नयाँ युगको सुरूआतः प्रम ओली - Sainokhabar
  • आइतबार, फागुन १६, २०७७

नयाँ युगको सुरूआतः प्रम ओली

मंसिर ११
साइनो समचारदाता
काठमाडौं । ‘प्रथम सामाजिक सुरक्षा दिवस’ लाई प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत मानेका छन् ।
सोमबार शुभकामना सन्देश दिदै प्रधानमन्त्री ओलीले यस दिवसको दिनबाट सरकारले हुँदा खाने र हुने खाने, रोजगारीमा रहेका र रोजगारी गुमाएका वा नभएका सबैलाई समेट्ने नयाँ प्रणालीको थालनी गरेको बताए। पहिलो सामाजिक सुरक्षा दिवस तथा योगदानमा आधारित सामाजिक सुरक्षा योजना लागू भएको अवसरमा उनले मङ्गलबारदेखि सामाजिक सुरक्षा योजना लागू भएको बताए । अघिल्लो पटक प्रधानमन्त्री हुँदा नै सबैको सहभागितामा सामाजिक सुरक्षाको योजना लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको उल्लेख गर्दै भनेका छन्, ‘श्रमको सम्मान गर्ने, सबैलाई श्रममा लाग्न उत्प्रेरित गर्ने र आधुनिक सभ्य समाजअनुरुप सबैको संरक्षण गर्ने प्रणालीमा हामी मङ्गलबारबाटै प्रवेश गर्दैछौँ ।’
देशवासीहरुलाई सामाजिक सुरक्षा योजना शुभारम्भको अवसरमा सबैलाई सुरक्षित भविष्यको शुभकामनासमेत सन्देशमार्फत उनले व्यक्त गरे।
मंगलबारदेखि सुरक्षा दिवस
संघीय सरकारले मङ्गलबार पहिलो पटक सरकारले सामाजिक सुरक्षा दिवस महत्वपूर्ण उपलब्धी मान्दै मनाउँदैछ।
प्रधानमन्त्री ओलीले मङ्गलबार सामाजिक सुरक्षा योजना शुभारम्भ गर्ने कार्यक्रम गर्दै छन् ।
मन्त्रीद्वारा अपिल
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सिङ्गो नेपाल र नेपालीका लागि सामाजिक सुरक्षा योजना आम श्रमजीवी नागरिकका लागि गौरवको विषय भएको उल्लेख गर्दै नयाँ युगको शुरुवात भएको बताए। उनले योजनाको सफल कार्यान्वयनका लागि रोजगारदाता, श्रमिकलगायत सरोकारवाललाई सहयोगका लागि अपिलसमेत गरेका छन् ।

सम्बन्धित खवर