प्रदेश नं. १ सरकारले मिडियालाई बाँड्यो ५० लाख, कुन कुन मिडियाले पाए कति - Sainokhabar

प्रदेश नं. १ सरकारले मिडियालाई बाँड्यो ५० लाख, कुन कुन मिडियाले पाए कति

प्रदेश नम्बर १ सरकारले कोरोना रोकथाम तथा नियन्त्रण जनसुरक्षा कोषको पचास लाख रुपैयाँ मिडिया हाउसहरूलाई बाँडेको छ।

मुख्यमन्त्री शेरधन राईले स्थापना गरेको कोरोना नियन्त्रणको उक्त कोषमा जनसहयोगमार्फत जम्मा भएमध्येको पचास लाख रुपैयाँ प्रदेश १ का ११६ वटा सञ्चार संस्थाहरूलाई दामासाहीले बाँडिएको हो।

मुख्यमन्त्री राईनिकट स्रोतका अनुसार हालै उक्त रकम पत्रकार महासंघ एक नम्बर प्रदेशलाई भुक्तानी गरिएको छ। पत्रकार महासंघले सञ्चार संस्थाको ‘हैसियत’ छुट्याएर सो रकम बाँड्न थालेको छ।

अधिकांश सञ्चार संस्थालाई सो रकम बाँडिसकिएको र केहीलाई भुक्तानी गर्न बाँकी रहेको प्रदेश १ महासंघका अध्यक्ष विक्रम लुइँटेलले बताए।

‘केहीलाई भुक्तानी गर्न बाँकी छ, धेरैलाई दिइसकिएको छ, भुक्तानी पाएका सञ्चार संस्थाको नाम सार्वजनिक गरिसकिएको छ,’ लुइँटेलले भने।

कोभिड-१९ सुरू भएपछि उक्त रकम प्रदेश सरकारले पत्रकार महासंघलाई उपलब्ध गराएको थियो। पत्रकार महासंघले सञ्चार संस्थाको मापदण्ड बनाएर कोभिडकै ‘लोक कल्याणकारी विज्ञापन’ प्रकासन-प्रसारण गर्न र भुक्तानी लिन सर्कुलर गरेको थियो।

सोही सर्कुलरअनुसार विज्ञापन प्रकासन-प्रसारण गरेका सञ्चार संस्थाले भुक्तानी लिएका हुन्।

 

मापदण्डअनुसार टेलिभिजनलाई एक लाख, पत्रपत्रिका, एफएम, रेडियो, अनलाइनलाई दसदेखि ३० हजार रुपैयाँसम्म दिइएको अध्यक्ष लुइँटेलले बताए। प्रदेश सरकारले उपलब्ध गराएको पैसा पत्रकार महासंघले सम्बन्धित सञ्चार संस्थाको बैंक खातामा सिधै जम्मा गरेको छ।

केही समयअघि पत्रकार महासंघले प्रदेश नम्बर १ सरकारसँग खुला रूपमै सञ्चार संस्थालाई सहयोग गर्न आह्वान गरेको थियो। सोही आह्वान अन्तर्गत सञ्चार संस्थालाई ‘खुसी’ पार्न मुख्मन्त्री राईले राहत कोषकै रकम दिएको बुझिएको छ।

मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार पत्रकारलाई भुक्तानी दिइएको रकम जनसुरक्षा कोषकै हो। ‘कोभिड-१९ नियन्त्रणमा पत्रकार तथा सञ्चार संस्थाको भूमिका पनि महत्वपूर्ण रहेकाले उहाँहरूलाई विज्ञापनबापतको पैसा दिइएको हो,’ उनले भने।

जनसुरक्षा कोषमा उद्योगी, व्यवसायीदेखि लिएर मजदुरसम्मले कोरोना नियन्त्रणका लागि सकेको सहयोग गरेका थिए। कोरोना जनसुरक्षा कोषमा हालसम्म २९ करोड ३६ लाख रुपैयाँ जम्मा भएको र ११ करोड ५१ लाख रुपैयाँ मौज्दात छ।

‘मजदुरले गाँस काटेर कोरोना उपचारमा सहयोग गरेको पैसा सञ्चार संस्थालाई दिइएको छ, यो कोष जनसुरक्षा नभएर मिडिया सुरक्षामा पो पजनी गरियो,’ पत्रकार महासंघ प्रदेश नम्बर १ का एक पदाधिकारीले भने।

जनसुरक्षा कोषको रकम जथाभावी बाँडिएको विषयमा प्रदेश सभामै सांसदले प्रश्न उठाएका छन्।

नेपाली कांग्रेस १ नं. प्रदेश संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारले कोरोना जनसुरक्षा कोषको पैसा मिडिया हाउसहरूलाई बाँडेकोमा आपत्ति जनाएका हुन्।
आइतबार प्रदेशस भामा विशेष समय लिएर बोल्दै सचेतक कार्कीले जनतालाई राहत दिन स्थापना गरेको कोषको रकममध्येबाट सरकारले ५० लाख रुपैयाँ मिडिया हाउसको ‘मुख थुन्न’ बाँडेको दाबी गरे।

‘सरकारले कोरोना जनसुरक्षा कोष भनेर एउटा कोष खडा गर्‍यो, नेपाली कांग्रेसले पनि तत्कालै रकम जम्मा गर्‍यो, उद्योगी व्यापारी र दयालु जनताले पनि जम्मा गरे। तर तपाईंलाई थाहा छ कोरोना जनसुरक्षा कोषमा रहेको पैसा गरिबको पेटमा पुगेन,’ प्रमुख सचेतक कार्कीले भने, ‘जनताको पेटमा जाओस्, कोरोना पीडितहरूमा पुगोस् भनेर दिएको पैसा मिडिया हाउसमा पुग्यो।’

कार्कीले सरकारले अन्य स्रोतबाट पनि पैसा दिन सक्ने बताउँदै कोरोना भाइरस र लकडाउनबाट प्रभावित गरिब जनतालाई राहत दिन भनेर स्थापना गरेको कोषकै पैसबाट विज्ञापन गराएर दुरुपयोग गरेको उल्लेख गरे।

‘अग्रभागमा रहेका सुरक्षाकर्मी, स्वास्थ्यकर्मीजस्तै अग्रभागमा रहेका काम गरिरहेका सञ्चारकर्मीलाई दिएको भए पनि सुहाउँथ्यो होला, त्यो पैसाको दुरुपयोग भयो,’ उनले भने।

हेल्थपोस्ट नेपालबाट साभार

सम्बन्धित खवर

%d bloggers like this: