वेल्समा भट्टचन र आङकाजी ब्रोहरू–२ - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

वेल्समा भट्टचन र आङकाजी ब्रोहरू–२

खगेन्द्र संग्रौला

वेल्समा मेरो भ्रमणको पहिलो र अन्तिम दिन ढल्नढल्न लाग्यो । र, थकित घामले बास बस्न डाँडाबाट खुट्टा खसाल्यो । दिनभरिको धपेडीले ज्यान थकित छन् । तसर्थ हामी पनि घामसँगै थकित पाइला चाल्दै नरेन्द्र निवासतिर झ-यौँ ओराल–ओरालो । कसैको जेबी फोनको घण्टी बज्यो— कोकिलु कुहुँ कुहुँ… । ‘माई डियर लाटी !’ घण्टीको प्रत्युत्तरमा पार्टनर ज्ञानराजको मनोविनोदी प्रेम–संवाद सुरु भयो । ‘लाटी, वी आर गोइङ टु अ पब फर रिफ्रेसमेन्ट । टेक केयर । आई लभ यू ।’ ज्ञान ब्रोको बूढेसकालको रुमानी संवादले हामीलाई भित्रभित्रै मुसमुसु हँसायो । हुन पनि प्रेमको माम्लोमा ज्ञानराज खतरा हुन् । यी चञ्चल एवं वाचाल लाहुरेले फिलिपिनी लाटीलाई धरी पट्याउन भ्याएछन् । म सोध्छु, ‘ज्ञान भाइ, बूढिया साँच्ची नै लाटी हुन् त ?’

‘लाटी नभए, दाइ, यो लाटी किन म बूढाको पछि लाग्थी ?’
‘अनि लाटी ल्याएपछि पहिली बाठी नि ?’
‘पहिले मिलेर बस्ने कुरा ग-या’थी, लाटी आएपछि म त छुट्टिन्छुु भनी ।’
‘अनि ?’
‘अनि नेपालको घरखायल उसकै नाममा दर्ता गर्दिएँ । अनि अलिकता नखत पनि टक्य्राएँ  । दाइ, घरमालिक्नी हुन पाउँदा उता मेरी जेठी बूढी खुसी, सिंगो पोइ पाउँदा यता मेरी लाटी दंग ।’
‘ज्यान दिनदिनै यसरी हल्लिँदै हिँड्या देख्छु,’ प्रसंग फेर्दै म सोध्छु, ‘यो महँगो परदेशमा जिन्दगीको गुजारा कसरी चल्या छ, ज्ञान ब्रो ?’

‘साठी हजार पेन्सन आउँछ, दाइ,’ शानका साथ ज्ञान भाइ उत्तर दिन्छन् । ‘दुईतले बस हप्ताको दुई दिन चलाउँदा, दाइ, मेरो सात दिन मजैले चल्छ । लाटीको कमाइ पनि राम्रो छ । मेरी प्यारी लाटी गाडी सफा गर्छे र मेरो जिन्दगीको रथ चलाउँछे । यस जुनीमा मलाई चिन्ता एउटै कुराको छ, दाइ— गोर्खाली लाहुरेको समान हक । जुन दिन यो हक हात लाग्छ, दाइ, त्यो दिन मेरो थोते मुखले दाँत हाल्छ ।’ थोते मुख च्यातेर ज्ञान ब्रो मस्तसँग हाँस्छन् । र, वातावरणमा आनन्दमय उमंग सञ्चार हुन्छ ।

हामी पब अर्थात् मधुशालामा पुग्छौ“ । नरेन्द्र ब्रो बयान गर्छन्— हेर नम्मरी, यो भेगको यो सबभन्दा नामी पब हो । अनि सबभन्दा दामी पनि हो कि नम्मरी ? हो, त्यो पनि हो । हामी आसन जमाउँछौँ । हाम्रो अगाडि काउन्टरको अग्लो, लामो बारबाहिर बूढाहरू लहरै टुलमा बसेका छन् । चेप्टा र अग्ला ढ्याके ज्यान, बडाबडा जाँते नितम्ब, हाब्रे टाइपका हाउडे स्वर । भाषा बिरानो छ । हैन, यिनले बात मारेका हुन् कि झगडा गरेका हुन् ? दामले नरेन्द्र भन्छन्— यो त यिनले साउती ग-यास्तो हो, नम्मरी । यिनले साँच्ची नै गलो खोलेर बोले भने त….। वेल्सवाले ब्रोहरू मलाई अनौठा लाग्छन् । मानौ“ ती बिराना मानिसहरूसँग चक्षु मिलन नै गर्दैनन् । यसै चक्षु मिलन भइहाले ती रत्तिभर पर्वाह गर्दैनन् । न यसो सद्भावयुक्त मुस्कान आदानप्रदान, न गुडमर्निङ, न हाई–हेलो । पुख्खली जातिहरूका नजरमा ती चीसा मान्छे । तर, आफ्ना नजरमा ती पृथक्, ती अनुपम र ती आफ्नै पनले सुसज्जित ।

छाँटले मागिएको परिकारले बाटाको निकै नै म्याद लिने भयो । मलाई के गरूँ कसो गरूँ भयो । जाडो–जाडो छ । लास्टै भोक लागेको छ । मनको रिक्ततामा हठात् राजेन्द्र पुडासैनी उदाए । राजेन्द्र परे नेकपा डबलका सहयात्री, राजनीतिक धारमा घनश्याम भुसालका जब्बर अनुयायी । बेलायतमा भाले नर्सको काम गरेर शानले गुजारा चलाइरहेका मेरा नवआर्जित मित्र । कार्ल माक्र्सको समाधिस्थल हाईगेटका मेरा गाइड । मान्छे बडो सहयोगी । तिनले वेल्सबारे मलाई अनेक जानकारी दिएका थिए । विस्तारवादी ब्रिटेनले फौजी धावा बोलेर तेह्रौँ शताब्दीमा आफूमा गाभेको वेल्स । ब्रिटेनको पहिलो उपनिवेश वेल्स । विजयी ब्रिटेनले जानअन्जान सनातनी अहंकारी दृष्टिले हेर्न नछाडेको वेल्स । र, विजीत वेल्सले उत्पीडनको अथाह पीडा बिर्सन नसकेको वेल्स । आफ्नो भाषा, साहित्य, इतिहास, परम्परा र राष्ट्रिय खेलकुदमा आफ्नो पृथक् पहिचान, स्वत्व र गौरवको रक्षा गर्न सतत कटिबद्ध वेल्स । यताका वर्षहरूमा त आफ्नो पृथक् पहिचान र स्वाधीनताप्रति झनै आक्रामक मुद्रामा जाग्दै गएको वेल्स ।

सितन र दारु अझै आएको छैन । अन्तरालको त्यो फुर्सदमा मलाई मूत्रत्याग गरूँगरूँ लाग्यो । ट्वाइलेट–चर्पी सोधेर बाहिर गएँ । भित्र सिट सीमित छन्, बाहिर मूत्रत्यागीहरूको लाम लामो छ । म लामको पुछारमा नारिएँ । अनेक मुखबाट सुनेको छु— आफ्नो मातृभूमिको पूर्ण स्वाधीनता वेल्सवासीहरूका लागि ज्यानभन्दा सपना हो । यो आदर्शप्रति आफ्ना  दृष्टिमा ती दृढ छन्, अन्यका दृष्टिमा उग्र । ब्रिटेन र बेलायतका नाम सुन्यो कि क्रोधाग्निले ती जल्छन्— जान्नेहरूले यसरी मेरा कान फुकेका छन् । मौकाको बात हो, तै तै किन सोझै बुझिनहेरू ? तर फसाद छ, सोध्ने कसलाई ? र, बुझ्ने कसरी ? सुनेको छु— वेल्सवासीहरू सबै नै धेरथोर अंग्रेजी बोल्छन् । तर, तिनको उच्चारण ठ्याम्मै बुझि“दैन । अलि बढी पढेका, बाहिरफेर घुमेका र अन्यहरूसँग सरसंगत गरेकाहरूको अंग्रेजी भने तैबिसेक बुझिन्छ । यरो हेरेँ, मेरो अगाडि पवर्ततुल्य पुरुष छन् । अधबैँसे होलान् सायद । हल्का स्पर्शले तिनको ढाड

कोट्याउँदै बिन्ती बिसाएँ— सर, म नेपालबाट आएको । विश्वको सर्वोच्च शिखर सगरमाथाको देशबाट । दार्शनिक सन्त लर्ड बुद्धको देशबाट । मलाई एकाध कुरा सोध्न मन छ । सोध्न मिल्ला ? हुँ म् ! पर्वत पुरुषको अन्तरबाट अनौठो आवाज प्रकट भयो । त्यो सकार हो कि नकार हो, बुझ्न मलाई गाह्रो प-यो । तैपनि सोधिहालेँ— सर, ग्रेट ब्रिटेनबारे यहाँको के विचार छ ? ढ्याके ब्रोको स्वरमा हुंकार गुन्जियो— हुम्, ग्रेट ब्रिटेन ? के हो यो ग्रेट ब्रिटेन ? कसको ग्रेट ब्रिटेन ? तिनका मुखबाट एकाएक मानौँ आगो ओकलियो । कहाँ छ ग्रेट ब्रिटेन ? भाँडमा जाओस् तिनका बाउको ग्रेटब्रिटेन ! तिनको कुरो टुंगिँदा नटुंगिँदै मैले सोधिहालेँ— सर, इतिहास वेल्स ग्रेट ब्रिटेनको मातहतमा छ भन्छ नि त । कसको इतिहास ? पर्वत ब्रोको स्वरमा क्रोधको पारो अझ चढ्यो । कसले लेखेको इतिहास ? हाम्रो अस्तित्व निल्न खोज्ने इतिहास ? हुँ म्, माठिस्को इतिहास !

अपलक दृष्टिले रैथाने बन्धुको अनुहार नियालेँ— अहो ! त्यहाँ त अझै भयंकर क्रोधको आगो धपधपी बलिरहेको छ । तथापि घरबेटी ब्रोले मलाई नै मिचाहा ब्रिटेने र बेलायती ठानेर हात त नछाडून् नै ! मौकाको बात हो, म अरू केही खुल्दुली किन प्रकट नगरूँ ? सर ! — सविनय सोधेँ— अनि बेलायत नि ? हुम् बेलायत ! त्यो अर्कै देश हो । हामी अर्कै देश हौँ । मिचाहा बेलायतलाई हामी घृणा गर्छौँ । मलाई सोध्न मन थियो— स्कटल्यान्ड त आफ्नो पृथक् र पूर्ण अस्तित्वका लागि जनमतसंग्रहमा होमियो । वेल्स नि सर ? पर्वत पुरुषलाई यो बेलायती जासुस हो भन्ने पो लाग्यो कि, उनको अनुहार एकाएक विकृत भयो । र, उनी फनक्क मुन्टो बटार्दै मूत्रत्यागको मोर्चातर्फ लम्किए । मनमा तर्कना उठ्यो— के यी महाशय आम वेल्सीहरूका प्रतिनिधि पात्र हुन् ? के यिनको यो पीडामय हुंकार आम वेल्सीहरूकै साझा हुंकार हो । मलाई थाहा छैन । ती पर्वत पुरुषका कडा कथनहरूले मलाई कसोकसो हाम्रा भट्टचन सर र आङकाजी ब्रोको झल्को दिए । सोचेँ— पीडाको कारण उस्तै छ, र नै त पीडाबाट उत्पन्न औडाहा पनि उस्तै ।

मूत्रत्याग गरेर म मित्रमण्डलीसँग खानपिनको मोर्चामा सामेल भएँ । नगेन्द्र ब्रो मान्छे रहेछन् हुनुसम्म बाठा । नामी र दामी पबको सितन र पेय यसोक्क चखाएर हामीलाई हत्तपत्त आफ्नो गुँडतिर कुदाए । अनि उनको गुँडमै हाम्रो रोजीछाडी इच्छा भोजन सुरु भयो । भोजन चल्दो छ, र, सँगसँगै चल्दो छ हाम्रो वार्तालाप पनि । र, वार्तामा घरीघरी वेल्सका भट्टचन सर र आङकाजी ब्रोहरू हाजिर हुँदा छन् ।

नेपालमा त केवल एकएकजना भट्टचन सर र आङकाजी ब्रो छन् । कुरा सुन्दा लाग्छ, वेल्समा त मेरी बास्सै, भट्टचन सर र आङकाजी ब्रो त कतिकति ! अनुभवसिद्ध कथन छ— कुनै जातिको अस्तित्व मेट्नु छ भने त्यसको भाषा मार्दिनू— बस्, सजिलै काम तमाम । लाग्छ, यो कथनको मर्म आदिवासी वेल्सवासी जनले गजबले बुझेका छन् । त्यसैले भाषाको संरक्षणमा कट्टरताको हदसम्म ती कटिबद्ध छन् । गए बरु आफ्नो ज्यान जाओस्, आफ्नो जातिको अस्तित्व जोगाइदिने भाषाको ज्यान नजाओस् । सुन्दा अनौठो लाग्छ, तर कुरो सत्य हो । जहाँ काइमरायग नामक वेल्स भाषा मात्र पढाइन्छ, ती शिक्षालयहरूमा वेल्स भाषाबाहेक अन्य भाषा चुँ सम्म बोल्न पाइँदैन । के शिक्षक के विद्यार्थी, के अभिभावक के आगन्तुक, यो नियम सबैका लागि समान हो । वेल्समा अर्को एउटा झन् रोचक कुरा छ । कोही बाहिरियाले वेल्स भाषा राम्ररी सिक्यो कि उसको यतैउतै, जताततै हाईहाई भइहाल्यो । रैथाने भाषामा पारंगत भएको त्यो आगन्तुक सेलिब्रेटी मानिन्छ । उसको अभिनन्दन गरिन्छ । र, राष्ट्रिय विभूतिसरह उसको मान–सम्मान हुन्छ ।


र, अर्को रोचक प्रसंग । सुनेको थिएँ— वेल्समा एउटा हिन्दू मन्दिर छ, जसका पुजारी खाँट्टी गोरा पण्डितजीहरू छन् । यसमा मेरा केही जिज्ञासाहरू थिए । गोरा सरहरू के केको पूजा कसरी गर्दा हुन् ? अनि तिनका जिब्राले संस्कृतमा जप्दा हिन्दू भजन–कीर्तनहरू कस्ता सुनिँदा हुन् ? आफैँ गएर प्रत्यक्ष हेर्न र सुन्न समय र संयोगले मलाई साथ दिएन । तथापि मैले बेलायतमै चिनजान भएका मित्र केदार संकेतको यात्रा वृत्तान्त पढेर न्यूनाधिक रहर मेटेँ । केदारजी भूपू गोरखा हुन् । र, यी लाहुरे हुन्, बेलायतको नेपाली साहित्यका नामुद नियात्रा लेखक ।

यिनी यात्रा वृत्तान्तलाई नियात्रा मान्दैनन् । यिनी भन्छन्— तारानाथ शर्माले जुराएको नियात्राको मिति पुग्यो । यिनले नियात्राको नयाँ नाम ‘यात्रा–स्पर्श’ राखेका छन् । यो शब्दको मलाई खासै अर्थ लाग्दैन । तर, यो नाम जुराएकोमा केदारजी हुनुसम्म गौरवबोध गर्छन् । छाँटले यात्रा मिस्टर केदारको नामकै पर्यायजस्तो लाग्छ । मौका प-यो कि यसो फेरफार गर्ने लगौँटी आदि झोलामा हाल्यो र लुरुलुरु यात्रामा निस्किहाल्यो । केदार खुब कमाउँछन् र रोमाञ्चक यात्रामा मुठ्ठी खोलेर बगाउँछन् । यिनको एउटा ‘यात्रा–स्पर्श’ छ— ‘बेलायतको वेल्समा गोरा पण्डितहरू’ । यो रचना हिन्दू मन्दिर र गोरा पण्डितहरूको विस्तृत एवं जीवन्त वृत्तान्त हो । इतिहास भन्छ— यो मन्दिर स्वामी शुब्रमण्यम्ले खडा गरेका हुन् । समय हो १९७३ तिर । श्रीलंकाली शुव्रमण्यम् ब्रो दोश्रो विश्वयुद्धपछि लन्डन छिरेका थिए । लन्डनमा उनी निकै वर्ष योगका पूर्णकालिक गुरु बने । अनि शान्त तपोवनको खोजीमा उनी वेल्स पुगे । र, उनले यो हिन्दू मन्दिरको स्थापना गरे । मन्दिरमा उनको प्रतिमा हुनु र त्यो नित्य पुजिनु यस तथ्यको प्रमाण हो ।

यात्रापारखी केदारका अनुसार दर्शनार्थीहरू वेबसाइटबाट मन्दिर दर्शनको बुकिङ गर्छन् । मन्दिरमा भोजन फिरी छ । दर्शनार्थीहरू इच्छा र गच्छेअनुसार दानपात्रमा दान गर्छन् । मन्दिरभित्र पचासजना दर्शनार्थी अटाउँछन् । बाँकीहरूले बाहिर बसेर बिजुली पर्दामा दर्शन गर्छन् । मन्दिरमा पालना गर्नुपर्ने नियमहरू सुनाउँदै पण्डितजी भन्छन्— तीन दिनयता माछा–मासु खाएकालाई मन्दिरमा प्रवेश निषेध छ ।

तर, हाम्रा प्रहरीले मापसेलाई झैँ ‘हा गर्’ भनेर पण्डितजी मांसाहारीको शुद्धताको जाँचचाहिँ लिँदैनन् । गोरा किशोरीहरू पशुपतिको मन्दिरमा झैँ “ कसैलाई नछुवाई सुनका घै“टामा पानी भित्र्याउँछन् । अनि पूजास्थल र देवी–देवताको शुद्धाशुद्धीपछि शंख, घण्ट र डमरुको सुमधुर लयमा पूजा सुरु हुन्छ । केदार लेख्छन्— गोरा पण्डितहरूको संस्कृत उच्चारण अजीवको छ । एकाग्र चित्तले सुन्दा पनि त्यो एकचौथाइ मात्र बुझिन्छ । निधारमा तीन धर्के चन्दन, गलामा रुद्राक्षका माला, देहमा गेरु वस्त्र । अनि वस्त्रको अन्तरमा ? आङमा जनै, कटिमा कन्दनी र कटिमुनि लगौँटी हुन्छ–हुन्न, केदारले केही भेउ पाएनन् क्यार । र, नै त पूजासामा र पूजा–प्रक्रियाको त्यो इतिवृत्त वर्णनमा यति रोचक कुराको उल्लेख भएन ।

वेल्सका गोरा पण्डितहरू यताका हाम्रा कर्मकाण्डविद् पण्डितभन्दा किञ्चित् उदार रहेछन् । यताका कर्मकाण्डविद् पण्डित रामचन्द्र गौतमहरू कथित ‘देवताकृत शास्त्रवचनहरूमा एउटा अल्प, अर्ध र पूर्ण विरामधरी तलमाथि हुनु हुँदैन’ भनी लिट्टी कसेर जिद्दी गर्छन् । र, रुढिग्रस्त कर्मकाण्डी शास्त्रलाई निर्बन्ध लक्ष्यतर्फ उन्मुख गतिमान् जीवनका बाटाको तगारो बनाउँछन् ।

जनचेतनाको सशक्त धक्काले हिन्दू राजतन्त्रलाई मासेर मुलुकले गणतन्त्रमा पदार्पण गरिसक्यो । तैपनि यताका मन्दिरबाहिर ‘हिन्दू मात्रलाई प्रवेशको छुट’ भन्ने संकीर्ण सूचना अझै झुन्डिएकै छ । तर, वेल्सको मन्दिरभित्र सकल हिन्दू देवी–देवताका समीपमा क्राइस्ट र बुद्धका प्रतिमा पनि राखिएका छन् । र, हिन्दू देवी–देवतासँगै ती पनि ससम्मान नित्य पुजिन्छन् । अतिशय चल्तीको रुढ कथन दोहो-याउँदै म सविनय विनेदन गरूँ— हाम्रा गोर्खे गहुँगोरा पण्डितहरूले वेल्सका गोरा पण्डितहरूबाट उदारताको सानो पाठ सिके के नै पो बिग्रेला र !

-Naya patrika

सम्बन्धित खवर