छठको रौनक, अस्ताउँदो सूर्यको पूजा - Sainokhabar
  • बुधबार, साउन १३, २०७८

छठको रौनक, अस्ताउँदो सूर्यको पूजा

कार्तिक २७
पथरी । नेपालीहरुको गौरबको पर्व छठ पर्वको तेस्रो दिन मंगलबार (आज) सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ ।


जनकपुर, विराटनगर, विरगंञ्ज, उपत्यकासहितको मूख्य सहरलगायत स्थानहरुमा उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ । छठको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदैछ । भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सम्पन्न हुन्छ ।
छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चोखो खानपान गरी शुद्ध भएर बस्ने गर्छन् ।
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो । उक्त समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथनबमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको विश्वास गरिन्छ ।
संसारका सम्पूर्ण भौतिक विकास सूर्यमाथि नै आधारित छन् । तिनको शक्तिबिना रुख, बिरुवा, वनस्पति, प्राणी, जीवजन्तु कसैको पनि अस्तित्व रहन सक्दैन । सूर्य किरणको चिकित्सामाथि कैयौं चिकित्सकले ग्रन्थ लेखेको पाइन्छ । सूर्यको किरणबाट कैयौं असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ ।
साम्ब पुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षी दुर्वासाको सरापद्वारा कुष्ठरोगबाट पीडित साम्व सूर्यको आरधनाको फलस्वरूप रोगमुक्त हुन गएको भन्ने चर्चा छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । यसमा झुप्पा–झुप्पा फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ ।

यस पर्वमा जो व्रत बस्न सक्दैन उसले अर्काेबाट व्रत गराउने गर्छन् । आर्थिक अभाव भएका मानिस भिक्षा मागेरै भए पनि यो पर्व मनाउने गर्छन् ।

०४६ अघि तराईका सीमित क्षेत्रमा मनाइने छठले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ ।

नगरपालिकाले दियो छठको बिदा

प्रदेश ५ सरकारले बिदा नदिएपछि पश्चिम नवलपरासीको रामग्राम नगरपालिका आफैंले छठ पर्वको सार्वजनिक बिदा दिएको छ।
यसअघि छठ पर्वको सार्वजनिक बिदा दिने गरिएकोमा संघीय सरकारले गत वर्षदेखि बिदा कटौती गरेको थियो ।
कतिपय चाडपर्व तथा दिवसहरूमा संघीय सरकारले बिदा नदिए पनि प्रदेश सरकार आफैंले बिदा दिने गरेकोमा कतिपयले छठ पर्वमा पनि प्रदेश सरकारले बिदा दिने आशा गरेका थिए। तर, सरकारले बिदा नदिएपछि नगरपालिकाले मंगलबार कार्यालय खुल्ने समयमै विज्ञप्ति निकालेर सार्वजनिक बिदाको घोषणा गरेको हो ।
मंगलबार बिहान मात्र नगरपालिकाले विज्ञप्तिमार्फत बिदा घोषणा गरेपछि कार्यालय हिँडेका कर्मचारीहरू बीचबाटै घर फर्किएका छन् ।
रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले सरकारले हरेक वर्ष छठ पर्वमा बिदा दिने गरेकाले यसवर्ष पनि संघीय वा प्रदेश सरकारले बिदाको घोषणा गर्छ कि भन्ने सोमबार साँझसम्म नै पर्खाइमा रहे पनि बिदा नदिइएपछि कार्यालय खुल्ने समयमा भए पनि नगरपालिका आफैंले बिदा घोषणा गरेको बताए । नगरपालिकाभित्र रहेका अरु सरकारी कार्यालयहरूमा भने बिदा दिइएको छैन। नगरपालिकासहित १८ वटा वडा कार्यालयलाई मात्र मंगलबार एक दिनका लागि छठ पर्वको सार्वजनिक बिदा दिइएको विज्ञप्तिमा उल्लेख छ।

पश्चिम नवलपरासीको परासी क्षेत्रमा हरेक वर्ष मेलासहित धूमधामसँग छठ पर्व मनाइँदै आइएको छ। निजी विद्यालयहरूले भने बुधबारका लागि सार्वजनिक बिदा दिएका छन् ।

सम्बन्धित खवर