बजारले लतारेका फिल्म, म्यानेजरजस्ता निर्देशक सिक्वेलको पछि लागिरहे फिल्म उद्योग सकिन्छ  - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

बजारले लतारेका फिल्म, म्यानेजरजस्ता निर्देशक सिक्वेलको पछि लागिरहे फिल्म उद्योग सकिन्छ 

नविन सुब्बा


अहिलेका सबै फिल्म किन उस्तै लाग्छन् ? किन दर्शकले नेपाली फिल्म हेर्दैनन् ? यसको जवाफ खोज्न टाढा जानु पर्दैन । आफैंसँग प्रश्न गरे पुग्छ ।
अहिले हामी बजारबाट बढी निर्देशित भयौं । बजारमा कस्तो फिल्म चल्छ भनेर फिल्म बनाउने प्रवृत्ति विकास भयो । समस्या यहीँबाट सुरु भएको छ । पुरातन ढर्राको फिल्ममा चित्त नबुझाएर निश्चल वस्नेतले ‘लुट’ बनाए । दर्शकले रुचाए । त्यसपछि ‘यस्तो फिल्म पो चल्नेरहेछ’ भन्ने मनोविज्ञान विकास भयो । नयाँ छिमलका फिल्मकर्मी धमाधम ‘लुट’ जस्तै फिल्म बनाउन थाले । यो बजार निर्देशित मनोविज्ञानको उपज हो ।
पछि निश्चलले नै त्यसको सिक्वेल बनाए, जुन अपेक्षाकृत चलेन । किन ?
जतिबेला ‘लुट’ चल्यो, त्यसबेला समाजको अपेक्षा, आवश्यकता र रुची एक किसिमको थियो । तर समयको गतिसँगै समाजको अपेक्षा र आवश्यकता फरक भइसकेको हुन्छ । मान्छेको सोच र शैली फरक भइसकेको हुन्छ । जब फिल्म मेकर्स दुई बर्षअघिको ‘लुट’लाई मानक बनाएर सोही ढर्राको फिल्म बनाइरहन्छन्, दर्शकलाई त्यो बासी लाग्न थाल्छ । वेस्वादको लाग्न थाल्छ । उस्तै र उही कुरा हेरेर दर्शक सँधै तृप्त हुँदैनन् ।
अहिलेका फिल्ममेकर्सको कमजोरी कहाँ छ भन्दा, उनीहरु एउटा निश्चित जनराभन्दा बाहिर निस्किएर काम गर्नै सक्दैनन् । यही कारण फिल्ममा नयाँपन मिल्दैन ।

सिक्वेलले डुबाउँछ

मैलें एकपटक भनेको थिएँ, ‘साथीहरु सिक्वेलले डुबाउँछ है । यसले तिमीहरुलाई मात्र होइन, फिल्म उद्योगलाई नै डुबाउँछ ।’

त्यसबेला मलाई ‘नेगेटिभ कुरा गरेको’ आरोप लाग्यो । यथार्थ के भने यदि तपाई सिक्वेल बनाउनु हुन्छ भने एउटा सूत्रभित्र बाँधिनु अनिवार्य छ । सूत्रले फिल्म मेकर्सलाई न नयाँ वा फरक गर्ने चुनौती दिन्छ, न दर्शकलाई ताजापन ।

फिल्म मेकर्सले हरेक पटक नयाँ चुनौती लिनुपर्छ । उनीहरु आफूले आफैंलाई परीक्षामा राख्न थाले, आफैंमाथि प्रश्न उठाउन थाले भने पो सुधार आउँछ । तर, हाम्रा साथीहरु बजारका गुलाम भइदिए ।

दर्शक वा बजारबाट उम्किएर फिल्म बनाउने भन्ने कुरा होइन । दर्शकमा पनि अब विश्लेषणात्मक चेत बढेको छ । उनीहरु फिल्मको भाषा बुझ्न सक्ने भइसकेका छन् । नेपाली मात्र होइन, बलिउडका फिल्ममाथि पनि दर्शकले टिप्पणी गर्न थालेका छन् ।

तर, दर्शकको रुचीमा रुमल्लिइरहने भन्दा पनि उनीहरुमा उत्सुकता र फरक रुची जगाउने फिल्म निर्माण गर्नु आजको आवश्यकता हो ।

फिल्म निर्माणमा पैसा लगानी हुन्छ । त्यो लगानी डुबाउनका लागि गरिएको होइन । तर, त्यसो भन्दैमा बजारसँग पूरै लतारिनु गलत हो । बजारमा निर्भर हुनुभयो भने तपाईंले जे गल्ती गर्दै हुनुहुन्छ, त्यही बारम्बार दोर्होयाउनुहुनेछ ।

हो, हलिउडले पनि सिक्वेल बनाउँछ । तर, पहिलोभन्दा दोस्रो, दोस्रो भन्दा तेस्रोमा उसले नयाँ तत्वहरु थप्दै लान्छ । कथानक, प्रस्तुती वा प्रविधि सबै कुरामा स्त्तरोन्नती गर्दै लान्छ । यही कुराबाट दर्शकले नयाँपन महसुस गर्न सक्छन् ।

नयाँपन खोज्न सकिएन भने प्रत्येक पल्ट सस्पेन्स निर्माण गर्न सकिएन भने सिक्वेल बनाउनु व्यर्थ छ ।

हामीसँग रिफ्रेन्सहरु सिमित भए । बलिउड, हलिउड, मद्रासी, कोरियन फिल्मको रिफ्रेन्समा सिमित भएर फिल्म बनाउँदा पनि समस्या भएको हो ।

रिफ्रेन्स जीवनसँग जोडिनुपर्छ । नयाँपन दिनका लागि बाहिरको रिफ्रेन्स राखेर हुँदैन, आफैभित्र खोज्नुपर्छ । जीवनसँग मिल्ने क्यारेक्टर खोज्नुपर्छ ।

स्टारडमको चक्कर

अहिले सुन्छु, फलानो स्टार, फलानो सुपरस्टार । हाम्रा फिल्म मेकर्स पनि त्यही स्टारको स्टारडम भजाउने चक्करमा दौडिरहेका छन् । हो, फिल्ममा स्टारडमको एक किसिमको स्थान हुन्छ तर, उसको स्टारडमलाई कसरी पेश गर्ने भन्ने कुरामा एकछिन घोरिएर पुग्दैन । त्यसका लागि फिल्म मेकर्ससँग पनि खास खुबी हुनुपर्छ ।

सलमान खानको फिल्ममा अक्सर उनकै स्टाइल देखिन्छ । उनलाई दर्शकले सलमान खानकै छविमा हेर्न चाहन्छन् । तर, उनले सलमान खान हुनका लागि कति मेहनत गरेको छ भन्ने कुरा हामी बुझ्दैनौं ।

सलमान खानलाई खेलाउनका लागि जति फिल्म बन्छन्, त्यसको कथा उनलाई नै सोचेर लेखिन्छ । डायलग पनि उनैलाई फिट हुने गरी लेखाइन्छ । गेटअप, डायलग डेलिभरीदेखि चरित्र निर्माण गर्दासम्म उनलाई केन्द्रमा राखेर काम गरिन्छ । अनि पो सलमान खान हरेक फिल्ममा आफ्नै स्टाइलमा देखिन्छन् । हामीकहाँ यो ढंगबाट काम हुँदैन ।

हाम्रा कलाकारहरु आफूलाई दोर्होयाइरहेका मात्र छन्, नयाँ चिज दिन सकेका छैनन् । एउटा फिल्ममा गरेको अभिनयभन्दा अर्को फिल्ममा फरक गरेर दर्शकमा ‘अहो १’ भन्ने खालको भाव जगाउने जागरुकता देखिएन । सरलता र नयाँपनको अभाव देखिन्छ । कलाकर्मीहरु भर्सटाइल बन्नुर्पयो ।

खासमा भन्ने हो भने कलाकारहरुमा प्रशिक्षणकै कमी छ । हाम्रा कलाकर्मीहरुले आफ्नो चरित्रअनुसार तयारी गरेको मलाई थाहा छैन । उनीहरुले अभिनयको बारेमा वहस वा मन्थन गरेको पनि पाइँदैन ।

वास्तवमा एउटा कलाकारले ट्याक्सी ड्राइभरको भूमिकामा न्याय गर्नका लागि उसले केही समय ट्याक्सी ड्राइभरको जीवन नै बाँच्नुपर्छ । नभए त पर्दामा बनावटी देखिन्छ ।

थिएटरका कलाकारले बिगारे

अहिले नेपाली सिनेमामा थिएटरबाट आएका कलाकारहरुको चाप छ । क्रेज पनि छ । मैले भन्ने गरेको छु, ‘थिएटरका कलाकारहरुले अभिनय बिगारे ।’ धेरैलाई यो कुरा पच्दैन । धेरैले यो कुरा बुझ्दैनन् ।

मैले हिजोमात्र एउटा थिएटर कलाकारको अन्तर्वार्ता पढेको थिएँ । उनले त्यसमा भनेका थिए, ‘फिल्म त धेरैले गर्छन् । तर, मलाई भने रंगमञ्चमै काम गर्न बढी रुची छ ।’ अरु पनि थियटरका कलाकारले बोल्ने भाषा यही हो । उनीहरुमा के दम्भ देखिन्छ भने, ‘म त नाटकबाट आएको हुँ । म एकेडेमिक छु ।’

उनीहरु फिल्म खेल्छन् । तर, फिल्ममा भन्दा रंगमञ्चमै बढी लगाव भएको बताउँछन् । यसको मतलब फिल्मप्रति इमान्दार छैनन् ।

फिल्ममा लगाव नभएपछि त्यसमा उनीहरुको समर्पण, त्याग, साधना पनि नहुने भो । आफु जुन क्षेत्रमा काम गरिरहेका छौं, त्यसप्रति इमान्दार भएनौं भने त्यसमाथि आफ्नो विश्वास भएन, त्यसप्रति हाम्रो साधना भएन भने नतिजा के हुन्छ ?

मूख्य भूमिका निर्वाह गर्ने कलाकारको चरित्र निर्माणमा बढी मेहनत गरिन्छ । त्यही चरित्रलाई मात्र फोकस गरिन्छ । यद्यपि फिल्म भनेको टिमवर्क हो । सबै कलाकार त्यसरी नै चलायमान हुनुर्पयो, निर्माण हुनुर्पयो । फिल्म भनेको एक्सनको रियाक्सन हुनुपर्छ ।

एउटा पात्र मात्र तगडा भएर भएन, उसँग संवाद गर्ने वा उसँग देखिने अर्को पात्रले पनि उसकै बराबर प्रतिक्रिया दिन सक्नुपर्छ । कलाकारमा चार वटा कुरा हुन्छन् । मेमोरी, सेन्स, इम्याजिनेशन र बडी । अभिनय गर्दा यही चार वटा कुरा चल्नुपर्छ । त्यसमा नियन्त्रण गर्न सक्नुपर्छ । यस्ता कलाकार हामीसँग छैनन् जस्तो लाग्छ ।

निर्देशक म्यानेजर जस्ता

पछिल्लो समय फिल्महरु एकपछि अर्को फ्लप भइरहेका छन् । तर फिल्म बन्ने क्रम रोकिएको छैन । हप्तामा दुई(तीन फिल्म घोषणा भइरहेका छन्, प्रदर्शन भइरहेका छन् ।

म आफैं अचम्ममा छु, यत्तिका फिल्मको लगानी कहाँबाट आइरहेको छ, कसरी फिल्म बनिरहेका छन् ?

सम्भवतः अहिले फिल्म निर्देशकले होइन, म्यानेजरहरुले बनाइरहेका छन् । यताबाट लगानी खोज्ने, उताबाट इक्विपमेन्ट जुटाउने, अर्कोतिरबाट कलाकार ल्याउने । यसरी चारैतिरबाट बन्दोबस्ती गरेर फिल्म बनाउनेहरु छन् जस्तो लाग्न थालेको छ ।

केही निर्देशकहरु भेटेको छु, जो ‘मैले क्या फिल्म बनाएँ’ भन्दै हिँडिरहेका हुन्छन् । एउटा निर्देशकले कसरी भन्न सक्छ कि मैले राम्रो फिल्म बनाएँ भनेर ? निर्देशकले जब यस्तो कुरा गर्न थाल्छ, समस्या त्यहीँबाट सुरु हुन्छ ।

हामीले जोसेफ वान स्टर्नबर्गलाई सोध्यौं भने पनि उनले ‘म मास्टर होइन’ भन्छन् । प्रत्येक पटक फिल्म बनाउँदा परीक्षा दिएको जस्तो लाग्छ भन्छन् ।

तर, नेपालमा पछिल्लो प्रवृत्ति जुन किसिमले विकसित हुँदै गएको छ, अर्थात फिल्म मेकिङलाई जसरी हाँकेको र हाँकेका छौं, त्यसले हामीलाई ठूलो दूर्घटनामा पनि पार्न सक्छ । फिल्म उद्योग नै नराम्ररी ध्वस्त हुनसक्छ ।

त्यसको उदाहरणका रुपमा हङकङलाई लिन सकिन्छ । कुनै बेला वाषिर्क ६ सय वटा फिल्म बन्ने हङकङमा अहिले मुस्किलले ४० वटा बन्छन् ।
हामी सधै एउटै लयमा बग्ने होइन । सँधै अरुले बनाएको सूत्र पछ्याउने होइन । आफ्नै भाषा निर्माण गर्नुर्पयो । सत्यजित रेको फिल्म त चलेन । तर, त्यसले एउटा मानक बनाइदियो । प्रयास के हो भने, त्यो भाषालाई उत्कृष्ट ढंगले भन्ने कोशिस गर्नुर्पयो ।

म त बजारका लागि फिल्म बनाउने भन्नेले पनि कलामा सम्झौता गर्नुभएन । सञ्जय लिला भन्सालीले बजारकै लागि फिल्म बनाउँछन्, तर अब्बल खालको । उत्कृष्टताका लागि कुनै सम्झौता गर्दैनन् ।

निर्देशन गर्दा, सिनेम्याटोग्राफी गर्दा, प्लटिङ गर्दा लाइन र स्पेशलाई कसरी खेल्ने, कुन एंगलबाट खेल्ने भन्ने कुरामा मन्थन गरिन्छ । एउटा कलाकारलाई कहाँ उभ्याउने, किन उभ्याउने, त्यसरी उभ्याउँदा उसमा कस्तो मनोवैज्ञानिक प्रभाव परिरहेको हुन्छ, त्यसले दर्शकमा कस्तो प्रभाव र्पा भन्ने कुरा सोचिन्छ । तर, हामी त्यो लेभलमा काम गर्दैनौं ।

कुनै निर्देशकलाई सोधौं न, त्यो एक्टर किन त्यहाँ बस्यो ? उसले भन्छ, ‘थाहा छैन ।’ हामीकहाँ यसको अर्थ र आवश्यकता खोजिँदैन ।

राम्रा निर्देशकले विभिन्न तरिकाले काम गर्न सक्छन् । निर्देशकको आ(आफ्नै शैली पनि हुन्छ, काम गर्ने । जस्तो कति निर्देशकलाई कति एंगलमा क्यामेरा हेर्नेदेखि लिएर डिटेलमा सबै कुराको ज्ञान हुन्छ । र, त्यही अनुरुप उसले काम पनि लिने गर्छ ।

बलिउडकै कुरा गरौं न, केही यस्ता निर्देशक छन्, जसले कलाकारलाई प्रत्येक फ्रेममा कति स्पेश दिने, कहाँ उभिने, कसरी उभिने भन्नेसम्मको नियन्त्रण गर्छन् ।

कोही निर्देशक पात्रलाई स्वतन्त्र छाड्छन् र क्यामेरा पछिल्तिर बसेर आफूले खोजेको कुरा आयोरआएन भनेर हेर्ने गर्छन् । अनुराग कश्यप यस्तै निर्देशक हुन् । उनी पात्रलाई खुला छाड्छन् । तर, त्यसबाट आफूले सोचेअनुसार कसरी काम लिने भन्ने कुरामा ख्याल राख्छन् । यो पुगेन, त्यो भएन, यसो गर्नुपर्छ, उसो गर्नुपर्छ भनेर क्यामेरा पछाडि उभिएरै सिकाइरहेका हुन्छन् ।

हलिउडले हरेक कुराको गहिरो अध्ययन गर्छ । अभिनयदेखि क्यामेरा चलाउने कुरामा समेत त्यसको अर्थहरु खोजिन्छ । हामीले पनि यस्तै अर्थ राखिदियौं भने त्यो दर्शकले खोजी गर्छन् ।

लोकेसनकै कुरा गरौं । हामीकहाँ अभिनेताले सुदूरपश्चिमको लवजमा संवाद बोल्छ, सुटिङ चाहि पनौतीमा हुन्छ । त्यो त दर्शकको चेतनास्तरमाथि हमला गर्ने कुरा भयो । किनभने दर्शकलाई यस्तो अमिल्दो कुरा पच्दैन । उनीहरुले यो कहाँ के नमिले जस्तो भयो भनेर भनिहाल्छन् ।

कुनै निर्देशकले स्कृप्टबिना नै फिल्म बनाउँछन्, तर उनीहरु विलक्षण प्रतिभाशाली हुन्छन् । स्कृप्ट फिल्मको मेरुदण्ड हो । मेरुदण्ड नै कमजोर भए फिल्म बलियो हुने कुरा भएन ।

हामीकहाँ धेरै कुरामा सीमितता छ । त्यसमध्ये प्रमुख हुन्, निर्देशकको क्षमताको सीमितता, राम्रो प्रोड्युसरको अभाव ।

हामीकहाँ पैसा लगानी गर्ने नै प्रोड्युसर बन्ने चलन छ । कति निर्देशकहरु आफै स्कृप्ट राइटर छन् । उनीहरु दुईरतीन महिनामा स्कृप्ट लेखेर सिध्याउँछन् । कसरी लेखिन्छ ? कस्तो लेखिन्छ ?

अर्को समस्या के छ भने, हामीकहाँ पहिले पैसा खोजिन्छ, अनि कलाकार खोजिन्छ, त्यसपछि स्कृप्ट । जबकी हुनुपर्ने ठिक उल्टो हो । पहिले स्कृप्ट हुनुपर्छ । स्कृप्टले कलाकार डिमान्ड गर्छ । त्यसले बजेट डिमान्ड गर्छ ।

हामीकहाँ स्कृप्ट राम्रो भएन भन्यो भने पैसाको कमि देखाउँछन् । स्कृप्ट लेख्नका लागि कति बजेट चाहियो ? उपन्यास लेख्न त चाहिँदैन ।
वास्तवमा स्कृप्ट राइटरलाई पनि प्राविधिक ज्ञान हुनु आवश्यक छ । उसलाई एडिटिङ, क्यामेरा, साउन्ड सबै कुराको ज्ञान हुनुपर्छ । हामीकहाँ त्यो लेभलको स्कृप्ट संभवत छैन ।

अर्कोतिर फिल्म मेकर्सलाई बडो हतारो छ । एकजनाले म कहाँ स्कृप्ट लिएर आएका थिए । मैले त्यो परिपक्क नभएको बताएर फर्काइदिएँ । अझै चाररपाँच पटक स्कृप्ट मा काम गर्नुपर्छ भनें । तर, त्यसको पन्ध्र दिनपछि नै उनले अर्कै निर्देशक समातेर सुटिङ सुरु गरे ।

मैले बुझ्न सकेको छैन, हामीलाई किन यति धेरै हतारो ? दुई बर्ष, तीन वर्ष लगाएर एउटा राम्रो फिल्म बनाउनु राम्रो कि बर्षाको एउटा फिल्म बनाएर त्यसको नामोनिसाना नहुने गरी काम गर्नु राम्रो ?

प्रविधिमा हामी ढाँटिरहेका छौं

म धेरै साथीहरुको अन्र्तवार्ता हेर्छु । उनीहरु भन्छन्, ‘मैले प्राविधिक रुपमा धेरै राम्रो काम गरें ।’ तर, अहिले पनि हामी प्रविधिमा दरिद्र छौं । हलिउडको दाँजोमा त एक प्रतिशत पनि प्रविधिको स्तर छैन ।

मैले भर्खरै पढेको थिएँ, उनीहरुले प्यारामेट्रिक स्टुडियोमा खिच्न थालिसके । प्यारामेट्रिक स्टुडियो भन्नाले लाइटिङहरु हुन्छ, क्यारेक्टरहरुको एक्टिङ बिचबाट हुन्छ । सबैतिरबाट क्यामेरा लगाइएको हुन्छ । पछाडिबाट यो इमोसनमा के हुन्छ, यताबाट के हुन्छ, सबै खिचिन्छ । भनौं, एउटा क्यारेक्टरलाई सबै कोणबाट कैद गरिन्छ । हाम्रोमा त राम्रो स्टुडियो पनि छैन । सोध्नुहोस् न फिल्मकर्मीहरुलाई, इफेक्ट स्टुडियो छैन । प्रविधिमा हामी ढाँटिरहेका छौं । बलिउडको दाँजामो पनि हामी धेरै पछाडि छौं ।

ठीक छ, उनीहरुले चलाएको जस्तो एलेक्सा, एरी क्यामेरा झिकाइएला । तर, झिकाएर मात्र भयो त ? त्यसले हामी के खिच्छौं, कसरी खिच्छौं, त्यो महत्वपूर्ण हो । खिचेर आउटपुट निकाल्ने कुरामा हाम्रो लिमिटेसन छ ।

त्यसैले हाम्रो फिल्म उद्योगले के बुझ्नुपर्छ भने हामी सबै कुरामा कमजोर छौं । कमजोर छौं, त्यसले हामीले बढी मेहनत गर्नुपर्छ । बढी अध्ययन(अनुसन्धान गर्नुपर्छ । क्षमता विकास गर्नुपर्छ ।

(शिव मुखियासँगको कुराकानीमा आधारित)
अनलाइन खबर

सम्बन्धित खवर