समीक्षा: ऐतिहासिक पठनीय आत्मा कथा - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

समीक्षा: ऐतिहासिक पठनीय आत्मा कथा

फिपराज बेघा
अहिले आत्मा कथा निक्कै कमै लेखिन्छ । त्यहि कम्ती लाइनमा पर्छ, निम्बल पब्लिकेशन, काठमाडौंको प्रकाशन वीर नेम्बाङद्वारा लिखित आत्मा कथा सङ्ग्रह । नेपालको इतिहास, लिम्बुवानको ऐतिहासिकता विना लुलो लङ्गडो हुन्छ । पुर्वी भूभागको ऐतिहासिकतालाई जोडेर लेखक नेम्बाङले ‘लिम्बुवान भाषिक आन्दोलनदेखि स्वायत्तता आन्दोलनसम्म’ पुस्तक लेख्नु भएको छ । ग्रेटर लिम्बुवान र रेफरेण्डमको समेत पैरखी गर्नुभएका साहित्यकार, पत्रकार तथा समाजसेवी स्व.मदन ढकालप्रति समर्पित पुस्तक वारेमा घोत्लिने प्रयत्न गरिएको छ ।


विषय क्रमको अघिल्लोतिर ‘फक्ताङलुङ् निसाम् हिमः लिम्बुवान आन्दोलनको प्रस्तान विन्दु’ शीर्षक छ । लेखक सामाजिक सेवामा अभिरुचि पैदा भएपछि ७ मार्च १९७६ मा जन्मथलो याम्बोङ, पान्थरमा ‘फक्ताङ्ल्ुङ निसाम् हिम’ निर्माण गर्ने उद्देश्य मुताविक चुम्लुङको आयोजना गर्नुभयो । लिम्बु भाषाको अध्ययन अध्यापन गर्नका लागि लेखकको सभापतित्वमा १६ सदस्यीय समिति गठन भयो । जसको लागि शिक्षक÷शिक्षिका, भवन तयारी गरी उद्घाटन समेत गरियो । उपप्रधानपञ्चसहित केहीले बन्द गराउनेतर्फ उन्मुख भए पनि निसाम् हिम् अझ विद्यार्थी संख्या अधिक हुन गएकाले मजबुद भयो । प्रमुख जिल्ला अधिकारी डम्बरुबल्लभ अधिकारीलाई तिनै गिरोहले निसाम् हिम्मा ‘वीरेन्द्रलाई राजा मान्दैनौं, वीर नेम्बाङलाई राजा मान्छौं, देवनागरी लिपि, भाषा लेखपढ् गर्दैनौं’, लगायत अराष्ट्रिय गतिविधि गर्ने गरेको पोल सुनाए । तर सबुत नपाए पछि लेखकसहितको जमातलाई ४ घण्टा फिदिम प्रहरी थानामा राखे पश्चात् आइन्दा निसाम् हिम् सञ्चालन नगर्न भन्दै छाडियो । १३ डिसेम्बर १९७७ मा प्रधानमन्त्री कीर्तिनिधि विष्टलाई हजारौंको हस्ताक्षरसहित निसाम् हिम्लाई लगाइएको प्रतिबन्ध फुकुवा गर्न विन्ति विसाउदा समेत क्षेत्रीय भाषालाई बढाउने नीति नभएको जनाएपछि सधाकै लागि बन्द भयो । पान्थरको याम्बोङ शिवा खोला, रानीटार ताप्लेजोङको तिरिङ्गे, सुनसरीको धरानमा लेखकको अगुवाईमा निसाम् हिम खोलिए । तर प्रतिबन्ध लगाइयो । किपट र भाषा खोसिएपछि लिम्बुवान आन्दोलनतिर धकेलियो । ६ अगस्ट १७७४ मा गोर्खा राज्य प्रमुख पृथ्वीनारायण साह र लिम्बुवान संघका राजाहरु सुन लिम्बु, कुम लिम्बु, जंग लिम्बुवीच भएको सन्धिमा लिम्बुवानलाई सहराज्यको अधिकार दिने सम्झौता भयो । सन् १७८८ मा राजा रणबहादुर शाहद्वारा सन्धिलाई तोडमोड गरे । ११ अप्रिल १९६१ मा राजा महेन्द्र शाहले सह अस्तित्वको सन्धीलाई नवीकरण गरे । सन्धिलाई उल्लङ्घन गर्दै सन् १९६२ मा अमाल प्रशासन, सन् १९६६ किपट व्यवस्थालाई अधिकारविहीन, १८ मे १९७७ मा भाषामाथि प्रतिबन्ध लगाए । राजाको पञ्चायन तन्त्रले अधिकारीविहीन बनाएपछि लेखक राजाविहीन लिम्बुवानसहितको क्षेत्रीय स्वायत्तताको अधिकार प्राप्त गर्न दृढ संकल्पमा पुगे । ताप्लेजुङ पान्थर, तेह्रथुम, इलाम, भारतको दार्जिलिङ, सिक्किमलगायत क्षेत्रमा अभियान सञ्चालन गरे । दार्जिलिङबाट पर्चा छपाएर दुरदराज गाउँमा बाढे, सभा गरे । भूमिगत ढंगले जनसंगठन गरे । यस क्रममा जनताको साथ प्रशासनको सास्ती खेप्नुपर्यो । लेखकसहितको राजनीति गतिविधिले वीरेन्द्र शाह आतङ्कित भए । वीरेन्द्रले केहीलाई फाँसी पनि दिए । तर राष्ट्रिय जनमत संग्रह (सन् १९८१) भएकाले राजकाज मुद्धामा पुर्पक्षमा रहेका लेखकलाई फाँसी दिएन । ५ अक्टोबर १९८३ मा लेखकसहित ४ जनालाई वारेण्ट जारी गरेपछि भूमिगत जीवन व्यथित गरे । यस बीचमा प्रधानमन्त्री मरिचमान श्रेष्ठले लेखकको टाउको मोल ५० हजार तोकेको हल्ला फैलायो । ८ जनवरी १९८४ मा ‘लिम्बुवान युवा सङ्घर्ष समिति’ निर्माण गरी अध्यक्ष बन्नुभयो । २० डिसेम्बरमा १९८६ मा लिम्बुवान मुक्ति मोर्चा दल स्थापना गर्नुभयो । १८ जनवरी १९८९ मा घोषणा पत्रमार्फत् ‘लिम्बुवान स्वायत्तता जारी गरियो । ४ नोभेम्बर १९९० मा दार्जिलिङ्मा निर्वासनको क्रममा लिम्बुवान लिवरेशन फ्रन्ट एसोसिएट कमिटि इण्डिया गठन भयो । निर्वासनको क्रममा ‘सेम्मुई’ खण्डकाव्य, ‘लिम्बुवानको रामकहानी’, ‘लिम्बु संस्कृतिका केही विशेषताहरु’ पुस्तक प्रकाशन गर्नुभयो ।
सन् १९९९ को आम निर्वाचन बहिष्कार गर्ने क्रममा आमा पुर्णिमा कुगेन्नाम्माको हत्या भयो । हत्याको आरोप छोरा (लेखक) लाई लगाइयो । ज्यान मार्ने उद्योग मुद्दामा फसाउन खोजिएकोमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले मन्त्री परिषद्बाट मुद्दा फिर्ता गराए । र न्याय दिए । २४ जनवरी २००१ मा प्रधानमन्त्री कोइरालासँग ४० मिनेट गफ भएको लिम्बुवान स्वायत्ततामा कन्भिन्स भएको र कांगे्रसको बैठकमा क्षेत्रीय सरकारको प्रस्ताप पारित गराएको उल्लेख छ । सन् २००१ मा प्रकाशित ‘नेप्फु? रे मिम’ कविता सङ्ग्रह प्रधानमन्त्रीले प्रकाशित गरिदिए ।
पुस्तकमा ‘लिम्बुवान आन्दोलनः एक अनुभूति’ बैराङ्गी काइलाको लेख पनि छ । १९ शीर्षकमा लेखिएको संमरणात्मक कथा १ सय ७ पृष्ठमा लेखिएका छ । १ सय ९ देखि १ सय २९ पेजसम्म ४२ वटा आत्मा कथासँग सम्बन्धित फोटोहरु छ । केही अशुद्धपन भेटिन्छ । कभर र डिजाइन राम्रो छ । ऐतिहासिक भूगोल ‘लिम्बुवान’ को विषयमा कम लिम्बुवानजन्य पार्टीको बखान बढी छ । त्यो पनि पञ्चायतदेखि अहिलेसम्मको तरङ्गहरु उल्लेख छ । यसले पञ्चायतकालदेखि अघि लिम्बुवान सन्धीपछि स्वायत्तताको कुरो उठेन कि भन्ने भान हुन्छ । भाषिक आन्दोलन र स्वायत्तताको आन्दोलनसम्म शीर्षक उल्लेख छ । यी दुई आन्दोलनलाई छुट्टा छुट्टै राखेर लेखिएको छैन । भाषिक आन्दोलनको निक्कै कम लिम्बुवान आन्दोलनमा लिम्बुवानसहित नाम उल्लेख भएको राजनीतिक क्षेत्रीय स्वतन्त्र शक्ति मात्रैले भुमिका खेलेको हो कि भन्ने भ्रम पैदा गर्न सक्छ । सामाजिक, अन्य राष्ट्रिय शक्तिहरुको भूमिका बारे उल्लेख छैन । समग्रमा स्वायत्तताको अभियन्ता, हिमायती वीर नेम्बाङलाई पहिचान गर्न अझ मद्दत गर्छ । निश्वार्थ योगदान समानताका लागि गर्नुभएका लेखकको भाषा सरल र सिलसिलाबार छ । स्वायत्ताको आन्दोलन चाख राख्ने, पुर्वी नेपालको इतिहास जान्ने इच्छुकहरुको लागि पुस्तक कामयाबी हुन्छ । मातृभाषा प्रति सरकारले गरेको दुव्र्यवहार र त्यसको विरुद्धमा मातृभाषीहरुले गरेको प्रत्यन्न अनुकरणीय छ । कृतित्वलाई शुभकामना ।

fiprajbegha@gmail.com

सम्बन्धित खवर