राष्ट्रिय विभुतिको जन्मजयन्तीका दिन सार्वजनिक बिदा - Sainokhabar
  • बिहिबार, साउन १४, २०७८

राष्ट्रिय विभुतिको जन्मजयन्तीका दिन सार्वजनिक बिदा

साइनो समचारदाता
पथरी । १६ औँ राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको जन्मजयन्तीका दिन इलामका तीन स्थानीय तहले सार्वजनिक बिदा दिने भएका छन् । इलामको माङ्गसेबुङ्ग गाउँपालिका, फाकफोकथुम गाउँपालिका र माइ नगरपालिकाले विदा दिने भएको हो । गाउँपालिका र नगरपालिकाभित्रका सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालहरुमा बिदा दिइने भएको छ ।
कार्तिक २५ गते पर्ने जन्मोत्सवका दिन इलामका एक नगरपालिका र दुई गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । लिङ्गदेनको १ सय ३४ औँ जन्मोत्सव देश र विदेशमा विभिन्न कार्यक्रम गरी मनाइन्छ ।
माइनगरपालिकाले नगरका विभिन्न पाँच स्थानमा किराँत धर्मावलम्बीहरुको आयोजनामा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने भएको छ । माङ्गसेबुङ्ग गाउँपालिकामा भने गुरुनीति आश्रम कृषि उपसमितिको आयोजनामा माङ्गसेबङ्ग–१, गजुरमुखीमा कार्यक्रम गर्नेछ भने फाकफोकथुम गाउँपालिकाले किराँत माङ्गहिम संरक्षण समितिको आयोजनामा किराँत माङ्गहिम रुपाटारमा विभिन्न कार्यक्रम गरी जन्मोत्सव मनाउने तयारीमा जुटेको फाकफोकथुम गाउँपालिकाका उपाध्यक्ष सरस्वती राईले बताइन् । इलामको माङ्गसेबुङ्ग गाउँपालिकालाई लिङ्गदेनको जन्मथलो, फाकफोकथुममा आश्रम बनाएर बसेको र देऊमाई नगरपालिका वडा नम्बर २ को खत्रक्पामा ज्ञान हासिल गरेको स्थान माइनगरपालिकाको नजिक पर्ने भएकाले तीनवटै स्थानीय तहमा सार्वजनिक बिदा दिने निर्णय गरेको माइ नगरपालिका प्रमुख दीपककुमार थेवेले बताए ।
लिङ्गदेनको जन्मोत्सवको अवसरमा झापाको दमक नगरपालिका र पाँचथरको फाल्गुनन्द गाउँपालिकामा समेत गएको वर्ष सार्वजनिक बिदा दिइएको थियो ।

सम्बन्धित खवर