छठको रौनक, अस्ताउँदो सूर्यको पूजा, शङ्कराचार्य हेमानन्द गिरी छठ पुजामा  - Sainokhabar
  • बिहिबार, बैशाख ०९, २०७८

छठको रौनक, अस्ताउँदो सूर्यको पूजा, शङ्कराचार्य हेमानन्द गिरी छठ पुजामा 

पथरी । नेपालीहरुको गौरबको पर्व छठ पर्वको तेस्रो दिन मंगलबार (आज) सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । (षष्ठी) गहुँ र चामल ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट विभिन्न गुलियो खाद्य सामग्री बनाइन्छ । सोही दिन अन्नबाहेक फलफूल, ठकुआ, भुसवा, खजुरी, पेरूकिया तथा मूला गाजर ,बेसारको गाँठो, ज्यामिर, नरिवल, सुन्तला, केरा, नाङ्गलो, कोनिया, सरबा, ढाकन, माटोको हात्ती ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशयसम्म पुग्ने गर्छन । परिकारहरू जलाशयको किनारमा राख्नु अघि त्यस ठाउँ र पूजा सामग्रीलाई व्रतीले पाँचपटक साष्टाङ्क दण्डवत गर्छन् । त्यस ठाउँलाई पवित्र पार्न परिवारका सदस्यले पहिले नै तान्त्रिक पद्धति अनुरूप अरिपन चित्र कोरेका हुन्छन् । त्यसपछि व्रतीले सन्ध्याकालीन अर्घका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म आराधना गर्छन् । यस क्रममा व्रतीले दुबै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षेता फूल हालेर अन्य अर्घ सामग्री पालोपालो गरी अस्ताचलगामी सूर्यलाई अर्पण गरेर डिलमा आउने गर्छन् ।


प्रकृति प्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि आइतबार देखि सुरू भएको थियो । मुख्य विधिअन्तर्गत पहिलो दिन (चतुर्थी) को विधिमा अरबा–अरबाइन गरिन्छ, जसलाई नहाय–खाय पनि भन्ने गरिएको छ । व्रतीले भोजनमा माछामासु, लसुन, प्याज, कोदो, मसुरलगायत वस्तु परित्याग गरी यसै दिनदेखि व्रत वस्न थाल्दछन् । दोस्रो दिन खरना भनिन्छ । जसलाई पापको क्षय पनि भनिन्छ । गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतीले यो दिन दिनभरि निर्जला व्रत बस्छन् र राति चन्द्रोदयपछि चन्द्रमालाई पायस ( खीर ) अर्पण गरी सोही प्रसाद ग्रहण गर्छन । यस दिनपछि व्रतीले पूर्ण व्रत लिनुपर्दछ ।


चौथो दिन अर्थात् भोलि उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिन्छ । पर्वको चौथो (अन्तिम) दिन पार्वण गरिन्छ । यस दिन बिहान उषाकालमा व्रत गर्नेहरू पुनः जलाशयमा पुगी अघिल्लो दिन गरेको क्रम दोहोर्याइ प्रातःकालीन सूर्यलाई अर्घ दिन्छन् । अर्घ सम्पन्न भएपछि सूर्य पुराण श्रवण गर्ने चलन छ । व्रतीले छठ व्रतको कथा सुन्ने र सुनाउने परम्परा रहेको छ ।
सूर्यलाई आदिदेवता पनि भनिन्छ । मानवमात्रको अस्तित्वपछि सर्वप्रथम उज्यालो दिने, जीउमा गर्मी उत्पन्न गर्ने र रोगव्याधीबाट जोगाउने सूर्य नै रहेको मान्यता पाइन्छ । रात्रिको अन्धकारबाट भयभीत भएकालाई सूर्यको प्रकाशले त्राण दिने भएकाले आदिकालीन मानवले सूर्यको उपासना पूजा गर्ने गरेका थिए ।
जनकपुर, विराटनगर, विरगंञ्ज, उपत्यकासहितको मूख्य सहरलगायत मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । प्रदेश नम्बर १ को झापा, मोरङ, सुनसरी भित्र पर्ने रतुवा, मावा, पथरी, लोहन्द्रा, बुढी, काशी, कोशीको नहर, सुनसरी खोला, सिघिया, केशलिया खोला, विभिन्न पोखरी, तलाउ क्षेत्रमा सृगारिको मात्र छैन, छट पर्व मनाउनेको घुइचो लागेको छ । विजुली बत्ती, केराको बोट, विभिन्न फलफुल, सजिसजाउ छ । साझ र रातभर विभिन्न सांगीतिक कार्यक्रम पनि गर्ने गरेको पाइन्छ । रातभर जलासयमा ब्रतालुहरु बस्ने गर्छन् ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ । संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।
यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।
छठ शब्द षष्ठी शब्दको तद्भव रूप हो । षष्ठीका दिन षष्ठीका देवी समेतको पूजा भएकाले यस पर्वको नाम षष्ठी, छठि र छठ हुन गएको बुझिन्छ । यस पर्वमा अस्ताउँने र उदाउँने सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोका रूपमा लिनु हो । २०४६ अघि मद्येस तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।

नगरपालिकाले दियो छठको बिदा

प्रदेश ५ सरकारले बिदा नदिएपछि नवलपरासीको रामग्राम नगरपालिका आफैंले छठ पर्वको सार्वजनिक बिदा दिएको छ । यसअघि छठ पर्वको सार्वजनिक बिदा दिने गरिएकोमा संघीय सरकारले गत वर्षदेखि बिदा कटौती गरेको थियो । कतिपय चाडपर्व तथा दिवसहरूमा संघीय सरकारले बिदा नदिए पनि प्रदेश सरकार आफैंले बिदा दिने गरेकोमा कतिपयले छठ पर्वमा पनि प्रदेश सरकारले बिदा दिने आशा गरेका थिए । तर, सरकारले बिदा नदिएपछि नगरपालिकाले मंगलबार कार्यालय खुल्ने समयमै विज्ञप्ति निकालेर सार्वजनिक बिदाको घोषणा गरेको हो ।
मंगलबार बिहान मात्र नगरपालिकाले विज्ञप्तिमार्फत् बिदा घोषणा गरेपछि कार्यालय हिँडेका कर्मचारीहरू बीचबाटै घर फर्किएका छन् । रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले सरकारले हरेक वर्ष छठ पर्वमा बिदा दिने गरेकाले यसवर्ष पनि संघीय वा प्रदेश सरकारले बिदाको घोषणा गर्छ कि भन्ने सोमबार साँझसम्म नै पर्खाइमा रहे पनि बिदा नदिइएपछि कार्यालय खुल्ने समयमा भए पनि नगरपालिका आफैंले बिदा घोषणा गरेको बताए । नगरपालिकाभित्र रहेका अरु सरकारी कार्यालयहरूमा भने बिदा दिइएको छैन। नगरपालिकासहित १८ वटा वडा कार्यालयलाई मात्र मंगलबार एक दिनका लागि छठ पर्वको सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।
पश्चिम नवलपरासीको परासी क्षेत्रमा हरेक वर्ष मेलासहित धूमधामसँग छठ पर्व मनाइँदै आइएको छ। निजी विद्यालयहरूले भने बुधबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

शङ्कराचार्य हेमानन्द गिरी सहित छठ पुजा 

शङ्कराचार्य हेमानन्द गिरी छठ पर्वको अवसरमा विश्वमा रहेमा मानबको कल्याणको कामना सहित सबैमा शुभकामना ब्याक्त गर्दै आस्था र विश्वाशका साथ मनोकामना पुराहुने छठ पर्वको पुजाअर्चना गर्नु भएको छ । शङ्कराचार्य गिरीले आफुले लामो समय देखि छठ पुजा गर्दै आएको जनाउर्दै समस्त मानवमा हर्षोउल्लासका साथ छठ मनाउन र आफ्नो सस्कृतीको जगेठा गर्न समेत आग्रह गर्नु भएको छ ।

शङ्कराचार्य हेमानन्द गिरी

हर्षोउल्लाससाथ मनाउन थालेकोमा प्रमद्वारा खुसी व्यक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘छठ पर्व’को अवसरमा शुभकामना सन्देश जारी गर्दै मूख्य रुपमा तराई–मधेसमा मनाइने छठ पर्व अहिले मुलुकका अन्य भूभागमा पनि उत्तिकै हर्षाेल्साससाथ मनाइन थालेको भन्दै खुसी व्यक्त गरेका छन् ।
‘एउटा समुदायले मात्र मनाउने परम्परालाई अन्य समुदायले पनि आत्मसात गर्ने र मनाउने फराकिलो सस्कृतिको विकास भएको छ । यसले जात, धर्म र सम्प्रदायबीच आपसी मेलमिलाप र सौहाद्रतामा वृद्धि गरेको छ ।’ देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव, एकता र प्रगतिका लागि शुभकामना व्यक्त गरेका गर्दै भनेका छन् ‘छठ पर्वको सांस्कृतिक विस्तारले मुलुकलाई झन् एकताबद्ध बनाएको छ ।’
उनले छठ पर्वले पनि हरेक जात, धर्म, वर्ण, क्षेत्र र सम्प्रदायका नेपालीलाई एकताको सूत्रमा उनिएर प्रगतिको बाटोमा अगाडि बढ्न अझै प्रेरणा मिलोस् भन्ने कामना पनि व्यक्त गरेका छन् ।

मेयरको कठोर छठ व्रत


विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले १५ औं पटक दण्ड प्रणाम मंगलबार गरेका छन् ।
हरेक वर्ष छठको दिन दण्ड प्रणाम गर्दै घाटसम्म पुगेर अस्ताउँदो सूर्यको उपासना गर्दै आएका छन्। विराटनगरको ठूलोमिल चौकस्थित पञ्चयांङ्ग मन्दिर परिसरबाट पराजुलीले ‘विराटनगरको समृद्धि र विकास’को भन्दै दण्ड प्रणाम आरम्भ गरे।

‘छठको ब्रतलाई निकै कठोर र नियमपूर्वक बस्नु पर्ने मानिन्छ’, पराजुलीले भने,‘विगतका वर्षमा आफू र परिवारको लागि व्रत बस्दै आएको थिएँ। यो पटक महानगरवासीको हितका लागि बसेको छु।’

धार्मिक स्वभावका पराजुलीले २५ वर्षदेखि छठको ब्रत बस्दै आएका छन्। आफ्नै घर अगाढीको पञ्चयांङ्ग मन्दिरबाट उनले मंब र दिउँसो साढे १२ बजे यात्रा सुरु गरे। खोला पुग्न उनलाई करिव ४ घन्टा लाग्ने छ ।

सम्बन्धित खवर