फाच्चा हिडेकी सोल्टिनी - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

फाच्चा हिडेकी सोल्टिनी

सन्जित फलाना

कस्सो कस्सो
मङ्सिर नलाग्दै पो
सोल्टिनी त फाच्चा हिडेछिन् !

म त सम्झिदै थिएँ
कतै पात बजाउँदै
सुङ्गुरको चारो खोज्न जङ्गलतिर हिडेहोलिन्
कि त सङ्गिनीहरुसँग खेताला हिडेहोलिन्
नभए पनि मर्चा बेच्न मेलापात हिडेहोलिन्
तर गाउँ नै शून्य हुनेगरी
सोल्टिनी त फाच्चा हिडेछिन्

कस्तो ख्याल नगरेको मैले
कस्तो चाल नपाएको

फुल सिउरिन भनी चुल्ठोमा
थोक्फेलाको बोटमा चढ्दाचढ्दै
थोक्फेलाको रङ पो चढ्न थालेको थियो सोल्टिनीको ओठमा
आँगनीमा निस्किएर
सेल्लोक्वा चरिसँगै दोहोरी खेल्दाखेल्दै
पालाम पो गाउन थालिसकेकी थिइ सोल्टिनीले
थुन्से बोकेर लेकबेसी डुल्दाडुल्दै
थुन्सेमा नआँटेर बैँस
याक्साहरुमा बसेर बाली रुङ्दारुङ्दै
याक्साहरुले नै नथामेर बैँस
घाँसदाउरा गर्दागर्दै
चौबन्दीको तुना सिन्कामा अल्झिएपछि
चौबन्दीले नै नछेकेर बैस
सोल्टिनी त कस्तरी तरुनी भैसकेकी थिइ्

हुर्कदा हुर्कदै बैँस
होचो भयो पहाडहरु
हुर्कदा हुर्कदै बैँस
साँघुरो भयो पाखाहरु
आखिर उमेर न भयो सोल्टिनीको सुरु
उमेर न भयो सोल्टिनीको दुश्मन
तन्नेरी बादलहरुको साथ लागेर
आखिर सोल्टिनीले त माइति घर छाडेछिन्

सम्झिन्छु–
ख्यालख्यालैमा साप्सु मेलामा
साइनो केलाएकै हुँ मैले
–कुन गाउँको हजुर तरुनी
–मन पर्याे कसो गरु नि ?
जवाफमा सोल्ठिनीले पनि भनेकै हो
–हजुरकै म त तरेमा
–लैजानु मन परेमा!

सम्झी ल्याउदा मेरै न हो कमजोरी
गुनासो गर्नुको पनि के तुक हुदो हो र ?
हुन पनि
इङ्बेवा लिएर सोल्टिनीको हात माग्न छोडेर
म मुलाङ कविता मात्रै लेख्दै बसे
भावनामा मात्रै सोल्टिनीलाई सजाउँदै बसे
आखिर चिप्ली नै हाल्यो समय मभन्दा पहिले

खासमा यसरी कस्तरी
हारेको हुँ मैले आँट
निकम्मा बनाएको हुँ आफ्नै जात

सम्झिन्छु
फाच्चा हिडेपनी सोल्टिनी
कसरी अल्झिएको छ यादहरु
गलाबाट उडेको सोल्टिनीको सल
कसरी बादल भएर बसेछ आकासमा
सिरबाट खसेको सोल्टिनीको सिरफुल
कसरी घाम भएर बसेछ फक्ताङ्लुङ्मा
सोल्टिनीको ओठबाट छुटेको सुसेली
कसरी बतास भएछ बाटाहरुमा
हतारमा छाडिएको सोल्टिनीको पाइला
कसरी देउरालीको ढुङ्गा भएछ

जो सम्झिनलाई काफी छ जिन्दगीभरी

कस्सो कस्सो
यो ज्यानलाइ चालै नदिइ
सोल्टिनी त फाच्चा हिडेछिन् ।
–माङ्सेबुङ, इलाम

सम्बन्धित खवर