जीवनमा टमाटर राेप्नु कि विचार राेप्नु ? - Sainokhabar

जीवनमा टमाटर राेप्नु कि विचार राेप्नु ?

 

√टंक सेलिङ

साहित्य/कला समाजका लागि उत्पादनका साधन हुन् भन्ने मार्क्सवादी दृष्टिकोण सत्य नजिककाे तथ्यमा देखिन्छ । साहित्यकार/कलाकार भनेका समाज र समुदायका मजदुर वर्गलाई “गलत चेतना ( False consciousness)”बाट मुक्त गराउने साधन भएकोले, एउटा कविता लेख्नु, एउटा पुस्तक प्रकाशन गर्नु र साहित्यक/ सामाजिक अभियान चलाउनु एउटा उत्पादनमूलक काम हाे ।
फ्रान्सेली मार्क्सवादी पीरी म्याचरी भन्छन्- “श्रममार्फत् शैली, भाषा तथा विचार लगायत अनुभूतिका अन्य सबै कच्चापर्दाथ सबै उत्पादित बस्तु हुन् । कृतिमा रूपान्तरण भएपछि, वैचारिक मालले मूल्य प्राप्त गर्छन् । त्यसैले, कवि/ लेखक/कलाकार “उत्पादक हुन ।” मार्क्सवादी मित्रहरूबाटै कवि, कलाकार र लेखकमाथीकाे गलत बुझाई हेर्दा, म्याचरीलाई एकपटक पढ्न अाग्रह गर्दछु । बजारवादी समाजकाे, विनियमलाई बुझ्दा, मान्छेले गाउनु, गाउने कार्यक्रम गर्नु र लेख्नु उत्पादन नै हुन् ।
दाेस्रो कुरा, टमाटर राेपेर मात्रै या बङ्गुर पालेर मात्रै उत्पादन गरेको ठहरिन्दैन । कृषि उत्पादनमा लाग्नु राम्रो हाे तर अर्थतन्त्र काे परिचालन र नियन्त्रण शक्ति, सत्ता र बजारले गरेको हुन्छ । जस्तैः प्रदेश-१ काे झापामा, एकताका बङ्गुर उत्पादन अत्यधिक थियोे र माग पनि थियोे तर जब भारतले आयात राेकिदियाे, धेरै लगानीकर्ताकाे पूँजी घाटामा गयाे । अर्को उदाहरण, काठमाडौंमा कावेली सहकारीले ५००० केजी माछा उत्पादन गर्याे बजार पाएना तर ईण्डियाबाट अाएकाे विषादियुक्त माछाले महङ्गो मुल्यमा बजार पाईरहेकाे छ ! मार्क्सका अनुसार, अाधार(base)लाई अधिरचना (superstructure)ले, कन्ट्रोलमा राखेको हुन्छ । अाधार (Base)मा अार्थिक उत्पादनकाे काम हुन्छ । त्यसैले, ग्रामीण अर्थतन्त्रकाे विकासका लागि जतिसुकै गरे पनि बजार नपाएपछि टमाटर र दूध सडकमा फाल्नुपर्ने अवस्था अाँउछ । नाेबेल पुरस्कार विजेता, मुहम्मद युनुस जस्तो ग्रामीण बैंक खाेलेर नयाँ विचारकाे प्रयाेग गर्ने भए ठिकै छ । नभए, ग्रामीण अर्थतन्त्रको कुरा, मूतकाे न्यानो नहाेला भन्न सकिन्न ।
अन्त्यमा, मार्क्सवादी चिन्तक एल्थ्यसुरले भने जस्तै काल्पनिक एकत्वमा बाँच्दै खुसी हुनुपर्ने देखिन्छ । कहिले, नेपाल सरकारकाे मन्त्री भएको “गलत चेतना (False consciousness)” बाेक्याे कहिल्यै शाखा अधिकृत भएको त कहिले मेयर भएको त कहिले ताेरीलाहुरे भएको False consciousness लिएर बाँच्याे । मार्क्सका अनुसार, False consciousness बाट बाहिर निकाल्ने उत्प्रेरक भनेको कवि/लेखक/ कलाकार हुन् । सुकरात, प्लेटाे र एरिस्टाेटलले भने जस्तो खुसी उत्पादन गर्ने संम्वाहक पनि तिनै लेखक, कलाकार र कवि हुन् । जुन समुदायमा कवि, लेखक र कलाकारकाे धेरै उत्पादन हुन्छन् त्यो समुदायले कालान्तरमा सत्ता निमार्ण गर्छ । त्यसैले, कवि, लेखक र कलाकारलाई अपमान होइन सम्मान गराैं । चेतना र ज्ञान उत्पादनमा गराैं !
धन्यवाद !

(लिम्बुवान स्प्रिङ आन्दोलनका अभियन्ता एवम् याक्थुङ् लेखक सङ्घ नेपालका महासचिव समेत रहेका टंक सेलिङले ज्ञान यात्राको अभियानमा सो लेख लेखेका हुन् । ज्ञान यात्राको प्रवर्दक अमित थेबेका अनुसार ज्ञान यात्रा एक व्यक्तिएक दिन  एक ज्ञान उपर केन्द्रित हुनेछ । जीवनमा जुनसुकै विधा र क्षेत्रमा सामान्यदेखि विशिष्ट ज्ञान राखेकाहरूले अरू समक्ष प्रस्तुत गर्नेछन् । थाहा नपाएकाहरू र थाहा पाएकाहरूबीच ज्ञान, अनुभव, सीप र सूचनाको आदानप्रदान हुनेछ । अभियानअन्तर्गत यहाँहरूले संक्षिप्त पोस्ट, तस्वीर र भिडियो क्लिप्समार्फत् आफ्ना कुरा राख्न सक्नु हुनेछ । यस अभियानमा जोडिन हुन सबैलाई आह्वान छ । कवि, कलाकार, सिनेकर्मी, खेलाडी, प्रशासक, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, शिक्षक, सञ्चारकर्मी, सामाजिक अभियन्ता, गृहिणी या जोसुकै पनि यस ज्ञान यात्रामा सामेल हुन सक्नेछन् ।

लक डाउन समय सबैको सुखद रहोस् । सुरक्षित रहनु होला।)

सम्बन्धित खवर

%d bloggers like this: