उपत्यकामा तरकारी खेतीः दुई वर्षमै उठ्छ लगानी - Sainokhabar
  • शुक्रबार, मङि्सर १२, २०७७

उपत्यकामा तरकारी खेतीः दुई वर्षमै उठ्छ लगानी

काठमाडांै । ललितपुरको ग्वार्कोदेखि चार किलोमिटर दुरीमा छ सानागाउँ । सानागाउँमा दश रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् भोजपुरका बलिराज खम्बु ।

उनी पूर्णकालिन कृषि क्षेत्रमा लागेको चानचुन नौ वर्ष पुगेको छ ।

आजका दिनसम्म आइपुग्दा उनको कृषक जीवन प्रेरणादायी छ र आर्थिक उन्नति सन्तोषजनक छ । उनी भन्छन्, ‘म जहाँ जाँदा पनि आफूलाई फार्मर ९कृषक० हुँ भन्छु । म आफ्नो पेशाप्रति सन्तुष्ट छु ।’

वास्तवमा नेपालको आर्थिक समृद्धिको एउटा प्रमुख आधार कृषि नै हो, यसमा दुईमत छैन । हामीले हाम्रो देशलाई ‘कृषिप्रधान देश’ पनि भन्दै आएका छौँ ।

तर आजका युवा पुस्ताको रुचि कृषि कर्ममा छैन । गाउँमा आफ्नो खेतबारी बाँझो नै किन नहोस् उनीहरुको गन्तव्य बन्छ विदेश ।

खेतबारीमा काम गर्न छोडेर जीविका चलाउनैका लागि साउदी अरब जाने चलन फेशनजस्तै बनेको छ अहिले ।
तर बलिराज खम्बु यस्ता व्यक्ति हुन्, जो निरन्तर परिश्रम र धैर्यता गर्ने हो भने देशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन ।

दुई वर्षमै उठ्छ लगानी
जग्गा भाडामा लिएर तरकारी खेती गर्दा दुईदेखि तीन वर्षभित्रमा लगानी उठ्ने खम्बुले बताए ।

उनले सानागाउँमा काम गर्दा बस्ने टहरा, खेतीका लागि नौवटा टनेल र कृषि औजारहरुको व्यवस्था गर्दा सुरुमा करिब तीन लाख रुपैयाँ लगानी गरेका थिए ।

ट्याक्टर, पानी तान्ने पम्पलगायत औजार खरिदमा फेरि उनले डेढ लाख रुपैयाँ खर्च गरे । खेती गर्न थालेदेखि हालसम्म नौ लाखजति खर्च भएको छ उनको ।

दश लाख नै लगानी गरियो भने पनि त्यो लगानी सहजै उठ्ने उनको भनाइ छ । ‘लगानी दश लाख नै भयो भने पनि त्यो पाँच वर्षसम्मको लागि हो । यो साल तरकारीको मूल्य पाइएन भने अर्को साल पाइन्छ,’ उनी भन्छन्, ‘यो क्षेत्रमा दुई वर्षमै लगानी उठ्छ । तर त्यसको लागि आफू पनि खट्नुपर्छ । आफूचाहिँ नखट्ने अरुलाई मात्रै काम लाउने हो भने चाहिँ गाह्रो हुन्छ ।’

बोडी मात्रै दिनमा दश हजारको टिप्छु
खम्बुको कृषि फार्ममा कम्तिमा पाँच जनाले हरेक दिन काम गरिरहेका हुन्छन् । खेतीको मुख्य सिजनका बेला थप कामदार मगाउँछन् उनी । उनले बिहान १० देखि बेलुकी ५ बजेसम्म काम गर्नेलाई दैनिक चार सय पचाँस रुपैयाँ ज्याला दिन्छन् ।

मासिक रुपमा काम गर्नेहरुलाई १२ देखि १३ हजार रुपैयाँ दिन्छन् । जसमा शनिबारको दिन विदा दिइन्छ ।
आफ्नो खेतीमा वर्षभरि काम गर्नेहरुलाई दिने पैसा सिमी र बोडीबाटै पुग्ने उनले बताए ।

‘धेरै चिजहरु हाल्नुपर्छ, कामदारहरुलाई एक वर्षसम्म दिने तलब त राम्ररी गरियो भने सिमी र बोडीबाटै उठ्छ,’ उनले भने, ‘किनभने मैले एकचोटि मज्जाले स्याहार गरेँ भने बोडी मात्रै दिनमा दुई सय केजी टिप्छु । पचाँस रुपैयाँ केजीको हिसाब गर्दा पनि १५ दिन मात्रै टिपे भने कामदारलाई दिने पैसा पुग्छ ।’

उदाहरणका लागि वर्षभरिमा दश लाख रुपैयाँको तरकारी विक्री भयो भने जग्गाको भाडा, कामदारको ज्याला, बिउ–विजन, औषधि, मल आदिमा लागेको खर्च कटाउदा कम्तिमा ४ देखि ५ लाख रुपैयाँ बचत हुन्छ ।

उनले एक वर्षमा टमाटरमात्रै २५ देखि ३० हजार केजी विक्री गर्छन् । उक्त टमाटर किलोको ३० रुपैयाँले हिसाब गर्दा पनि २५ हजार केजीको साढे सात लाख रुपैयाँ हुन्छ ।

खम्बुले वर्षभरिमा टमाटर, बोडी, सिमी, साग, धनिया, काउली, बन्दा, ब्रोकाउली आदि उत्पादन गर्छन् । जसमध्ये टमाटरलाई नै प्राथमिकता दिइन्छ । उनले आफ्नो कृषि फार्ममै कुखुरा पालन समेत गरेका छन् ।

गाउँ छोडेर किन काठमाडौंमा खेती ?
काठमाडौँ उपत्यकामा जग्गा भाडामा लिएर निकै दुःख गरेर तरकारी खेती गरिरहेको देख्दा सामान्य दृष्टिकोणमा एउटा प्रश्न उब्जिन्छ, ‘काठमाडौंमा अरुको जग्गामा खेती गर्नुभन्दा गाउँको आफ्नै बारीमा गरेको भए हुन्नथ्यो ?’

भोजपुरस्थित टेम्केमैयुङ गाउँपालिका(१ तिम्मा स्थायी घर भएका खम्बुलाई यही प्रश्न गरियो ।

गाउँमा व्यवसायिक तरकारी खेती गर्न नसकिने दुईवटा कारण उनले बताए । पहिलो यातायातको समस्या, दोस्रो बजार ।

भोजपुरको सदरमुकाममै केही साथीहरुसँग मिलेर उनले तरकारी खेती गरेका थिए केही वर्षअघि । कतिपय तरकारीका विउ–विजनहरु काठमाडौँबाट पनि लगियो ।

धेरै मेहनत गरेर राम्रो क्वालिटीको तरकारी उत्पादन गरियो । तर तरकारीले बजार नै पाएन ।

‘तरकारी त उत्पादन गरियो तर बजारमा विक्री गर्नै सकिएन,’ उनले भने, ‘जसरी काठमाडौँ उपत्यकामा उत्पादन भएको वस्तुहरु सहज रुपमा सस्तो वा महंगो जे भए पनि बजारसम्म पुग्छ, यस्तै त्यहाँ पनि भइदिएको भए काठमाडौँमा सायद कसैले गर्दैनथ्यो होला ।’

भोजपुर सदरमुकाम जोड्ने सडक अझै पनि कच्ची छ । बर्खायाममा तराईदेखि सदरमुकामसम्म गाडी चल्दैन ।

यातायात नै राम्रोसँग नपुगेका ठाउँमा आजका भोलि बिग्रिहाल्ने तरकारी खेती गर्न सकिदैन ।

तर अदुवा, लसुन, बेसार, मुलाको सिन्की, गुन्द्रुकजस्ता तत्काल नबिग्रिने सामानहरु भने उत्पादन गर्न सकिने खम्बुले बताए ।

अबको योजना
काठमाडौँ उपत्यकामा वर्षेनि प्लटिङका कारण खेतियोग्य जमिन खुम्चिदै छ । खम्बुले हाल पुनः पाँच वर्षसम्मका लागि जग्गाधनीसँग सम्झौता गरेका छन् ।

काठमाडौँमा आमा, श्रीमती, छोरा, भाञ्जाभाञ्जी, भदैहरुसमेत गरी नौजनाको परिवार धान्दै आएका उनले अझै केही वर्ष सानागाउँमै तरकारी खेती गर्ने सोंच बनाएका छन् ।

भविश्यमा भने गाउँमै गएर उपयुक्त किसिमका खेती गर्ने विचार छ उनको ।

‘गाउँमा तरकारी नै नभएर अरु पनि उत्पादन गर्न सकिन्छ,’ उनले भने, ‘जस्तै धेरै समय टिक्ने खालका अदुवा, बेसार, लसुन, प्याज आदि धेरै चिजहरु उत्पादन गर्न सकिन्छ ।’

काठमाडौं उपत्यकामा कृषि क्षेत्रमा लाग्नेहरुलाई उनले सुझाव समेत दिए ।

‘यो क्षेत्रमा लाग्दा मुख्य कुरो चाहिँ धैर्यता नै चाहिन्छ । धैर्यता नभएकाहरु चाहिँ पहिलो वर्ष घाटा भयो भने मेरो लगानी पाँच वर्षको लागि हो भनेर सोच्दैनन् उनीहरु । घाटा भएपछि नहुने रहेछ भनेर खेती छोडेर विदेश पलायन हुुनेहरु पनि धेरै छन्,’ उनले भने, ‘तर म के भन्छु भने पहिलो वर्ष बिग्रियो भन्दैमा छोड्नु हुँदैन । सुरुमै यो क्षेत्रमा लगानी गर्छु वा लाग्छु भनेर सोंच्नु भनेको पाँच वर्षका लागि हो, तर त्यसरी सोचिएन भने चाहिँ यो क्षेत्रमा नलाग्दा पनि हुन्छ ।’
 सार्वजनिक

सम्बन्धित खवर