हुसेनका हजारौं समर्थकले गरे शक्ति प्रदर्शन, दुहबी तनावग्रस्त - Sainokhabar
  • आइतबार, जेठ ०२, २०७८

हुसेनका हजारौं समर्थकले गरे शक्ति प्रदर्शन, दुहबी तनावग्रस्त

६ मंसिर
साइनो समचारदाता
दुहवी । नाराबाजी गर्दै हुसेनका हजारौं समर्थकहरुले दुहबी भलुवा नगरपालिकाको कार्यालय र इलाका प्रहरी कार्यालयमा अहिले प्रदर्शन गरिरहेका छन् । बुधवार बिहान साढे ६ बजे घरबाट श्रीमती आशा हुसेनसँग मर्निङ वाकमा निस्किएका ईटा उद्योगका ब्यवस्थापक समेत रहेका फिदा हुसेनको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै दुहवी बजार बन्द गरिएको छ । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीमा बुधबार गोली हानी हुसेनको हत्या गरिएको थियो ।


दुहबी, ईनरुवा तथा लौकहीमा प्रशासनले सुरक्षा दिन नसकेको भन्दै उनका आफन्त र समर्थकहरुले बजार, उद्योग कल कारखाना तथा कोशी राजमार्ग ठप्प पारेका छन । बिहिबार पनि सडक अबरुद्ध गरेपछि इटहरी हुदै प्रदेश राजधानी विराटनगर आवातजावत गर्ने यात्रुहरु प्रभावित भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । सो सडक खण्ड अबरुद्ध भएपछि विराटचोक–विराटनगरलगायत बैकल्पिक बाटो प्रयोग गरिएको छ । मृतकका आफन्तले गृहमन्त्री आएर हत्यारालाई कारबाहीको दायरामा ल्याउने प्रतिबद्धता नजनाउँदा सम्म शव नउठाउने बताएका छन् ।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले मृतकका आफन्तसँग छलफल भएपनि उनीहरु आफ्नो अडानमा रहेको र बन्द खुलाउने र शव उठाउने बिषयमा जिल्ला तहका नेताहरुसँग छलफल भइरहेको जानकारी दिए । अबस्था असामान्य भए कफ्र्यु लगाउने अबस्थामा जिल्ला सुरक्षा समिति पुगेको छ । दुहबीको बन्दको क्रम जिल्लाका ईनरुवा तथा लौकहीसम्म पुगेपछि घटनालाई थप उतेजित हुन नदिनको लागि जिल्ला सुरक्षा समिति उच्च सतर्कताका साथ रहेको जनाइएको छ ।
हुसेनलाई इटा उद्योग अगाडि ढुकेर गोली हानिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली चलाउने (सुटर) एक जना बाईकमा सवार थिए । हुसेनकी श्रीमती आशाको बयानको क्रममा पनि सुनसरी मोरङ सिञ्चाई आयोजनाको शाखा नहरको पुल नजिक एक्सरसाइज गर्दै ढुकेर बसेको व्यक्तिले गोली हानेर भागेको बताइन् ।
श्रीमतीलाई घर पठाएर उघोगतर्फ जाने क्रममा दुई राउण्ड गोली फायर गरेका थिए । गोली हुसेनको मुटु र कोखामा लागेको थियो । शुरुमा पछाडीबाट एक राउण्ड फायर गरे पछि हुसेन ढल्न खोज्दै गर्दा अगाडिबाट अर्काे राउण्ड फायर भएको प्रहरी स्रोतले बताएको छ । गोली फायर गरे लगतै ती व्यक्ति बाइक चलाएरै नहरको बाटो हुँदै उत्तरतर्फ भागेका थिए । यता प्रहरीले घट्नाको अनुसन्धानको लागि भन्दै ७ जनालाई नियन्त्रणमा लिएको छ ।
कोशी राजमार्गमा पाल टाँगेर धर्ना पनि दिएका छन् । उनीहरुले प्रशासनले हेलचेक्राइ गरेको भन्दै सुनसरीमा मुस्लिम समुदाय असुरक्षित बनिरहेको गुनासो गरेका छन् । हिजोदेखि दुहवी बजार, कोशी राजमार्ग, उद्योग कल कारखाना बन्द हुँदा करोडौको क्षती हुँदा समेत माँग पुरा गर्ने वारेमा राज्य पक्ष गम्भिर न भएकोमा आफू चकित रहेको नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्वर ३ का सचिव ओम थापाले जनाएका छन ।
सीआईबी टोली दुहबीमा
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोली दुहवी आएको छ । सीआईबीका डीएसपी हिरा पाण्डेको नेतृत्वमा २ सदस्य टोली बुधबारसाँझ घटनास्थल आइपुगेको हो । सुनसरी प्रहरी प्रवक्ता डीएसपी ज्ञानेन्द्र फुयालले सीआईबीको टिमले साँझ देखि नै अनुसन्धान शुरू गरेको बताए । सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले सीआईबीको टोलीले घटनाको सत्यतथ्य पत्ता लगाउन भुमिका खेल्ने बताए ।
प्रधानमन्त्रीलाई ५ बुंदे ज्ञापन पत्र


सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकास उप्रेतीमार्फत् प्रधानमन्त्री केपी ओली समक्ष ५ बुंदे ज्ञापनपत्र बुझाइएको छ । ज्ञापन पत्रमा २४ घण्टाभित्र अपराधीलाई पक्राउ गरी कानुनको दायरामा ल्याउनुपर्ने, मृतक फिदा हुसैनलाई सहिद घोषणा गर्नुपर्ने, राज्यबाट प्राप्त हुने क्षति पूर्ति तुरन्त उपलब्ध गराउनुपर्ने, मृतक फिदाको छोरालाई तुरन्त जागिर लगाइ दिनुपर्ने उल्लेख छ ।

देशभरिनै हत्या हिंसा, बलात्कार र श्रृङ्खलाबद्ध मुस्लिम समुदायको हत्या हुँदा समेत मौन रहने वर्तमान सरकारको घोर भत्सना गर्दै यथासिघ्र शान्ति सुरक्षा र जनताको जिउधनको सुरक्षा गर्न नसक्ने गृहमन्त्रीले तत्काल राजीनामा गर्नुपर्ने माग पनि गरिएको छन् । ज्ञापन पत्रमा सुनसरी क्षेत्र नम्वर २ का सांसद सीताराम मेहता, नेपाली काँग्रेसका सुनसरी सभापति तथा प्रदेश १ का संसदीय दलका नेता राजिव कोइराला, १ नम्वर प्रदेश सांसद अगमलाल चौधरी, १ नम्वर प्रदेश सांसद लिलम बस्नेत, दुहवी नगरपालिकाका मेयर बेदनारायण गच्छदारलगायतको हस्ताक्षर रहेको छ ।

 

 

तनाबमा दुहबी (फोटो फिचर)
तस्वीरः प्रेम गिरी

सम्बन्धित खवर