैगरी पार्टीको भातृसंगठन समाजवादी विद्यार्थी फोरमभित्र देखिएको विवाद समाधानका लागि उपमहासचिव अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गर्ने प्रस्ताव आएको छ । विद्यार्थी फोरमभित्र विवाद बढेपछि अधिवेशनको अन्तिम घडीमा पार्टी नेतृत्वले उक्त अधिवेशन रोकेको थियो । पहिलो दिन बैठकमा बोल्ने केन्द्रीय नेताहरुले पार्टीको राष्ट्रिय महाधिवेशन, पार्टीको विधान, समानुपातिक समावेशी तथा विद्यार्थीहरुमा देखिएको समस्या लगायत विषयमा धारणा राखेका थिए । संविधान संशोधन र सरकारमा सहभागिताबारे भने आइतबार मात्रै छलफल गरिने छ । यस सम्बन्धी आइतबार नै राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत हुदैछ । प्रतिवेदन आएपछि मात्रै यस विषयमा छलफल हुने केन्द्रीय सदस्य बस्नेतले बताए ।

सम्बन्धित खवर