नगरको एक बर्ष सिकाई वर्षकै भएकाले कार्यक्रम बनाउन र परिणाम दिन पनि सकेनौं । - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

नगरको एक बर्ष सिकाई वर्षकै भएकाले कार्यक्रम बनाउन र परिणाम दिन पनि सकेनौं ।

यमुना बिष्ट, उपप्रमुख पथरी शनिश्चरे नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, मोरङ, प्रदेश नम्बर १

स्थानीय तहगत सरकार सञ्चालनका सन्दर्भमा यमुना बिष्ट पूर्वाञ्चलकै लागि स्थापित नाम हो । कुनै लोभ, लाभ, मोह र आशक्तिविहीन भूमिकाबाट अग्रसर बिष्ट पथरीकै छोरी र पथरीकै बुहारी हुन् । जन्मजन्मान्तर यहाँको हावापानी, रहनसहन र सामाजिक जीवनलाई नजिकबाट बुझेकी, उनी यतिखेर स्थानीय सरकारको उपप्रमुखको जिम्मेवारीमा क्रियाशील छिन् ।
न्यायिक समितिकी संयोजक समेत हुन् उनी । उनको कार्यकक्षलाई पहिलोपटक नियाल्ने मानिस हाटबजारको भीडको अनुभूति गरेर फर्कने गर्छन् । सम्भवतः यहीं कारणले पनि अत्यधिक मत लिएर यस जिम्मेवारीका लागि चुनिइन् । पथरी शनिश्चरे नगरपालिका स्थानीय सरकार सञ्चालन, न्यायिक समितिको काम कारबाही, विकास–निर्माणका योजनाहरू, पार्टीगत जीवनका बारेमा गरिएको गफगाफ ।

  • दिनचर्या कस्तो छ ?
    राम्रो छ । सेवाग्राही आमजनताका कामलाई आफ्नो प्रधान कर्मको रूपमा ग्रहण गरेकी छु । यसैमा मेरो रमेको दिनचर्या बन्ने गरेको छ । यस टेबलमा पेश हुने तमाम काम र कामसँग जोडिएका भावनासँग आफूलाई साट्ने र साटिने प्रयत्न गर्दै आएकी छु । बाँकी कुरा त तपाईंहरूले जान्ने हो नि ! होइन र ?
  • दशैं कस्तो रह्यो ? कसरी मान्नुभयो ?
    असाध्यै राम्रो रह्यो । मेरो बृद्ध उमेर समूहको ममतामयी आमा हुनुहुन्छ । आमालगायत आफन्तजनका हातबाट साइतकै टीका लगाएँ । वास्तवमा म निकै भाग्यमानी छोरी, अहिलेसम्म आमाको काख पाइरहेकी छु । परिवारजन एक ठाउँमा जमा भएर दशैं मनाइयो । विगतमा दशैं अलिक बढी दिनहरूमा मानिने गरिन्थ्यो । यसपटक संघीय सरकारले दशैंलगायतका चाडपर्वहरूमा हुने लामा र पट्यारलाग्दा बिदाहरू कटौती गरेकाले दशैंको समय छोटियो पुनः जनताको काममा घुलमेल हुने मौका पाएँ । सम्झेर अहिले पनि आनन्द आएको छ ।
  • तिहारलगायतका चाडहरू कसरी मनाउँदै हुनुहुन्छ ?
    हामीले अङ्गालेको सनातन धर्म, संस्कार–संस्कृति र यसको परिपालनाका हिसावले तिहार प्राकृतिप्रेमी चाड हो । जीवन र जगत्सँग आत्मीय नाता जोड्ने पवित्र चाड हो । तिहारले कागदेखि कुकुर, गाई, गोरू र दाजुभाइलाई पूज्न प्रेरित गर्छ । प्रकृति निर्धारण, नियमन र सञ्चालनमा यी सबै पक्षहरूलाई नजिक्याउछ, महत्व दिन्छ र परस्पर प्रेमभावलाई व्यवहारमा खँदिलो बनाउछ । यो तिहार चाड विशेष महत्व आफैमा अत्यन्तै राम्रो छ ।
    मूलतः म यही मूल्य–मान्यताबाट अभिप्रेरित छु । निष्ठापूर्वक प्रकृतिप्रतिको प्रेमभावलाई तिहार पूजामार्फत् आफ्नो कर्म निर्वाह गर्छु । यसबीचमा शुभकामना आदान–प्रदान, सद्भाव अभिबृद्धि र हार्दिकता र सहिष्णुता बाँडचुडमा जोड दिएर भेटघाटमा रमाउने योजना बनाएकी छु ।
    तिहार मात्र किन र ! तिहारलगत्तै छठ, ल्होसार, उधौली–उभौली, बकर इद आदि चाडपर्वहरू आउछ । सबै चाडपर्वहरूका आ–आफ्नै मूल्य–मान्यताहरू छन् । सर्वप्रथम, सबैप्रति उँचो सम्मान व्यक्त गर्दछु । चाडपर्वहरूलाई बजारको तडकभडकपूर्ण मनोविज्ञानमा आधारित भएर होइन; नेपालीपन प्रकट हुने, मौलिकता झल्कने र अपनत्वबोध हुने हिसावले समाजमा स्थापित चाडवाडको मूल्य–मान्यताको जगमा उभिएर चाडवाडहरू मान्न मनाउन सम्बद्ध सबै धर्मावलम्बीप्रति हार्दिक शुभेच्छा अर्पण गर्दछु ।
  • चाडवाडकै मुखमा जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता बाँड्नुभयो ? पोहोर र अहिलेमा जेष्ठ नागरिक भत्ता बाँडिरहँदा कस्तो महशुस गर्नुभयो ?
    ठीक भन्नुभयो– राज्यले सामाजिक सुरक्षास्वरुप प्रदान गर्दै आएको बृद्धबृद्धा भत्ता दशैंको मुखमा मात्र हस्तान्तरण गर्न सकियो । कैयौं प्रयत्नका बावजुद समयमा यसको वितरण हुन सकेन । यसबाट पर्न गएको असुविधाप्रति आमबुबा–आमाप्रति क्षमा माग्न चाहन्छु ।
    जहाँसम्म पोहोर साल र अहिलेबीचको अन्तर अनुभूतिको कुरा गर्नुभयो । कुरा के हो भने पोहोर साल सामाजिक सुरक्षा भत्ता बाँडिरहँदा हामीले अर्कोपटक अंक बढाएर दिने छौँ भनेका थियौं । अंकका हिसावले यो रकम बढोत्तरी हुन सकेन । अंक बढाउने कबोल थियो । यसपटक यो बढेन । तर, हामीले ती आदरणीय बृद्धबृद्धा बुबा–आमाको स्वास्थ्य बीमा सुनिश्चित गरेका छौँ । स्वास्थ्य बीमा योजना अन्तर्गत लाख रूपैयाँ अनिवार्य बीमा भएको छ ।
    यसले स्वास्थ्यसम्बन्धीका समस्याको निराकरण गरेको छ । स्वास्थ्य समस्या हल भएको छ । समाजमा ज्ञान, सीप र अनुभवले निखारिएका बुबा–आमाको स्वास्थ्यबारे सरकार जिम्मेवार भएको छ । योबाहेक बृद्धबृद्धालाई आइलाग्ने समस्या के होला र ! त्यो कुरा अहिले बाँडिएको पैसाले पुग्दो नै हुन्छ । संघीय सरकारको अर्को नीति–कार्यक्रम र बजेटमा बृद्धबृद्धा बुबा–आमालाई प्रदान गरिँदै आएको बजेट अंक दोब्बर भएर आउने नै छ । यो कुरा बुबा–आमालगायत समाजका थुप्रै मानिसलाई बुझाउन सकिएको छैन ।
  • चाडवाडका बेला विकृति विसंगति हुने गर्छ । अहिले पथरीशनिश्चरेमा अलिक कम भएको हो ?
    हो, यसपूर्व चाडवाडका बेलामा साविकका पथरी, शनिश्चरे, हसन्दह र आसपासका क्षेत्रहरूमा झैंझगडाहरू हुने गर्दथ्ये । खासगरिकन पथरीमा । दिनहुँजसो दर्जनौं मुद्दामामिला थानाचौकीहरूमा आउने र सुल्झाउनका लागि हामी राजनीतिक कार्यकर्ताहरू त्यहाँ गइदिनुपर्ने हुन्थ्यो । यसपटक त्यति भएन । मलाई लाग्छ, यसका पछाडि मूल रूपमा तीनवटा कारणहरू छन् । पहिलो, मानिस हिजोभन्दा आज र आजभन्दा भोलि क्रमशः तर रफ्तारमा सचेत–शिक्षित हुँदै गएको छ । चाडवाडका राम्रा मौलिक र मिश्रित नराम्रा पक्षलाई केलाउन सक्ने भएको छ । नराम्रा पक्षहरू त्याग्दै राम्रा पक्षहरूलाई सुदृढ ढंगले अघि सार्दै लगेको छ । पछ्यैटो चिन्तन र एकापसमा प्रकट हुने वरव्यवहारबाट स्वयंमा उन्मुक्त हुँदै गएको छ । दोस्रो, सिंगो समाज राजनीतिक अधिकारमूखी वा कुनै न कुनै प्रकारको जागरण अभियानबाट अभिप्रेरित छ । जागरणको यो प्रक्रियामा मानिस बाँधिएको छ । स्वयंमा अनुशासित भएको छ । सचेतनापूर्वक संगठित भएको छ । परधर्म र परपीडालाई आफ्नै हो भन्ने खालको जीवनशैली विकास हुँदै गएको छ । परस्पर सम्मान र सद्भावको भावना व्यवहारमा विकास हुँदै गएको छ । तेस्रो, उत्ताउलो अभिव्यक्ति र उत्ताउला वरव्यवहार आफैमा नियन्त्रित छ । नेपाली समाज विविधताभित्रको एकता, एकतामा हार्दिकता र हार्दिकताकै कारण सामाजिक अन्तरघुलनले समृद्ध हो भन्ने कुरा आमव्यक्ति, समुह र शक्तिले ग्रहण गरेका कारणले पनि चाडवाडका बेलामा अप्रिय घटना, झैझगडा नभएको होजस्तो मलाई लाग्छ । यसमा सुरक्षा निकायलाई नागरिकको सुरक्षा हाम्रो प्रधान कर्तव्य हो भनेर बुझाइएको थियो । सुरक्षा संयन्त्र दत्तचित्त भएर आफ्नो जिम्मेवारी अनुसार लाग्यो, खट्यो । परिणामस्वरुप यो अवस्था विकास भयो भन्ने मलाई लाग्छ । यसबेला सम्बद्ध सबैलाई सम्झन चाहन्छु र सलाम भन्न चाहन्छु ।
  • नगर कार्यपालिकको हिउँदे अधिवेशनको समय नजिकियो नि । के–कस्ता योजनाहरू अघि सार्दै हुनुहुन्छ छ ?स्थानीय तहमा जनताको पहुँच स्थापित सरकार प्रभावाकारी ढंगले क्रियाशील छ भनेर अनुभूति दिने भरसक प्रयत्नमा छौँ । यसका लागि कार्यालयलाई चुस्त सञ्चालनका निमित्त बाक्लै नगर बैठकहरू सम्पन्न हुने गरेका छन् । तथापि, तपाईंको आशयानुसारको नगर कार्यपालिकाको अधिवेशनको छुट्टै र गह्रुंगो महत्व छ । यतिखेर हामी हिजोको अधिवेशनले पास गरेका र कार्यान्वयनमा भई आएका योजना कार्यान्वयनको पक्षलाई सुक्ष्म ढंगले केलाउँदै छौँ । हिजो हामीले लिए गरेका निर्णयहरू के–कति कार्यान्वयन गर्न सक्यौं, सकेनौं वा कहाँ चुक्यौंजस्ता मसिना विषयहरूमा हाम्रो ध्यान गएको छ । यसको फेहरिस्त हामी सार्वजनिक गर्ने नै छौँ । जहाँसम्म अघि सारिने योजनाको कुरा छ । आमसेवाग्राहीलाई कसरी सचेत तुल्याउने ? स्थानीय सेवाग्राहीलाई कसरी अधिकारमुखी बनाउने ? कसरी कर्तव्य परायण राख्ने ? स्थानीय सेवाग्राहीबाट उठेका आवाजलाई कसरी संगठित गर्ने ? विकास–निर्माणका योजनाको प्राथामिकीरकण कसरी गर्ने ? आम्दानी अभिबृद्धिका लागि स्थानीय उत्पादनलाई कसरी निर्यातमुखी बनाउने ? समाजशास्त्रीय महत्वका साथ यो समाज र यसको विकासक्रमलाई अध्ययन गर्दा, अस्तित्व र पहिचानमा आएको मानव संशाधनको विकासबाट मात्र सन्तुलित र समृद्ध मानवबस्ती सम्भव छ भन्ने मेरो ठम्याई हो । यसका लागि आधारभूत योजनाहरू कसरी अघि सार्ने ? यहाँ स्थापित तमाम जाति, भाषा, धर्म, संस्कार–संस्कृति आदिको पक्षलाई समाजको विकास प्रवाहमा कसरी अक्षुण्य राख्ने ? युगीन मानव संघर्षबाट निर्मित र विकसित जीवन्त पक्षलाई कसरी बचाइराख्ने ? आदि विषयहरूमा ध्यान पुगेको छ । यद्यपि, यकिनसाथ भन्नका लागि यही नै ठोस योजना हो भनेर तयारी गरीसकेको अवस्था भने अहिले छैन ।
  • तपाईंको महिला अभिमुखी सीपमूलक र ढाकातान कार्यक्रम कहाँ पुग्यो ? कति प्रभावकारी हुँदैछ ? यसले पथरीको पृथक पहिचान विकास गर्न सक्छ ? ठीकै जिज्ञासा राख्नुभयो । सामान्य साक्षर दर नभएका, चुल्हो–चौको मात्र संसार बुझेका, उपार्जन नभएका कारण पराश्रित रहनुपरेका, एकल वा उत्पीडित महिला लक्षित कार्यक्रम हो, महिला अभिमुखी सीपमूलक एवम् ढाकातान कार्यक्रम । वार्ड–वार्डमा यो कार्यक्रम सुरूवातको चरणमा छ । यसले गति लिइसकेको छैन । गति लिने कुरामा कुनै द्विविधा छैन । तल–तल सरोकारित महिलाहरूमा देखिएको उत्साहले यो कार्यक्रम परिणामका हिसावले राम्रो होला भन्ने म शतप्रतिशत विश्वस्त छु ।
    जहाँसम्म पहिचान विकासको कुरा गर्नुभयो, यो प्राप्त राजनीतिक राज्य व्यवस्था प्रणाली भनेकै लोपोन्मुखका लागि अस्तित्व उठान र पहिचान विकासका लागि हो । पहिचानका लागि लाठ्ठीमुङ्ग्री पो गर्न भएन त ! तँ ठूलो कि म ठूलो भन्दै समाजमा यदाकदा हुने दंगाफसाद पो अप्रिय पक्ष हो त ! आफ्नो श्रम र सीप बेचेर वा साटेर प्राप्त हुने पहिचानलाई स्थान नदिने त ? यस्ता पहिचानप्रिय पात्रहरूलाई संस्थागत नगर्ने त ? ढाका तान सम्भव छ । यसले यहींको श्रम र सीपबाट गति लिन्छ । तपाईं हामी सबै लाग्नुपर्यो । लाग्दा यहाँ के हुन्न र ? यतिमात्र होइन, हाम्रो वरिपरि घना जंगल छ । पात र हाँगाबिङ्गा सडेर गएको छ । तर, त्यही पात र हाँगाबिङ्गा अथवा जंगलबाट निर्मित दुनाटपरी र दाँत कोट्याउने सिन्का हामी देशबाहिरबाट ल्याइरहेका छौँ । यसलाई यहीं उत्पादन गरेर श्रमबजार निर्माण गर्ने, निर्यात गर्ने, आम्दानी अभिबृद्धि गर्ने र यसमा पनि एउटा पहिचान विकास गर्ने काम गरे हुन्न त ? यसतर्फ पनि हामी सोच्नुपर्छ र अभिलम्ब गृहकार्य थाल्नुपर्छ ।
  •  

    निर्वाचित समय र जिम्मेवारीबहनको यो एक वर्षलाई कसरी लिनुभएको छ ? यहाँका समस्या र चुनौतिहरूलाई संक्षिप्तमा लिनुपर्दा के–के देख्नुहुन्छ ?
    हेर्नुहोस्, मलगायत मेरो सहयात्री टीम यहाँ आएको एक वर्ष भयो । एक ढंगले भन्नु पर्दा, यो वर्ष झण्डै सिकाई वर्षकै रूपमा रह्यो । सोचे अनुसार कार्यक्रम बनाउन र परिणाम दिन पनि सकेनौं । तर, हामीसँग रहेको चार वर्षमा हामी उल्लेख्य मात्रामा काम गर्ने छाँै । हिजोका हाम्रा प्रतिबद्धताहरू पूरा गरेर छाड्छौँ । त्यस्तो विघ्न समस्याहरू म देख्दिनँ । हामीमा विकास–निर्माणको चाहना एक ढंगले भन्नु पर्दा तीब्र महत्वाकांक्षाको रूपमा प्रकट हुने गरेको छ । यसलाई व्यवस्थापन र सम्पादन गर्ने कुरा अलिक पेचिलो छ । फेरि पनि यो समस्या भने होइन ।
    पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको अगुवाइमा सुरू भएको आफ्नो गाउँ आफै बनाऊ अभियान आम कार्यक्रमको रूपमा तल–तलसम्म प्रभावकारी कार्यान्वयन भएकै छ । यो सरकारको ध्यान यहीं कार्यक्रम र मूल्यमा दत्तचित्त भएर लागेको छ । यति हुँदाहुँदै पनि कहिलेकाँही ठीक बेलामा ठीक मुद्दाहरू नउठ्ने, उठे पनि सम्बन्धित ठाउँमा नउठ्नेजस्ता केही कार्यालयीय कार्यसम्पादन र सेवाग्राहीबीचको समस्याले यदाकदा देखिने गर्छ । क्रमशः यसमा पनि सुधार राम्रो छ । हामीकहाँ देखिएको समस्यामध्ये सुकुम्बासी एवम् अस्तव्यस्त बसोबासको समस्या प्रमुख समस्या हो । यसबारे संघीय सरकारले विषयगत गम्भीरताका साथ गृहकार्य आरम्भ गरेको हुँदा अब हामी स्थानीय सरकारका हैसियतले संघीय सरकारको मातहतमा रहेर सहयोगी बन्दिने, आवश्यक बेलामा मार खेप्दै आएका आमसेवाग्राहीको पक्षमा उभिदिने हो र स्थानीय परिवेश अनुसारको व्यवस्थापनमा जोड दिने हो भन्ने हिसावले समस्या समाधानका सन्दर्भमा हामी विश्वस्त छौँ ।
    हाम्रो नगरपालिकाको पूर्वतिरको सिमानाको रूपमा रहेको बक्रा खोला तटबन्धनको कुरा थियो । यस क्षेत्रका सांसद तथा संघीय सरकारका न्याय, कानुन तथा संसदीय मामिला मन्त्री माननीय भानुभक्त ढकालले यो समस्याबाट दीगो उन्मुक्तिका लागि कार्यक्रम र बजेट निर्धारण गराइसक्नुभएकोले अब क्रमशः हामी पेचिला समस्याबाट मुक्त हुँदै गएका छौँ, जस्तो मलाई लाग्छ । अरू बाटाघाटा, पुलपुलेसा निर्माण, शिक्षा–स्वास्थ्यको स्तरोन्नतिजस्ता कुरामा हाम्रो प्रशस्त ध्यान पुगेको छ । अब प्राथमिकता निर्धारण गर्दै अघि बढ्ने मात्र कुरा हो । यो आफैमा कुनै समस्या होइन । तीनवटै तहगत सरकारसँगको सहकार्यबाट भएका समस्या समाधान गर्दै र केही जटिलताका गाँठाहरू फुक्दै जाने अवस्थाको विकास भएको छ ।

  • स्थानीय सरकारका हैसियतले स्थानीयस्तरमा प्रभावीत हुने ऐन कानुन बन्न सक्दैनन् र ?
    यो एक वर्षमा हामीले पनि यो अनुभूति गर्यौं । हो, यस क्षेत्रमा हाम्रो भिन्न अनुभूति संगठित हुँदै गएको छ । हाम्रा स्थानीय माग, समस्या र मुद्दामा आधारित ऐन कानुनहरू बन्न सक्छन् । अहिले हामी यसको व्यापक तयारीमा छौँ । संविधानले परिकल्पना गरेको न्याय, समानता र समतामा आधारित स्थानीय सरकार र यसका कामकारबाहीलाई प्रभावी तुल्याउन स्थानीय ऐन कानुनको मस्यौदागत तयारीमा छौँ अहिले हामी । प्रशासकीय कार्यविधि, कर्मचारी सेवा, बहालकर कार्यविधि, व्यवसाय कर कार्यविधि, बाल संरक्षण कार्य विधि, आर्थिक सहायता कार्य विधि, कृषि व्यवसाय कार्य विधि, स्वास्थ्य नीति, शिक्षा नीतिलगायत दर्जनौं पास भएका र कार्यान्वयनमा आएका विधेयकमाथि क्षेत्रगत र विषयगत ऐन कानुन निर्माणको पक्षमा छाँै हामी यतिखेर ।
  • भुटानी नागरिक शरणार्थी शिविर सञ्चालित स्थलको प्रोपर प्रयोगबारे गृहकार्य कसरी अघि बढेको छ ?
    इतिहासको एउटा खास मोडामा नेपाल सरकार र यूएनबीच भएको ऐतिहासिक सहमति कार्यान्वयनको पक्षलाई विषयगत गम्भीरताका साथ अध्ययन गरिएको छ । दुई पक्षबीच सहमति कार्यान्यवन भएसँगै यो भुटानी नागरिक शरणार्थी भएर बसोबास गरेको ऐतिहासिक स्थललाई कसरी प्रयोग गर्ने ? विभिन्न कोणबाट बहस र छलफल भएको छ । यस क्षेत्रबाट निर्वाचित संघीय सांसद माननीय भानुभक्त ढकालले निर्वाचनताका यस भू–भागको प्रयोगबारे एउटा अवधारण अघि सार्नुभयो । यहीं अनुसार अहिले प्रदेश सरकारले बहुजातीय संग्रहालय निर्माण कार्यक्रम तयार गरेर बजेट विनियोजन गर्ने काम गरेको छ । हामी यस कार्यक्रमबाट अलगिएर विकल्प सोच्न सक्दैनौँ । सहर्ष स्वीकार्नु, चाँडो कार्यक्रम कार्यान्वयनमा ल्याउन प्रयत्न गर्नुको विकल्प छैन । हाम्रा लागि पनि योभन्दा अर्को गौरवको केही हुन्न होलाजस्तो लाग्छ मलाई । सोच्न धेरै कुरा सकिएला ! तर, स्थानीय परिवेश र राष्ट्रिय महत्वका हिसावले बहुजातीय संग्राहालय सर्वोत्तम पक्ष हो ।
  • प्रधानमन्त्रीको स्वास्थ्य बारेमा सामाजिक सञ्जालमा नानाथरिका कुरा आइरहेका छन् नि ! यसलाई तपाईंले कसरी लिनुभएको छ ?
    हेर्नुस्, कस्तो अफवाह ! कस्तो घीनलाग्दो हरकत ! आखिर सद्दे मानिस नै त बिरामी पर्छ नि ! होइन र ? बिरामी पर्नु, निको हुनु र क्रियाशील रहनु नै जीवन हो । हाम्रो सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली मात्र अपवाद हो र ? हामीलाई यस्तो हुँदैन कहिल्यैं ? यो रहेन भने त जीवन नै रहेन नि ! उहाँ बिरामी पर्नुभएको छ । सघन उपचारमा हुनुहुन्छ । आफ्नै देशको सरकारी अस्पतालमा उपचार गराइरहनुभएको छ । यो ठूलो कुरा हो । हो भने मानवीय हिसावले हामी सबैले स्वास्थ्य लाभको कामना गर्नु हो । तर…. सामाजिक सञ्जालमा म त के देख्छु, के भेट्छु ! कति आग्रह ! कति पूर्वाग्रह ! सम्झेर आफै दंग पर्छु । यतिबेला देशदुनियाँ उहाँको स्वास्थ्य–लाभको कामना गर्दै छ । सामाजिक सञ्जालमा केही छुद्र मानिसका घीनलाग्दा अभिव्यक्तिहरू आइरहेका छन् । केही मानिस आफैमा कति निकृष्ट, नाङ्गो र कृतघ्नसम्म हुँदो रहेछ ! नाङ्गो र उदाङ्गो भएर प्रकट भएको छ । मृत्यु सबैका लागि अप्रिय क्षण हो । दुष्ट मर्दा पनि एकपटक मानिस भगवान सम्झन्छ र उसका नाममा एक मिनटको मौनता साँध्छ । तर, केही मानिसहरू त उहाँको मृत्युको कामना गर्न भ्याए । सानो चित्त, झिँगाको पित्त बोकेको मानिसको यो चर्तिकला देखेर हामीमा मानवीयता गुम्दै गएको हो कि भन्ने अन्दाज हुन्छ मलाई घरि–घरि त ।
    मैले के पाए ? वा पाउन सकिनँ भन्ने कुरा ठूलो रहेन । केवल मानवीय महत्वका हिसावले सामाजिक सञ्जालका यी अभिव्यक्तिले ममा एकदमै पिरोलो जगाएको छ । म तिनलाई सोध्न चाहन्छु– केपी शर्मा ओली उपचार पाइरहेको घडिसम्म देशका कार्यकारी प्रमुख संवैधानिक एवम् राजनीकि व्यक्तित्व हुन् । देशका प्रधानमन्त्री हुन् । उहाँ तल–माथि पर्ने कुराले देशले कति ठूलो क्षति व्योहोर्नुपर्छ– हेक्का राखिएको छ ? प्रधानमन्त्री ओलीकै नेतृत्वमा देशले संघीयताको अभ्यास गर्न पाएको छ । अधिकार सम्पन्न स्थानीय तहगत सरकारहरू क्रियाशील बनेका छन् । समाजवाद उन्मुख संविधान कार्यान्वयनमा आएको छ । आर्थिक परिवर्तन र रूपान्तरणको एजेण्डाले एउटा नयाँ बाटो कोर्दै छ । यतिबेला उहाँ तल–माथि पर्ने बित्तिकै इतिहासले सुम्पेको यो गहु्रंगो बागडोर कसले सम्हाल्छ ? ओली सम्पूर्ण रूपले नेपाली कम्युनिष्ट आन्दोलनमा लागे, कसैलाई रूवाउने काम कहिल्यै गरेनन्, कसैका कुखुरा–बाख्रा चोरेनन्, कुनै खालको लुटखसौट गरेनन्, सफा बोले, छलकपट गरेनन्, राजनीतिक प्रतिशोधको काम कहिल्यै गरेनन्, निर्दोष मानिस मार्ने काम कहिल्यै गरेनन्, राजनीतिक जीवनभरि नै हिंसालाई निरूत्साहित गर्दै आए, निष्ठाको राजनीति गर्दै आए, राजनीतिक आदर्श र सिद्धान्तको मियोबाट कहिल्यै बाहिरिएन्, यही उनको गुरूत्व थियो । जसले दुइटा ठूला कम्युनिष्ट पार्टीलाई एकताबद्ध गराए, राजकाजको जिम्मेवारीका हिसावले इतिहासमै सर्वाधिक सफल गृहमन्त्री र अहिले बहुचर्चित र शक्तिशाली प्रधानमन्त्री भए, जीवनकालमा कुनै पनि प्रकृतिको राष्ट्रघाती सम्झौता गरेनन्, देशलाई यसको भू–बनावटका हिसावले स्वधिन, सवल र समृद्ध राख्न प्रयत्नशील रहे । उहाँकै नेतृत्वमा रहेर हामीले अलिकति भए पनि राष्ट्र र राष्ट्रियताको अनुभूति आर्जन गर्न पाएका छौं । होइन र ?
    मैले पनि जान्नुपर्यो नि ! यति हुँदाहुँदै पनि आखिर कहाँ चुके हाम्रा प्रधानमन्त्री केपी शर्मा ओली ? किन हामी केही मानिस उहाँको मृत्युको कामना गरिरहेका छौं ? यो आफैमा अर्को एक ढंगले हेर्दा– हिंसाको मनोविज्ञान होइन ? कायरता होइन ? यो असहिष्णु अभिव्यक्ति र मानवीय समवेदना अभावको स्यालहुइयाँ कसका लागि ? निश्चय नै कसैको मृत्यु कसैलाई प्रिय लाग्दैन । तर, म अनुत्तरित छु– उहाँको नाममा यस्तो किन ? यसो नगरौं भन्ने मेरो अपिल हो । भौतिक वस्तुको उपस्थिति मात्र समृद्धि होइन । मानवीय मूल्य–मान्यता र संस्कार–संस्कृतिहरू पनि समृद्धिका परिचय हुन् । बोलीचालीमा, संस्कार–संस्कृतिमा, लवजमा, शब्दसंवादमा समृद्ध नेपाली संस्कार विकास गरौं ! मानवीय समृद्धिको यात्रामा अघि बढौं !
    हाम्रो प्रधानमन्त्री यस्तो अतुलनीय व्यक्तित्व हो, जसले यो भ्रम फैलाउने जड समाजलाई समेत उसको दीग्भ्रमबाट मुक्त पारेर समृद्धिका लागि राष्ट्रको सफल नेतृत्व गर्नुहुने छ । चाँडो स्वास्थ्यलाभ लिएर यस काममा आउनुहुनेछ । उहाँको मृत्युको शुन्य अवस्थामा रमाउन उद्धत ती अबोध र मानवीय समवेदनाले भरिएको मस्तिष्क अभावमा रहेका खोक्रा अस्थीपञ्जरहरूका लागि बैगुणीलाई गुण बनेर अझै धेरै केही गर्नुछ ।
  •  

    पार्टी एकता प्रक्रिया अघि बढ्दै रहँदा स्थानीयस्तरमा यसबाट पर्न सक्ने प्रभाव कस्तो देख्नुहुन्छ ?
    पार्टी एकता प्रक्रिया तल–तलसम्म प्रभावी हुँदै आएको छ । चाडवाडले पनि गृह कार्य गर्नमा अलिकति समय लिएको हुनुपर्छ । अब चाँडै यो एकताको प्रक्रिया टुंगिएको अवस्था विकास हुनेछ । दुई पार्टी नेतृत्वको उच्च सुझबुझले स्थानीय पार्टी कामलाई व्यवस्थित गर्ने कुरामा म ढुक्क छु । पार्टी र क्रान्तिको एकताको पक्षमा उभिने साथीहरूलाई यो एकताको उत्सवले उत्साहित तुल्याएको भेटेकी छु । कतिपयलाई त टाउको दुखेको होला ! यसबारे मैले भन्नु केही छैन ।

    प्रस्तुतिः भूमिप्रसाद पाठक

 

सम्बन्धित खवर