श्रद्धाञ्जली सभा सम्पन्न - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

श्रद्धाञ्जली सभा सम्पन्न

मंसिर १५
साइनो समचारदाता
बेलबारी । नेपाल आदिवासी जनजाति महासंघ बेलबारी मोरङद्वारा स्व बर्णबहादुर राई र स्व मनकुमार राईको स्मृतिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । समाजसेवा र शिक्षा पेशामा आवद्ध बर्णबहादुर राईले शिक्षा क्षेत्रमा अतुलनीय योगदान पुर्याएको र समाजको बिकासमा महत्त्वपूर्ण भूमिका निभाएको र मनकुमार राईले समाजप्रति गरेको सेवाभावको प्रशंसा गर्दै माउन्ट एभरेष्ट बोर्डिङ स्कुलका प्राध्यापक जगत बस्नेतले स्मरण गरे । कार्यक्रममा वडा नं ४ का अध्यक्ष रामकुमार किराँती र वडा नं ११ का अध्यक्ष राजन पोख्रेलले राईद्वयको असामयिक निधनबाट समग्र बेलबारी नगरपालिकालाई नै अतुलनीय क्षति पुगेको बताए । कार्यक्रममा महिला महासंघका नगर सचिव उषा तामाङले कविता आकृति वाचन गर्दा सभाहल नै भावविह्वल भएको थियो ।
आदिवासी जनजाति महासंघ बेलबारीका अध्यक्ष तिलक राइले राईद्वयको असामयिक निधनले समग्रक अधिकार र पहिचानको आन्दोलनमा मात्र नभई सिङ्गो बेलबारी नगरलाई नै ठूलो क्षति भएको बताए । राईले यस दुखद घडीलाई परिवारजनले शोकलाई शक्तिमा बदल्दै उनीहरूले देखाएका सपना, बाटो र मार्गलाई आत्मसात गर्दै निस्वार्थ भावनाले र बिचलित नभई अगाडि बढ्न सके मात्रै उनीहरूको सच्चा श्रद्धाञ्जली हुने बताए । स्व बर्ण राई र मनकुमार राईको निधनले अधिकार, न्याय र परिवर्तनको आन्दोलनमा मात्र क्षति नभई सिङ्गो बेलाबारीवासीलाई अतुलनीय क्षति भएको फोनिज बेलबारी उपाध्यक्ष अशोक गुरुङले बताए। कार्यक्रममा दुवै परिवारको तर्फबाट सहयोग गर्ने, श्रद्धाञ्जली र समवेदना दिने सबैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए ।

गत असोज २५ गते महेन्द्र राजमार्गको बेतना पुलमा सवारी दुर्घटनामा परी राईद्वयको असामयिक निधन भएको थियो ।

बर्णबहादुर राई आदिवासी जनजाति महासंघ बेलबारीका सहसचिव तथा किरात राई यायोक्खा बेलबारीका सचिव थिए । मनकुमार राई किरात राई यायोक्खा डाँगीहाँटका सचिव थिए भने राई आदिवासी अभियान्ताका रुपमा पनि समाजमा अग्र पंक्तिमा रहँदै आएका थिए ।

सम्बन्धित खवर