- अमित याक्थुङ्बा
थाहै नदिई
बिलाएर गए
ताराजस्तै उनीहरू ।
सम्झिल्याउँदा कथा-
बूढाे बा, अामाकाे तस्वीर
र, सपनाजस्ताे हुर्किन्दै गरेकाे काभ्राकाे बाेट
छाडेर गए पृथीबहादुर ।
चिसाे वर्दी लाउनुअघि पूर्वतिरकाे फालेलुङबाट
उड्दै गरेकाे कर्याङकुरूङ नियाले,
पातले भीरमाथि उभिरहेका गुराँसका टुप्पा हेरे,
चासाेकमा सात रात फनफनी घुमेका
तिगेन्जाेङ्नाका कुर्कुचा चहारे
अब, त इङ्वा खाेलाजस्तै दाैडिने खुट्टाहरू
अाेसीकाे सिट्टीकाे भरमा मात्रै
गर्नेछ –
लेफ्ट
राइट
लेफ्ट ।
भलवाँसकाे ढाडमा ठाेक्किने
सिरूपातेकाे धार
दुई काेस टाढा
गाउँका तन्नेरीभन्दा बिरानाे मान्छेहरूका जीउमा बर्साउनुछ ।
गुलेली सम्झेर दबाउनुछ राइफल,
जरायूबाट उम्लिरहेकाे पानी सम्झेर घुट्काउनुछ
हरियाे तुम्लेट,
बिनायाेकाे धुनमा नाचिरहने मुटु
बगरमा सुतेकाे ढुङ्गाबराबर बनाउनुछ,
युद्ध सकिएकाे दिन
फ्लेन्डर्सकाे मैदानबाट पप्पी फूल फुलाउनुछ ।
अनायासै,
अाफैँबाट बिलाएर गए उनीहरू
विस्मृतिकाे अाकाशगङ्गामा…
फेरि, बुनिल्याउँदा कथा-
युद्ध सकिएकाे २० वर्षमा
फेरि, सल्कियाे भीरगाउँकाे डढेलाेजस्तै अर्काे युद्ध ।
यसपटक २० लाग्दै गरेका दिलबहादुरले
पछ्याए पृथीबहादुरका खुट्टा
जसरी केटाकेटी हुँदा खेदाउँथे मेला भर्न गएकी अामा ।
फेरि, उहीँ तुम्लेट, उहीँ सरकारी गञ्जी,
त्यहीँ मक्किएकाे राइफल, त्यहीँ हेल्मेट ।
युद्धकाे पहिराेमा पुरिन्दा पुरिन्दै
जापानी फाैजले समाते बाघचालका गाेटीझैँ,
छिनाए दायाँबायाँका बूढी अाैँला,
उतिबेलै,
बाबाहाङकाे भन्दा बाक्लाे बर्माकाे वनमा छिरे
दिलबहादुर….!
यसपटक पनि गाउँका साथीहरूले धूले स्कूलमा
छाडे जसरी गए रणमैदानबाट नम्बरीहरू
उहीँ फेपेलुङ यकबाट देखिने ताराहरूजस्तै ।
फर्कन्दा
दिलबहादुर गाउँ
ल्याए –
‘सरकारी गञ्जी, बेलायती रक्सी, चम्किलो तक्मा र
धमिलाे सम्झना ।’
थाहै नदिई उनी पनि बिलाएर गए…
यसबेला म पनि तेस्रो युद्ध लड्दा लड्दै अाइपुगेकाे छु
बाजेकाे शालिकमुनि…!!!
बाेकेर उस्तै गञ्जी, तुम्लेट र
बाँधेर सरकारी साइकाे फाइभ घडी ।
तर,
कुनै दिन म पनि बाजेजस्तै शालिक भएर
माछामारा डाँडामाथि उभिएको बेला
छाेराले लेखिरहेकाे हुनेछ –
“हाम्रो कथा ।”
अासफाेर्ड, बेलायत ।