पर्यटनपूर्वाधारको सम्भावना भएको पथरीशनिश्चरे नगरपालिका - Sainokhabar
  • शुक्रबार, मङि्सर १९, २०७७

पर्यटनपूर्वाधारको सम्भावना भएको पथरीशनिश्चरे नगरपालिका

मोरङ जिल्लाको मध्यपूर्व–उत्तर अवस्थित पथरी शनिश्चरे नगरपालिका साविक पथरी, शनिश्चरे र हसन्दह गाविसलाई मिलाएर २०७२ सालमा नेपाल सरकारले घोषणा गरेका नगरपालिकाहरू मध्ये एउटा हो । सम्बन्धित विषयका जानकारहरू स्थानीय प्रकृति सम्पन्न, विकास, पर्यटन पूर्वाधारका अकुत सम्भावनाले भरिएको नगरपालिकाको रूपमा यसलाई लिने गर्दछन् ।

सीमित स्रोत–साधनका बाबजुद क्रियाशील नगरपालिकाहरूले स्थानीय सेवाग्राही वा अधिकांश नगरबासीलाई विगतमा नगरपालिका नभएको र हालमा नगरपालिका भएको अवस्थाबीच फरकपन महसुस गराउन सकेका छन्, एउटा भिन्न अनुभूति गराउन सकेका छन् । तमाम सम्भावनाका वाबजुद यही विषय यहाँ यस नगरमा प्रमुख चुनौतिको रूपमा विद्यमान छ । पूर्वमा खड्ग फागो नेतृत्वको उर्लाबारी नगरपालिका, पश्चिममा ताराबहादुर काफ्ले नेतृत्वको कानेपोखरी गाँउपालिका, उत्तरमा घना चारकोसे झाडी र दक्षिणमा सुनवर्षी नगरपालिका क्रियाशील रहेको छन् ।

यस नगरपालिकामा २०६८ सालको तथ्याङ्कलाई आधार मानेर हेर्दा ६१ हजार नागरिक संख्या बसोबास गरेको अवस्था छ भने यसले ७९.८१ वर्ग किलोमीटर क्षेत्रफल ओगटेको भौगोलिक मानचित्रले दर्शाउछ ।

यस नगरपालिकालाई हरित नगरपालिका बनाउन नगरपालिकाको शहरीक्षेत्रमा एक घर ः एक बिरूवा नीति अवलम्वन गरिएको छ । १० वटा वडामा विभाजित यो नगरले ७४÷७५ को लागि ६० करोड २९ लाख २७ हजार रूपैयाँको अनुमानित वजेट प्रस्तुत गरेको छ ।

देशको प्ूर्व–पश्चिम लोकमार्ग÷महेन्द्र राजमार्गस्थित रहेको यस नगरमा राज्यद्वारा पहिचानमा आएका अधिकांश जात–जाती, भाषा–भाषी र संस्कार–संस्कृति आधारित समुदाय बसोबास गर्दै आएको छ । मंगोल समुदायमा पनि लिम्बु जातीको बाहुल्यता रहेको यस क्षेत्रभित्र पहिलो नागरिकको रूपमा धिमाल समुदायलाई नगर सरकारले भरखरै मात्र घोषणा गरेको छ । यसका अलवा नगरमा बाह्मण, क्षत्री, राई, तामाङ, मगर, गुरूङ, मुस्लिम, सतार, ताजपुरिया, थारू, चौधरी, झाँगरलगायत अन्य जातजातीको समेत बसोबास उल्लेख्य रहेको पाइन्छ ।

जातजातीको विविधता रहेको यस नगरमा विभिन्न समुदाय आधारित सांस्कृतिक मूल्य–मान्यताहरू क्रियाशील छन् । सबैका आ–आफ्ना चार्डपर्व र यसलाई मान्ने रीति–विधिहरू छन् । समुदायका आ–आफ्ना धार्मिक कर्महरू क्रियाशील छन् । यसका लागि सर्वधर्म समभावको मूल्य समेत यहाँ स्थापित छ । समुदाय अनुसारका धर्म परिपालनाका लागि सांस्कृतिक मठ, मन्दिर, गुम्बा, चर्चलगायतको विविधताले नगर आफैमा धेरै आकर्षित छ ।

पथरी शनिश्चरे नगरका अतिरिक्त यसका छिमेकी नगर र गाँउपालिकाका लागि पनि उच्च शिक्षा अध्ययन गर्ने पथरी बहुमुखी क्याम्पस पथरी शनिश्चरेको पथरी बजारमा क्रियाशील रहेको छ भने यस नगरभित्र २८ वटा सामुदायिक विद्यालय र ३२ वटा संस्थागत विद्यालयद्वारा नगरको शैक्षिक वातावरण उज्यालिएको छ । औसत साक्षरतातर्फ उन्मुख यस नगरका लागि हप्तामा २ चोटी लाग्ने पथरी बजार र नगरको दुबैतर्फ पर्ने ३ वटा खोला, गोस बजार, पशुबजार, सामुदायिक वन नियन्त्रित यहाँको पर्यावरण आदि आम्दानीका प्रमुख स्रोतहरू हुन् ।

झण्डै तीनदशक लामो इतिहास बोकेको ऐतिहासिक भुटानी शरणार्थी शिविर समेत रहेको स्थल यसै नगरको वडा नं. १० मा पर्दछ । शरणार्थी नागरिक तेस्रो मुलुकमा व्यवस्थापन भएसँगै अहिले यस क्षेत्रमा संघीय सरकारले बहुजातीय संग्रहालय निर्माणको नीतिगत कार्य अगाडि बढाएको छ । विगतमा यस स्थलमा नगरपालिका कार्यालय निर्माण गर्ने चर्चा सर्वव्यापक भए पनि केन्द्रीय सरकारको योजनामा आधारित भएर बहुजातीय संग्रहालय निर्माणको कार्य कार्यान्वयनको चरणमा आयो भने स्थानीय विविधतामा अर्काे सुन्दर इटा थपिने जनविश्वास यहाँ सर्वत्र पाइन्छ ।

स्थानीय सरकार आएपछि नगरका भित्री बाटोमा ग्राभेल, कालोपत्रे, बिजुली बत्ती र शिक्षा, स्वास्थमा जनसर्वसाधारणको पहुँच विकास गर्ने, बैंकसहितका वीत्तीय कारोबारलाई ग्रामीण भेगसँग जोड्ने र वडा–वडाका कार्यालयमार्फत सेवासुविधा लिने विषयमा स्थानीय जनताले केही राहत अनुभूति समेत गरेको पाइएको छ ।

झोडाकालीन समयदेखि रहेको सुकुम्बासी, दोहोरो स्वमित्व, अस्तव्यस्त बसोबास यहाँको चुरो समस्या हो । राजनीतिक परिर्वतनपछि यो समस्या समाधान हुने यहाँको जनविश्वासले एकपछि अर्काे राजनीतिक पार्टी र एकपछि अर्काे दलीय उम्मेदवारहरूको मुख ताक्दै आएको छ ।

तल–तल ग्रामिण जनजीवनलाई शहर र शहरीकरणको प्रक्रियासँग जोड्न नसक्नु, शहरको सौन्दर्य अभिबृद्धि गर्न नसक्नु, गुणस्तरीय एवं जीवनोपयोगी शिक्षा–शिक्षण र यसको व्यवस्थापनमा एकरूपता ल्याउन नसक्नु, सामुदायिक विद्यालयहरूको विषयगत क्षमताको अभिबृद्धि गर्न नसक्नु, स्थानीय मानव संशाधनलाई अर्थाेपार्जनसँग परिचालन गर्न नसक्नु, पूर्वघोषणा अनुसार नगरपालिकाको कार्यालय व्यवस्थापन गर्न नसक्नु, युवाहरूलाई रोजगारतर्फ आकर्षिक गर्ने योजना अघि सार्न नसक्नु, स्थानीय वन, सिमसार, बाँध र खोलाखोल्साहरूलाई बहुउपयोगी ढंगले प्रयोग गर्न नसक्नु, कृषिलाई आत्मनिर्भर बनाउन नसक्नु, परम्परागत कृषिलाई आधुनिकीकरण गर्न नसक्नु, कृषकलाई कृषि उत्पादनमार्फत आम्दानीसँग परिचालन गर्न नसक्नु, उत्पादित खाद्यवस्तुलाई बजार र भण्डारण गर्न नसक्नु आदि यहाँका विद्यमान चुनौतिहरू हुन् ।

सम्बन्धित खवर